निलम्बित मोहन्याल अध्यक्षलाई जिसस निर्वाचनमा सहभागी नगराउन सर्वोच्चमा रिट – Nepal Press

निलम्बित मोहन्याल अध्यक्षलाई जिसस निर्वाचनमा सहभागी नगराउन सर्वोच्चमा रिट

भोलिलाई पेसी तोकियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकामा अध्यक्ष निर्वाचित देवीदत्त उपाध्याय ‘हिमशिखर’ जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी हुन नदिन माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।

विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उनी निलम्बित छन् । भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका बेला स्थानीय तहमा जनप्रतिनिधि चुनिएको भन्दै अख्तियारले स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई पत्र लेखेको छ ।

अख्तियारले उपाध्यायलाई निलम्बन गर्न सम्बन्धित निकायलाई पत्र पठाइसक्दा पनि उनको नाम जिल्ला समन्वय समितिको मतदातामा प्रकाशित भएपछि त्यस विरुद्ध सर्वोच्चमा रिट परेको हो ।

अधिवक्ता वसन्त जैशीले दायर गरेको रिटमा उपाध्यायको मुद्दाको अन्तिम किनारा नलाग्दा सम्म उनलाई निलम्बन गरिएको भन्दै आगामी ३० गते हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि प्रकाशित मतदाता सूचीमा समावेश नगर्नु भनी अन्तरिम आदेश माग गरिएको छ ।

गाउँपालिकाको २ नम्बर वडाध्यक्ष रहेका बेला उनले भ्रष्टाचार गरेको ठहर गर्दै वैशाख २ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अदालतमा मुद्दा रहेकै बेला ३,१३४ मत प्राप्त गर्दै माओवादी केन्द्रबाट उपाध्याय अध्यक्षमा निर्वाचित भए । उनलाई नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पनि साथ दिएका थिए ।

उनले निर्वाचन जिते पनि शपथग्रहण भने रोकिएको थियो । तर, केही दिनपछि शपथग्रहण भयो ।

अध्यक्षमा सपथग्रहण गरेको केही समयपछि पुनः आयोगले उनलाई निलम्बनमा राख्न सम्बन्धित निकायलाई पत्र काटेको थियो । उनी निलम्बनमा परे पनि मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले उनको नाम नहटाएको भन्दै एमालेले विरोध गरेको छ ।

‘मुख्य निर्वाचन अधिकृत आफैले अयोग्य भन्नु पर्ने व्यक्तिलाई अन्य संवैधानिक निकायले अयोग्य भन्दा पनि उहाँले नाम नहटाउनु आश्चर्यपूर्ण कुरा छ’ एमाले कैलाली सचिव डेजी पाण्डेयले भने ‘गाउँपालिका अध्यक्षको रूपमा कुनै पनि काम गर्न नदिनु भन्दै अख्तियारले पत्र काट्दा पनि गाउँपालिका अध्यक्षकै रूपमा उहाँलाई मतदाताको सूचीमा राख्नुले मुख्य निर्वाचन अधिकृत पनि मिलेमतोमा रहेको प्रस्ट हुन्छ ।’

उनले तत्काल निलम्बित गाउँपालिका अध्यक्षको नाम जिल्ला समन्वय समितिको मतदाता सूचिबाट हटाउनु पर्ने बताए ।

यता मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले भने निर्वाचन आयोगबाट त्यस्तो निर्देशन नआएको बताए । मतदाता नामावलीमा नाम समावेश भइसकेको हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रले उक्त नाम हट्न नसक्ने बताए ।

‘मतदाता नामावलीको नाम हट्न निर्वाचन आयोगबाट पत्र आउनु पर्छ अहिले सम्म आएको छैन’ उनले भने ‘अख्तियारको पत्रले मतदाता नामावलीमा समावेश भएको नाम हट्दैन ।’

रोचक बन्दै अंक गणित

निलम्बित मोहन्याल गाउँपालिका अध्यक्षका कारण कैलालीमा जिल्ला समन्वय समितिको निर्वाचन थप रोचक बन्दै गइरहेको छ । जिल्ला समन्वय समितिका लागि कैलालीमा गठबन्धनका तीन दल मिलेका छन् । १३ पालिका रहेको कैलालीमा कांग्रेस माओवादी र एकीकृत समाजवादी मिल्दा १३ मत हुन्छ ।

१३ मत मै मोहल्याल गाउँपालिका अध्यक्ष पनि जोडिएका छन् । उनीविरुद्धको मुद्दाको भोलि १० बजे पेसी तोकिएको छ । सर्वोच्चमा परेको रिटले उनलाई मतदानको अधिकार नदिए गठबन्धनको १२ मत हुन जान्छ । मतदानको अधिकार दिए गठबन्धनको मत १३ हुन्छ ।
निलम्बनमा परेको भन्दै अख्तियारले तीन निकायलाई पत्र काटेको हुँदा उनले मतदानको अधिकार पाउने सम्भावना कम रहेको बताइन्छ ।

यता एमाले र नागरिक उन्मुक्तिले पनि तालमेल गरेका छन् । यी दुई दलको मत पनि १२ छ । कैलालीमा एक जना स्वतन्त्र उम्मेदवार गोपाल हमालले भने अझैसम्म जिल्ला समन्वय समितिको विषयमा आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।

गोपाल हमालले आफ्नो मत गठबन्धनलाई दिए गठबन्धनको मत १३ पुग्छ । एमाले-नागरिक उन्मुक्तिलाई दिए त्यसको १३ पुग्छ । स्वतन्त्र रूपमा निर्वाचन जितेका हमाल स्वतन्त्र बस्ने आकलन गरिएको छ । उनी स्वतन्त्र रहे एमाले-नागरिक उन्मुक्तिको १२ र गठबन्धनको १२ पुग्छ । मोहन्याल गाउँपालिका अध्यक्षले मतदान गर्न पाए भने गठबन्धनको १३ र एमाले नागरिक उन्मुक्तिको १२ हुन्छ ।

गठबन्धनका अर्को रोचक नतिजा कैलारी गाउँपालिकाका अध्यक्ष राज समझ चौधरीको कारण पनि हुनसक्ने अनुमान गरिएको छ । उनी गठबन्धनका उम्मेदवार लाजुराम चौधरीलाई हराउँदै कैलाली गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । गठबन्धनविरुद्ध उम्मेदवार बनेको भन्दै गठबन्धन र कांग्रेस दुवैले उनलाई कारबाही गरेको थियो । आफ्नो कारबाही फुकुवा नभएसम्म जिल्ला समन्वय समितिको निर्वाचनमा आफू तटस्थ बस्ने उनको घोषणा छ ।

‘मैले अहिलेसम्म क्लिन चिट पाएको छैन । ३० गतेसम्म त्यो आएन भने म तटस्थ बस्छु’ उनले भने ।

उनी र गोपाल हमाल तटस्थ बस्ने अवस्था आए र त्यसमा मोहन्याल गाउँपालिका अध्यक्षले मतदान गर्न नपाउने अवस्था सृजना भए गठबन्धनको मत ११ , नागरिक उन्मुक्ति र एमालेको मत १२ हुन जान्छ ।

त्यसपछि थप रोचक हुने अनुमान गरिएको छ । तर, कांग्रेस स्रोतले भने उनको कारबाही फिर्ता गराउन लागिपरेको जनाएको छ ।

हेर्नुस्- रिटको पूर्णपाठ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर