प्रेम सुवाल भन्छन्- शिक्षा, खानेपानी, अर्थ र रक्षा मन्त्रालयको कामै छैन (भिडिओ) – Nepal Press

प्रेम सुवाल भन्छन्- शिक्षा, खानेपानी, अर्थ र रक्षा मन्त्रालयको कामै छैन (भिडिओ)

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले शिक्षा, खानेपानी, अर्थ र रक्षा मन्त्रालयको कामै नभएको बताएका छन् । बजेट विधेयकमा रहेका ती मन्त्रालयको खर्च कटौती प्रस्ताव राख्दै उनले यस्तो बताएका हुन् ।

‘शिक्षा मन्त्रालयले मावि शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय निःशुल्क नगर्ने हो भने त्यो मन्त्रालय बन्द गरिदिए हुन्छ’, सांसद सुवालले भने, ‘ठगी गरिरहेका विदेशी विश्वविद्यालयका कलेजहरूको सञ्चालन अनुमति खारेज नगर्ने हो भने शिक्षा मन्त्रालयको आवश्यकता छैन ।’

उनले भक्तपुर नगरपालिकाले आफ्नै मेडिकल कलेज सञ्चालन गरेर १०-१५ लाखमै एमबीबीएस पढाउँछु भन्दा विधेयक पास नगर्ने मन्त्रालयकाे कामै नभएको बताए । उनले भने, ‘शिक्षा मन्त्रालयको औचित्य छैन । ८० लाखमा एमबीबीएस पढाउनकाे लागि शिक्षा मन्त्रालय हो ?’

यस्तै तराईका जनतालाई आर्सेनिक पानी खानुपर्ने अवस्थामा राख्ने खानेपानी मन्त्रालयलेको औचित्य नै नरहेको सांसद सुवालले बताए । भक्तपुर जिल्लाको खानेपानी स्रोत वागेश्वरी भञ्ज्याङ भंगेरी डाँडाको वन मासेर खेलमैदान बनाउने कामको पनि उनले विरोध गरे । ‘खेलमैदान निर्माणका नाममा खानेपानीको स्रोत बिगार्नेलाई अहिलेसम्म कारबाही भएको छैन । खानेपानी मन्त्रालयको औचित्य कहाँ छ ?’, उनले प्रश्न गरे ।

देशघाती एमसीसी पास गर्ने अर्थ मन्त्रालयको औचित्य नै नभएको उनले टिप्पणी गरे । यस्तै वैदेशिक लगानीका १६ कम्पनीले वर्षको १० अर्ब २ करोड ७२ लाख लाभांश लैजाने गरेको दृष्टान्त सुनाउँदै उनले नेपालका ४४ सार्वजनिक संस्थानमध्ये अधिकांश घाटामा पुर्‍याउने यस्तो अर्थमन्त्रालयको काम के भनेर प्रश्न गरे ।

उनले भने, ‘२७ वटा संस्थानको लेखापरीक्षण नै भएको छैन । अर्थमन्त्रालय काम के गर्दैछ ?’

यस्तै रक्षा मन्त्रालयले देशको सीमा सुरक्षामा ध्यान दिनुपर्ने बताउँदै सांसद सुवालले देशको सुरक्षा गर्ने काम नेपाली सेनालाई दिनुपर्ने बताए । नेपाली सेनालाई विकास निर्माणको काममा सहभागी गराएर ठेकेदार बनाएको उनकाे भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर