कमल थापाले दोहोर्‍याए- राजतन्त्रको एजेण्डा त्यागे राप्रपासँग एकता सम्भव – Nepal Press

कमल थापाले दोहोर्‍याए- राजतन्त्रको एजेण्डा त्यागे राप्रपासँग एकता सम्भव

रुपन्देही । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजतन्त्र पुन:स्थापनाको सम्भावना समाप्त भएको दोहोर्‍याएका छन् । असम्भव एजेण्डा लिएर जनतालाई भ्रममा राख्ने र कार्यकर्ताहरुलाई धोका दिनु उपयुक्त नहुने भएकाले आफूले राजतन्त्रको एजेण्डा छाडेको उनको दाबी छ ।

पार्टीको लुम्बिनी प्रदेशद्वारा आयोजित पत्रकार सम्मेलनमा थापाले राजतन्त्रको एजेण्डा छाड्ने शर्तमा आफ्नो पुरानो पार्टी राप्रपासँग एकता हुनसक्ने दोहोर्‍याए ।

‘असम्भव एजेण्डा बोकेर जाँदा हिन्दू राष्ट्रलगायतका एजेण्डा ओझेलमा परेका हुन्, भारी मनले राजतन्त्रको एजेण्डालाई परित्याग गरेर लोकतन्त्र, राष्ट्रियता र हिन्दूराष्ट्रलाई मुख्य एजेण्डा बनाएका हौं’, थापाले भने ।

राप्रपा नेपालले पूर्णधार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्रको पुन:स्थापनालाई मुख्य एजेण्डा बनाएको बताउँदै उनले सहमतिको आधारमा संविधानलाई संशोधन गरेर पूर्णस्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने बताए । नेपालमा धर्म निरपेक्षता वा हिन्दू राष्ट्र भन्ने विषय जनमत संग्रहको माध्यमबाट टुङ्गो लगाउनुपर्ने थापाको तर्क छ ।

‘‘सकेसम्म सर्वपक्षीय सहमतिको आधारमा संविधानलाई संशोधन गरेर पूर्ण स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्र घोषणा गर्नुपर्छ, यदि सर्वपक्षीय सहमति हुन सक्दैन भने जनमत संग्रहबाट धर्मनिरपेक्षता वा हिन्दू राष्ट्र भन्ने बारेमा टुंगो लगाइनुपर्छ भन्ने हाम्रो अडान हो’, थापाले भने ।

नेता थापाले जनताबाट निर्वाचित कार्यकारी प्रमुखको रूपमा प्रधानमन्त्री र पूर्णसमानुपातिक निर्वाचन प्रणाली कायम गर्नु पर्ने र वर्तमान संघीय स्वरूपलाई परिमार्जन गरेर केन्द्र र स्थानीय तह गरी दुई तह मात्र कायम गर्नु उपयुक्त रहेको सुझाएका छन् ।

हिन्दूराष्ट्र पुन:स्थापनाका लागि भदौदेखि देशव्यापी रूपमा जनसंघर्ष चलाउने पनि उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर