बाँके जिसस : सहमतिविपरीत जसपाको उम्मेदवारीले गठबन्धनमा सकस – Nepal Press

बाँके जिसस : सहमतिविपरीत जसपाको उम्मेदवारीले गठबन्धनमा सकस

रुपन्देही । स्थानीय तहमा गठबन्धन गरेर जितेको बाँकेमा जिल्ला समन्वयको नेतृत्वका लागि भने सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र जसपाबीच बेमेल देखिएको छ ।

जिससका लागि ३ मत रहेको जसपाले उम्मेदवारी दिएपछि दुई पार्टी बीचको अन्तरसंघर्ष बाहिर आएको हो । त्यसो त कार्यपालिकामा एमालेसँग जसपाले गठबन्धन गरेर कांग्रेसलाई हराएकाले पनि जसपाको उम्मेदारीले नयाँ बहस सुरू गरेको हो । जसपाका केन्द्रीय कार्यकारिणी सदस्य इस्तियाक राईको सक्रियताका कारण रणनीतिक रूपमा बाँकेमा सफल भएको विश्लेषण हुन थालेको छ ।

बाँकेमा नेपाली कांग्रेसको तर्फबाट प्रमुख पदमा ज्ञानेन्द्रकुमार चौधरी र उपप्रमुख पदमा सीता कार्कीले मनोनयन दर्ता गराएका छन् । जसपाका उमेशकुमार कर्मीले पनि उम्मेदवारी दिएका छन् ।

महिला सदस्यमा जसपाबाट तरन्नुन बानो शेष र लक्ष्मी पासीको उम्मेदवारी परेको छ भने नेकपा माओवादी केन्द्रबाट चमेली थरुनी र रेवती दमाईको उम्मेदवारी परेको छ ।

उपप्रमुखमा कार्कीको मात्रै उम्मेदवारी र पुरुष सदस्यमा पनि चारजना मात्रैको उम्मेदारी परेका निर्विरोध भएका छन् । सदस्यमा नेपाली कांग्रेसका उदयनारायण मिश्र, जुलफकार अली मनिहार र सन्त कुमार थारु निर्विरोध भएका हुन् । दलित वा अल्पसंख्यकमा पनि कांग्रेसका जगदीश बाल्मिकी निर्विरोध चयन भएका छन् ।

बाँकेमा समन्वय समिति निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन बनेको थियो । गठबन्धनभित्र कांग्रेसले प्रमुख र उपप्रमुखसहित ४ जना सदस्य तथा जसपा, माओवादी केन्द्र र नेकपा (एकिकृत समाजवादी) ले १/१ जना सदस्य लिने सहमति भएपनि जसपाले उम्मेदवार दिएपछि गठबन्धनमा संकट आएको हो ।

त्यसो त समन्वय समितिका लागि नेपाली कांग्रेसको एकल बहुमत छ । त्यही अवस्थामा नेपालगञ्ज कार्यपालिका निर्वाचनमा जसपाले आफ्नो पक्षमा निर्णय लिन सफल भएको थियो । अब जिल्ला समन्वय समितिको प्रमुख र महिला सदस्यका लागि निर्वाचन हुने भएको छ । प्रमुखमा दुईजना र महिला सदस्यमा चार जनाको उम्मेदवारी परेको छ । जसमा प्रमुख एकजना र महिला सदस्य ३ जना चयन हुने छन् ।

बाँकेमा कुल ८ वटा स्थानीय तह छन् । यीमध्ये कांग्रेसले कोहलपुर नगरपालिका तथा राप्ती सोनारी, डुडुवा, जानकी र बैजनाथ गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै पद जितेको छ ।

यस्तै नेपालगन्जमा कांग्रेसले प्रमुख र जनता समाजवादी पार्टी (जसपा) ले उपप्रमुख जितेको छ । खजुरा गाउँपालिकामा प्रमुखमा माओवादी केन्द्र तथा उपप्रमुखमा कांग्रेसले जितेको छ, भने नरैनापुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पद जसपाले जितेको छ ।

उक्त निर्वाचनका लागि कुल १६ जना मतदाता रहेका छन् । यी मध्ये १२ जना मतदाता नेपाली कांग्रेसका छन् । यसका लागि जेठ २७ गते मतदान तोकिएको छ ।

बर्दियामा निर्विरोध

जिसस बर्दियाको नेतृत्वमा नेपाली कांग्रेसका उम्मेदार निर्विरोध भएका छन् । प्रमुखमा ठाकुरबाबा नगरपालिका ४ का वडाध्यक्ष सूर्यबहादुर विष्ट र उपप्रमुखमा गुलरिया नगरपालिकाकी अमिताकुमारी यादवको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।

यसैगरी सदस्य पदमा गुलरिया नगरपालिकाबाट विनय राजभण्डारी, गेरुवा गाउँपलिकाबाट तिर्थ प्रसाद जैसी, बढैयाताल गाउँपलिकाबाट पुरैलाल थारु, बारबर्दिया नगरपालिकाबाट सुनिता नेपाली, मधुवन नगरपालिकाबाट छवि भाट, राजापुर नगरपालिकाबाट विमला थारु र बाँसगढी नगरपालिकाबाट खगिसरा कामी विक निर्विरोध भएका छन् ।

आठ स्थानीय तह रहेको बर्दियामा गएको वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा ५ पालिकामा नेपाली काँग्रेस विजयी भएको थियो ।
गुलरिया नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका, गेरुवा गाउँपालिकामा प्रमुख उपप्रमुख र ठाकुरबाबा नगरपालिकामा भने प्रमुखमा नेपाली कांग्रेस विजयी भएको थियो ।

बाँसगढी नगरपालिकाको प्रमुख, उपप्रमुख यस्तै ठाकुरबाबा नगरपालिकाको उपप्रमुख र बढैयाताल गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमाले विजयी भएको थियो । राजापुर नगरपालिकाको प्रमुख, उपप्रमुख र बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेकपा माओबादी केन्द्र विजयी भएको थियो ।

नेपाली कांग्रेस ९, नेकपा एमाले ४ र नेकपा माओवादी केन्द्र ३ गरि जिसस समिति चयनका लागि १६ मतमध्ये नेपाली कांग्रेसको ९ मत भएका कारण पनि अन्य दलको उम्मेदवारी नपर्दा जिससमा नेपाली काँग्रेस निर्विरोध निर्वाचित भएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर