६ वर्षे प्रतिबन्धपछि आधार शिविरबाट ६ दिनमै सगरमाथाकाे चुचुराे पुगेँ- भारतीय आरोही यादव – Nepal Press

६ वर्षे प्रतिबन्धपछि आधार शिविरबाट ६ दिनमै सगरमाथाकाे चुचुराे पुगेँ- भारतीय आरोही यादव

इटहरी । जसरी सगरमाथा आरोहणमा इज्जतको सवाल हो, ठीक त्यसैगरी कहिलेकाहीं बेइज्जती पनि जोडिएर आउँछ । इज्जत हुँदा तारिफको लहर आउँछ । बेइज्जत हुँदा आलोचनाको । यस्तै बेइज्जती र आलोचनाले थिचिएका आरोही थिए २७ वर्षे भारतीय युवा नरेन्द्रसिंह यादव ।

उनले सन् २०१६ को मेमा गरेको सगरमाथा आरोहण नक्कली प्रमाणित भएको थियो । भारतमै आरोहणको नक्कली कुरा आएपछि नेपालमा छानबिन भएको थियो । छानबिनमा उनको आरोहण नक्कली नै भएको पत्ता लागेको थियो । उनै आरोही यादवले यो बसन्त याममा सगरमाथाको सफल सक्कली आरोहण गरेका छन् । मे २७ अर्थात् जेठ १३ गते बिहान ५ः०२ मा उनी चुचुरोमा पुग्न सफल भए । सन् २०१६ मे २० देखि सन् २०२२ मे २० सम्मको सगरमाथा आरोहण प्रतिबन्ध फुकुवालगत्तै उनी अनुमति लिएर सगरमाथा आरोहण गर्न सफल भएका छन् ।

भारतको हरियाना राज्यमा सन् १९९४ डिसेम्बर १५ (२०५१ मंसिर २९ गते) जन्मेका यादवका पिता भारतीय सेनाका जागिरे हुन् । यसबाहेक यादवको परिवारमा साहसिक क्षेत्रमा कुनै साइनो थिएन । तर, उनी अहिले राम्रा आरोही बनेका छन् । उनले हाससम्म सगरमाथासहित पाँच महादेशका पाँच अग्ला चुचुरामा पाइला टेकिसकेका छन् । जसमा अफ्रिकाको किलिमन्जरो, युरोपको एल्ब्रुस, दक्षिण अमेरिकाको एकान्कोगुवा र अस्ट्रेलियाका दश उच्च शिखर चढिसकेका छन् ।

सन् २०१२ मा भारतको उत्तराखण्डस्थित नेहरु इन्स्टिच्युट अफ माउन्टेनियरिङबाट पर्वतारोहणको आधारभूत तालिम लिएका यादव सन् २०१३ मा अर्को तालिम लिएपछि आरोहणमा पोख्त भए । उनै नरेन्द्रसिंह यादवको नक्कलीदेखि सक्कली सगरमाथा आरोहणसम्मको यात्रा र उनको आरोहण जीवनबारे नेपालप्रेसकर्मी विराट अनुपमले गरेको कुराकानी नेपाल टकमाः

– ६ वर्षको प्रतिबन्ध फुकुवापछि पाएमो अनुमतिमा आधार शिविरबाट ६ दिनमै सगरमाथाको चुचुरो पुग्नु भयो । तपाईंलाई ६ अंक त जादुमय देखियो नि !

(हाँस्दै) यो जादुमय नै देखियो । मैले सन् २०१६ मे २० देखि सन् २०२२ मे २० सम्म ६ वर्ष प्रतिबन्ध खेप्नुपर्‍यो । प्रतिबन्ध खुलेपछि मैले मे २१ मा पर्यटन विभागबाट अनुमति लिएँ । सीधै हेलिकोप्टरबाट आधार शिविर पुगेँ । आधार शिविरमा पुगेको ठीक ६ दिनमा मे २७ मा सगरमाथा चुचुरोमा पुगेँ । कुनै वातानुकूलित नभइकनै आरोहण गर्न सफल भएँ । म मे २२ मा क्याम्प दुई पुगेँ । मे २५ मा क्याम्प तीन पुगेँ । २६ मा क्याम्प चार हुँदै मे २७ को बिहान ५ः०२ बजे सगरमाथा आरोहण गर्न सफल भएँ ।

मैले वातानुकूलित नभइकनै सगरमाथा आरोहण गरेकोमा धेरैले रोचक मानेका छन् । मलाई खुसी लागेको छ । मलाई सातै महादेशका सातै सर्वाेच्च शिखर चुम्नु छ ।

– सन् २०१६ को तपाईंको आरोहण नक्कली पुष्टि भयो । तपाईंको धेरै आलोचना पनि भयो । खास भएको के हो ?

सन् २०१६ मेमा सगरमाथा आरोहण गर्न हामी आएका थियौँ । आरोहणको हाम्रो टोली नेता थिए नवकुमार फाउकोन । उनी आसाम राज्यका हुन् । आरोहणका क्रममा मेरा हात र खुट्टा हिउँले खाएर म घाइते भएँ । मलाई काठमाडौंको नर्भिकमा उपचार गरियो । उपचारकै क्रममा मलाई टोली नेता नवकुमार फाउकोनले मेरा दस्तावेजहरु भएको मेमोरी कार्ड मागे । मैले दिएँ ।

 

१८ दिनपछि म उपचार सकेर भारत फर्किएँ । आफ्नो काममा लागेँ । सन् २०२० मा तेन्जिङ नोर्गे राष्ट्रिय साहसिक अवार्डमा भारत सरकारले दिने पुरस्कारको मनोनयनमा मेरो नाम पनि छनोट भयो । त्यो छनोटको कारण मेरो मेमोरी कार्डको दस्तावेजको आधारमा टोली नेता नवकुमार फाउकोनले गरेको सिफारिस रहेछ । उनले हामी दुवैले सगरमाथा चढेको नक्कली फोटो बनाएर पेस गरेछन् । उनको नाम भने अवार्डको सर्टलिस्टमा आएन । उनी त्यसपछि मेरो आरोहण नक्कली भएको प्रचारमा लागे । नक्कली नै थियो ।

तर, मैले गरेको थिइनँ । त्यसको पीडा मेरो परिवारले धेरै भोग्यो । आमा डिप्रेसनमा हुनुहुन्छ । भारतीय सेनाबाट अवकाशप्राप्त पिताको मृगौलाको समस्यालाई मेरो कुराले झन् समस्याग्रस्त पार्‍यो । त्यसलाई चिर्न मैले यो वर्ष आरोहण गरेर देखाएँ । ६ दिनमै वातानुकूलित नभई आरोहण गरेर मैले आफूलाई प्रमाणित गरेँ । यसमा खुसी छु । म अब ११ जुन (जेठ २८ गते) भारत फर्केर यो खुसी परिवार, आफन्त र साथीभाइहरुसँग साट्नेछु ।

– अब अर्को आरोहण कता गर्दै हुनुहुन्छ ?

अबको मेरो आरोहण यात्रा उत्तर अमेरिकाको सर्वाेच्च शिखर डेनाली हो । डेनाली आरोहणको तयारीमा हुनेछु । त्योसँगै मेरो आरोहण यात्रा ६ महादेशका ६ सर्वोच्च शिखर पुग्ने हुनेछ । त्यसपछि सातौंमा पुग्नेछु ।

– ७ महादेशका ७ सर्वोच्च शिखर चढ्नुको उद्देश्य के हो ?

यसको उद्देश्य भारत र भारतीयको सम्मानको लागि हो । म हरेक शिखरको चुचुरोमा पुगेर भारतीय झन्डा फहराउँछु । र, रास्ट्रिय गान गाउँछु । सगरमाथामा पनि गाएँ । सगरमाथाको आरोहण मैले रेजाङ्ला युद्धमा मरेका भारतीय सैनिकहरुलाई समर्पण गरेँ । यो वर्षको आरोहणको नाम ‘आजादीका अमृत महोत्सव फास्टेस्ट एभरेस्ट एक्सपिडिसन २०२२’ राखेको थिएँ ।

– एक सिपाहीको छोराले यति धेरै चुचुराहरु चढ्नु पक्कै सस्तो छैन । आर्थिक व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?

नक्कली आरोहणको कुरा आउनु अगाडिसम्म आर्थिक समस्या थिएन । धेरै कम्पनीहरुले मेरो आरोहणको प्रायोजन गरेका थिए । जब नक्कलीको कुरा आयो तब समस्या भयो । इमानदारीपूर्वक भन्नुपर्दा मैले साथीहरुसँग सापट लिएर अहिलेको आरोहण गरेको हुँ । सगरमाथा आरोहणको एकमुस्ट खर्च लगभग २८ लाख भारु हुन आएको छ ।

 


प्रतिक्रिया

One thought on “६ वर्षे प्रतिबन्धपछि आधार शिविरबाट ६ दिनमै सगरमाथाकाे चुचुराे पुगेँ- भारतीय आरोही यादव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर