रोकिएको रोजगार अनुमति प्रणाली (इपीएस) छिट्टै नवीकरण हुन्छ : श्रममन्त्री श्रेष्ठ – Nepal Press

रोकिएको रोजगार अनुमति प्रणाली (इपीएस) छिट्टै नवीकरण हुन्छ : श्रममन्त्री श्रेष्ठ

काठमाडौं । सन् २०२० देखि रोकिएको रोजगार अनुमति प्रणाली (इपीएस) छिट्टै नवीकरण हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बताएका छन् ।

ललितपुरको भैँसेपाटीमा सञ्चालन भइरहेको कोरियन भाषा परीक्षाको निरीक्षण गर्न पुगेका मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले इपीएस अन्तर्गत सञ्चालन हुने कोरियन भाषा परीक्षा प्रभावकारी र विश्वसनीय रहेको बताएका छन् ।

सरकारी तवरमा श्रमिक पठाउन सञ्चालन हुने भाषा परीक्षा प्रणालीलाई वैज्ञानिक बनाउँदै लगेको भन्दै कोरियाको मानव संसाधन विकास विभाग (एचआरडी) को प्रशंसा गरे । ईपीएस परीक्षाको निष्पक्षताप्रति नेपालीको गहिरो विश्वास रहेको मन्त्री श्रेष्ठले बताए ।

वैदेशिक रोजगार विभाग अन्तर्गत (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा सञ्चालन गरिरहेको छ ।

कृषि तथा पशुपालन र उत्पादनमूलक समूहमा रोजगारीका लागि कोरिया जान ४४ हजार ८ सय ५३ युवाले आवेदन दिएका छन् । कृषि र पशुपालन क्षेत्रमा जाने १० हजार ८ सय ५८ जना रहेका छन् ।

उत्पादनमूलक समूहमा ३३ हजार ९ सय ९५ जना छन् । कृषि तथा पशुपालनमा जाने १० हजार ८ सय ५८ जनामध्ये ६ हजार ५ सय ९७ जनाको परीक्षा अहिले भइरहेको छ भने बाँकी ४ हजार २ सय ६१ जनाको आगामी असार १३ गतेबाट सुरु हुनेछ ।

अन्य परीक्षा पनि नियमित रूपमा सञ्चालन हुने इपीएस कोरिया शाखाले जनाएको छ ।

सन् २००७ मा दुई देशका सरकारबीच श्रमका लागि नेपाली श्रमिक लैजाने सहमति भएको थियो । श्रमिक जाने क्रम सन् २००८ बाट सुरु भएको थियो ।

कोरियामा नेपाली उत्पादन र कृषि तथा पशुपालन गरी क्षेत्रमा कार्यरत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर