काठमाडौंलाई सिसडोलबासीको निम्तो- मासुभात खान आउनुस्, झिँगा आफै धपाउनुस् (भिडिओ) – Nepal Press
स्थलगत

काठमाडौंलाई सिसडोलबासीको निम्तो- मासुभात खान आउनुस्, झिँगा आफै धपाउनुस् (भिडिओ)

क्यान्सरग्रस्त सिसडोलबासी एक हातले झिँगा धपाउँछन्, अर्कोले गाँस हाल्छन्

जेठ २३ गते सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको रोहबरमा काठमाडौं महानगरका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलसहित ललितपुर, धुलिबेंसी, गोकर्णेश्वरका जनप्रतिनिधिको सहभागितामा २४ गतेबाट फोहोर उठाउने सहमति भयो । स्थानीय जनताको मागहरू क्रमिक रूपमा पूरा गर्दै प्रभाविक क्षेत्रका बासिन्दाको स्थास्थ्य बीमा एक हप्तामा सुरू गर्ने गरी सहमति पत्रमा हस्ताक्षर गरे । तर, काठमाडौंमा भएको सहमतिलाई सिसडोलबासीले इन्कार गरिदिएका छन् । काठमाडौंबाट लगिएको फोहोरका गाडीलाई स्थानीय जनताले रोकिदिएका छन् ।

सिसडोलबासी किन यसरी आन्दोलित भइरहेका छन् त ? यसको अन्तरकुन्तर बुझ्न राज्यले विगतमा गरेका सम्झौता उललंघन, सिसडोलका निमुखा जनतामाथि गरेको ज्यादतीलाई केलाउनुपर्ने हुन्छ ।

गएको जेठ २३ गते काठमाडौं महानगरपालिकाले महानगरमा थुप्रिएका फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्कियो । दिनकै ९०० टन फोहोर काठमाडौंमा उत्पादन हुने कुरालाई आधार मान्ने हो भने काठमाडौंमा अहिलेसम्म करिब ४००० देखि ५००० टन फोहोर जम्मा भइसकेको अवस्था छ । यी फोहोरबाट निस्कने दुर्गन्ध तथा किटाणुहरूका कारण कति मान्छे आक्रान्त बनिसके, त्यसको लेखाजोखा भइसकेको अवस्था छैन ।

गएको वैशाख दोस्रो सातादेखि काठमाडौंको फोहोर काठमाडौंकै गल्लीमा थुप्रिएर बसेको छ । फोहोरको डंगुरमा भुस्याहा कुकुरहरू झुम्मिरहेका देखिन्छन् । फोहोरकै थुप्रो छेवै भएर मानिसहरू नाक थुनेर हिँडिरहेका भेटिन्छन् । झण्डै डेढ महिनादेखि उठ्न नसकेका फोहोरका थुप्रो काठमाडौंको चोकहरूमा मात्रै छैनन् । हरेक घरका कोठा-कोठामा प्लास्टिकमा बाँधिएर त्यहीँ किरा परेका छन् । त्यही फोहोरको दुर्गन्धसँग भात खान बाध्य छन् काठमाडौंका जनता ।

आजभन्दा १७ वर्षअघि रुद्री लगाएर फोहोरको गाडीलाई पूजा गरेर स्वागत गरेका सिसडोलबासीले १७ वर्षपछि यस्तो विकराल स्थिति होला भनेर कल्पेकै थिएनन् । तीन वर्षका लागि गरिएको सम्झौता सकिएको पनि १४ वर्ष भइसकेको छ । सम्झौता सकिएपछि पनि फोहोर फाल्न रोकिएन । जसको प्रत्यक्ष असर उनीहरूको स्वास्थ्यमा मात्रै होइन, दरसन्तानमा पनि देखिन थालेको छ ।

काठमाडौंमा डेढ महिनादेखि किन यसरी फोहोर थुप्रिरहेको छ त ? हामीले सुन्दै आएको भाष्य हो, सिसडोलका स्थानीयले फोहोर फाल्न दिएनन् । फोहोर बोकेर गएका गाडीमाथि तोडफोड गरे ।

काठमाडौंमा निर्माण भएको यो भाष्य नै सही र यथार्थ हो त ? यसको आन्तर्य बुझ्न सिसडोल पुग्नुपर्छ । १७ वर्षदेखि फोहोरको दुर्गन्धले आक्रान्त बनेका निमुखा जनतासित संवाद गर्नुपर्छ । अनि मात्रै राज्यले काठमाडौंमा थुप्रिएको फोहोरको जवाफ पाउन सकिन्छ । सिसडोलबासीको आन्दोलनको आन्तर्य बुझ्न सकिन्छ ।

नुवाकोटको सिसडोलका जनताले फोहोरकै थुप्रोले पहाड बनेको सिसडोलमा फोहोर लैजान दिइरहेका छैनन् । काठमाडौंको तीनपिप्लेबाट सिसडोलको बाटो ओरालो झर्नसाथ बाटैभरि फोहोर लोड गरिएका टिप्परहरू लाइनै लागेर बसेका छन् । जहाँबाट निस्किने दुर्गन्ध गाउँभरि फैलिएको छ । दुर्गन्धसँगै उब्जिएका झिँगाको हुल गाउँ पसेका छन् । एक हातले झिँगा धपाउँदै एक हातले मुखमा गाँस हाल्न अभिशप्त छन् गाउँलेहरू ।

अब तपाईं आफैं सोच्नुहोस्, झण्डै डेढ महिना मात्रै फोहोर नउठ्दा काठमाडौंबासीको हालत र बाटोमा राखिएको टिप्परबाट निस्किएका दुर्गन्ध तथा झिँगाहरूको आतंक यस्तो छ भने १७ वर्षदेखि एकै ठाउँ लगेर गाडीका गाडी दैनिक ९०० टन फोहोर थुपारिएको सिसडोलका जनताको हालत के होला ?

हो, दैनिक तीन सय टन फोहोर फाल्ने सम्झौता ०६२ साल जेठ ६ गते काठमाडौं महानगरपालिका र सिसडोलबासीबीच भएको थियो । तर, सम्झौता ३०० टनको मात्रै भए पनि महानगरले दैनिक ९०० देखि १२०० टन फोहोर लगेर फाल्ने गरेको छ । जसको परिणति सिसडोलबासी निमुखा जनताले भोगिरहनुपरेको छ ।

महानगरले सिसडोलबासीलाई दिएको रोग, शोक र भोक !

गत जेठ २० गते काठमाडौं महानगरका मेयर साहले भने, ‘केमिकल हालेर एक हप्तामा दुर्गन्ध हटाइन्छ ।’ तर, सिसडोलको फोहोरको पहाडमा पनि दैनिक तीनपटक केमिकल हालिएकै थियो । दैनिक यसरी केमिकल छर्किए पनि केमिकल छर्किएको समयमा बाहेक सिसडोलबासी दुर्गन्धको रापतापबाट मुक्त हुन सकेका छैनन् । भात खाँदा पनि नाक थुनेर, झिँगा धपाउँदै खानुपर्ने स्थिति छ ।

अहिले मनसुन सुरू भएको छ । तर, सिसडोलबासी चाहन्छन् कि यो मनसुन कहिल्यै सुरू नहोस् । जब झरी पर्छ, गुम्म कुहिरोले फोहोर र सिसडोलबासीलाई छोप्छ, तब उनीहरूको दुःख सुरू हुन्छ । पानीले रुझेको फोहोरबाट निस्कने दुर्गन्ध यति भयानक हुन्छ कि उनीहरू साससम्म फेर्न सक्दैनन् । त्यो दुर्गन्धमाथि जति केमिकल हाले पनि अवस्था ज्यूँका त्यूँ नै छ ।

आजभन्दा १७ वर्षअघि रुद्री लगाएर फोहोरको गाडीलाई पूजा गरेर स्वागत गरेका सिसडोलबासीले १७ वर्षपछि यस्तो विकराल स्थिति होला भनेर कल्पेकै थिएनन् । तीन वर्षका लागि गरिएको सम्झौता सकिएको पनि १४ वर्ष भइसकेको छ । सम्झौता सकिएपछि पनि फोहोर फाल्न रोकिएन । जसको प्रत्यक्ष असर उनीहरूको स्वास्थ्यमा मात्रै होइन, दरसन्तानमा पनि देखिन थालेको छ ।

८००० मिटर अग्लो सगरमाथा झैं देखिने करिब २००० मिटर अग्लो फोहोरको पहाडको बीचैबीच बाटो खोलिएको छ बन्चरे डाँडासम्मका लागि । त्यही बाटो भएर केही टिपरहरूले बन्चरे डाँडामा फोहोर थुपारिसकेका पनि छन् ।

मध्यदिनमा हामी सिसडोल पुग्दा केही चिलहरू आकाशमा कावा खाइरहेका थिए । केही कुकुरहरू फोहोरमा झुम्मिरहेका थिए । र गाउँ भने सुनसान थियो । सहनै नसकिने फोहोरको दुर्गन्धले गाउँलाई शन्नाटामा परिणत गरेको थियो । धुलो उडाउँदै हुइँकिएका केही टिप्परको आवाज बाहेक केही थिएन ।

फोहोरको पहाड छिचोलेर पल्लो कुनामा पुगेर हामीले फोटो, भिडियो खिच्न लाग्दा फोहोरकै थुप्रो छिचोल्दै ५०-६० वटा बाख्राहरू आए । फोहोरकै प्लास्टिकमा खानेकुरा खोज्दै आएका बाख्राहरूसँगै आए ६० वर्षीय जेराम बलामी, ३५ वर्षीया बिमला बलामी, ३३ वर्षीय राम बलामीलगायत ।

तल रोडमा आएर एउटा बाइक रोकियो । बाइकमा सवार थिए सिसडोल स्वास्थ्य चौकीका अहेब बलाराम बलामी र कार्यालय सहयोगी अनिलकुमार बलामी । बाख्राहरूलाई फोहोरको पहाडमा उम्रिएका घाँसहरूमा छाडिदिएर हामीसँग कुरा गर्न तयार भए गाउँलेहरू ।

२०६६ सालदेखि स्वास्थ्य चौकीमा कार्यरत अहेब बलारामका अनुसार गाउँलेहरू अत्याधिक विरामी हुने गरेका छन् । उनले बितेको १३ वर्षमा अत्याधिक क्यान्सरको विरामी भेटेका छन् । जब कि त्यहाँ फोहोर फाल्नुअघि क्यान्सरका विरामी भेटिएको इतिहास छैन । फोहोर फाल्न थालेपछि भने पाँच जनाले ज्यान नै गुमाइसकेका छन् । गाउँकै समसेर भुजेलले भर्खरै पेटको क्यान्सर भएर साढे दुई केजी मासु काटेर फालेका छन् । अरु थुप्रो क्यान्सरका विरामीहरू गाउँमा निस्किरहेका छन् ।

मान्छेलाई मात्रै होइन, गाइवस्तुलाई पनि फोहोरले अत्याधिक असर गरेको छ । गत वर्ष मात्रै जेराम बलामीको ५-७ लाख मूल्य बराबरको बाख्राहरू एकै लटमा मरे । जेरामका अनुसार बाख्रा चराउन फोहोरकै थुप्रो छेउछाउ ल्याउनुपर्छ । त्यसरी ल्याउँदा तिर्खा लागेपछि बाख्राले फोहोरकै ‘लिच्चड’ पानी खाइदिन्छ । फोहोरकै नुनिलो खाइदिन्छ । जेराम दुःख सुनाउँछन्, ‘गत वर्ष मेरो ५-७ लाखको क्षति भयो । सबै बाख्रा सोत्तर भयो ।’

घर पालुवा जनावरमा पुगेको क्षति एकातिर छ, अर्कातिर ९० प्रतिशत जनतामा क्यान्सरको लक्षण देखिएको अहेब बलारामको भनाइ छ । फोक्सो, कलेजको समस्या त सबैलाई नै छ । घाँटी दुख्ने, टन्सिल हुने समस्या सबैलाई नै छ । बलाराम अफ्नो अनुभव सुनाउँछन्, ‘म एउटा स्वास्थ्यकर्मीको नाताले हामी प्राथमिक उपचार मात्रै गर्छौं । यहाँ सामान्य औषधि आउने हो । हामीले चाहेर पनि औषधि पाउँदैन ।’

२०६६ सालदेखि स्वास्थ्य चौकीमा कार्यरत अहेब बलारामका अनुसार गाउँलेहरू अत्याधिक विरामी हुने गरेका छन् । उनले बितेको १३ वर्षमा अत्याधिक क्यान्सरको विरामी भेटेका छन् । जब कि त्यहाँ फोहोर फाल्नुअघि क्यान्सरका विरामी भेटिएको इतिहास छैन ।

बलाराम थप्छन्, ‘सिजनल सरुवा रोग, डाइरिया, आँखा पाक्ने, चिलाउने, एलर्जी हुने लुतोजस्ता रोगहरू लागिरहेका हुन्छन् । टाइफाइडका विरामी पनि उस्तै हुन्छन् । एकपटक कलेरा महामारी फैलिएर गाउँलाई नै सखाप पार्‍यो । अहिले भने केही हदसम्म हामीले पच्यौं ।’

स्वास्थ्यचौकीका कार्यालय सहयोगी अनिलका अनुसार सिसडोलबासीको मुख्य आयश्रोत कृषि भए पनि अहिले उब्जाउ नै हुँदैन । खेतीपाती सबै फोहोरको रापले डढ्छन् । हावाले उस्तै असर गर्छ । बैसाखमा चिलहरूले सिसडोलको आकाशै ढाक्छ । चिलहरूले फोहोरको थुप्रोबाट प्लास्टिकको झोला उठाएर बारीहरूमा पुर्‍याउँछन् । प्लास्टिकले खेत जोत्ने नहुने बनाइदिने बनाइदिन्छन् ।

गाउँभरि क्यान्सरका बिरामी

फोहोरले गाउँको पानी नै खान नहुने बनाइदिएको छ । तल खोलामा फोहोरबाट सोसिएर पुगेको पानीले खोलालाई उस्तै दुर्गन्धित बनाएको छ । त्यहाँ खुट्टा मात्रै चोपलियो भने रातभर चिलाएर निदाउन सक्दैनन् गाउँले । पानीले लुतो लगाइदिन्छ । त्यही पानी खेतमा लगिएकाले खेत पनि बन्जर बन्दै गएको गाउँलेको गुनासो छ ।

फोहोरको पानी खोलामा नमिसियोस् भनेर तल खोला छेउमा सानासाना दुईवटा ट्यांकी बनाइएको छ । गाउँलेको गुनासो छ, ‘यत्रो पहाडबाट झरेको पानी कसरी त्यहाँ रहन्छ ? सरकारको पैसा सकाउने मेलो हो त्यो ।’

दुई वर्षअघि त्यही गाउँका बाजुराम बलामी क्यान्सरले नै बिते । फोहोर फाल्न सुरू गर्नुअघि स्वास्थ्य रहेको र परिवारमा कसैमा पनि क्यान्सर नदेखिएका बाजुराम क्यान्सरले बिते । अर्का ६६ वर्षीय भुजेलको पेटबाट दुई केजी मासु निकालिएको धेरै भएको छैन । भक्तपुर क्यान्सर अस्पतालमा उनको मासु झिकिएको थियो । अहिले लामो टाँका लगाइएको पेट लिएर त्यही फोहोरको दुर्गन्धसँग बाँचिरहेका छन् समसेर ।
सिसडोलको फोहोर प्रभावित क्षेत्रमा ५ जना मरिसके भने क्यान्सरका नयाँ बिरामी थपिइरहेका छन् । यसअघि गाउँमा क्यान्सरको विरामी भेटिएको इतिहास नै थिएन । भुजेल दुःखी हुँदै भन्छन्, ‘त्यहाँ फोहोर राख्न छाड्नसाथ गाउँभरि झिँगा फैलिन्छ । हामीले आन्दोलन गर्छौं भनेर सशस्त्रको क्याम्प राखेका छन् । फोहोरकै कारण मलाई क्यान्सर लाग्यो ।’

सिसडोलबासीको प्रतिरोध र राज्यको ज्यादती

मिडियामा चर्चाको विषय बन्ने गरेको सिसडोलबासीको आन्दोलन नयाँ होइन । महानगरले फोहोर फाल्न थालेको १३ महिनादेखि नै सिसडोलबासी आन्दोलित बनेका थिए । सम्झौता अनुसार फोहोर व्यवस्थापन भएन, भनेजस्तो क्षतिपूर्ति पाइएन, सम्झौताभन्दा बढी फोहोर फालियो भनेर आन्दोलित बनेका सिसडोलबासीको आवाजलाई त्यतिवेलै राज्यले दबाउने दुस्साहस गरेको थियो । दबाएको पनि थियो ।

गाउँमा जथाभावी फोहोर मैला फाल्दा वरपरका गाउँमा समेत दुर्गन्ध फौलिन थालेपछि, कुकुर चिलहरूले फोहोरको डंगुरबाट सिनो ल्याएर गाउँलाई नै दुर्गन्धित अनि प्रदूषित बनाएपछि र फोहोरबाट रसाउने प्रदुषित पानी गाउँका खानेपानीको स्रोतमा मिसिएपछि सिसडोलवासीले प्रतिकार गरेका थिए । तर, सिसडोलबासीको माग पूरा गर्नुको साटो राज्य उल्टै दमनमा उत्रियो । डेढ दशकसम्म पनि राज्य निमुखा जनतामाथि दमनमा उत्रिरहेकै छ ।

फोहोरको दुर्गन्धले अत्ति भएपछि गाउँलेहरूले प्रतिकर गर्ने गरेका थिए । काठमाडौंका मिडियाले समाचार लेख्थे, ‘स्थानीयले अवरोध गरे, फोहोर फाल्न दिएनन् ।’ गाउँलेहरूले प्रतिकार गरेपछि ट्रकका ट्रक सेना, शसस्त्र प्रहरी बल र नेपाल प्रहरी आइपुग्थ्यो । अहिले पनि आउँछन् । प्रहरी र सेनाको टुकुडी सिसडोमा स्थानीयलाई तह लगाउनै हतियार सहित राखिएको छ ।

गाउँलेले प्रतिकार गरेपछि सुरक्षाकर्मी कुटपिटमा उत्रिन्थे/उत्रिन्छन् । कतिलाई लगेर थुन्छन् । त्यहीँ पिट्छन् । सार्वजनिक मुद्दा लगाउने भनेर त्रास देखाउँछन् । वृद्ध जेराम भन्छन्, ‘हावा आइरहन्छ । रातभर ढोका थुनेर बस्यो, बिहान ढोका खोल्दा गन्ध छिरिहाल्छ । गाडीको फोहोर रोक्न गयो, कुटेर लखेट्छ । लगेर गोद्छ । हामी सीतिमिति बाँचेको छैन । छिरिक्क हुनसाथ ट्रकका ट्रक आर्मी पुलिस आउँछ । अनि कुटाइ खानुभन्दा रोगसितै बाँचौ भन्ने हुन्छ ।’

भुजेल गुनासो गर्दै थप्छन्, ‘यो १७ वर्षमा हामीलाई तह लगाउन गाउँमा प्रहरी चौकी आयो, तर मजस्ता क्यान्सरका विरामीहरूका लागि अस्पताल आएन । सरकारले उल्टै झनै धेरै रोगहरू मात्रै पठाइरह्यो ।’

राज्यले दिएका झुटा आश्वासनहरू

जेठ २० गते मन्त्री झाँक्री र मेयर साह सिसडोल पुगेका थिए । उनीहरूले त्यहाँका जनतालाई फोहोर व्यवस्थापन गर्ने आस्वासन दिएर फिरे । तर, झाँक्री र बालेनको टोली काठमाडौं फिरिसकेपछि हामी सिसडोल पुग्दा स्थानीय जनता भने निराश मात्रै भेटिए । मन्त्री र मेयरको आगमनले उनीहरूमा न कुनै उत्साह थियो, न कुनै आशा भरोसा नै । उनीहरू भन्दै थिए, ‘जो आए पनि उस्तै हो । आशा गर्ने कुनै ठाउँ छैन ।’

सिसडोलमा फोहोर फाल्ने सम्झौतासँगै काठमाडौं महानगरपालिकाले १५ शय्याको अस्पताल बनाउने आश्वासन पनि दिएको थियो । डक्टर राखेर काम पनि गरेजस्तो गरेको थियो । तर, औषधि पर्याप्त मात्रामा नभएपछि त्यसको अर्थै रहेन । अहिले स्वास्थ्य चौकीमा महानगरपालिकाबाट अलिअलि औषधि आउँछ । एमडीएम नामक अन्तर्राष्ट्रिय संस्थाले औषधि सहयोग गरेको छ । त्यसलै थोरै सहज भएको अहेब बलारामको भनाइ छ ।

३ वर्षका लागि जग्गा अघिग्रहण गर्दा जेराम बलामीको १२ रोपनी बारी अधिग्रहण गरिएको थियो । रोपनीको ४० हजार रूपैयाँ दिइएको थियो । तल खोला छेउको खेतहरूलाई एक लाख ३५ हजार रोपनी दिइएको थियो । ४० हजार रोपनी जग्गा ३ वर्षका लागि दिएका जेरामले प्रतिफल स्वरूप ४० प्रकारका गम्भीर रोग पाएका छन् ।

अहेब बलाराम भन्छन्, ‘सरकारले फकाइफुलाइ गरे । जग्गा नदिए सरकारले सार्वजनिक जग्गामा फोहोर राखिहाल्छ भनेर डर देखाए । तीन वर्षपछि यहाँको जग्गालाई थानकोटको त्रिभुवन पार्कजस्तो बनाउने, पिकनिक स्पोटहरू बनाउने भनेर लोभ्याए । शिक्षा, स्वास्थ्यमा लगानी गरिदिने, एक घर एक रोजगारी दिने भनेर बताए । गाउँलेले पनि तीन वर्ष फोहोर राख्दा त्यस्तो हुन्छ भने के जाला भनेर दिए । अहिले दुई दशक हुनलाग्दा पनि अवस्था यस्तो छ ।’

झुटा आश्वासनको चंगुलमा परेका निमुखा जनताको आशा भने अझै जीवितै छ । आफूहरूले क्षतिपूर्ति पाउने, न्याय पाउने आशा मारिसकेका छैनन् । तर, फोहोरको डंगुरमा हुने राजनीति र भ्रष्ट्राचारको प्रत्यक्ष साक्षी हुँदा भने फेरि निराश बन्छन् ।

क्यान्सरपीडित भुजेलकी श्रीमतीलाई दमको विरामी छ । ०७२ सालपछि नियमित औषधि खाइरहेकी छन् । उनीहरूले फोहोर रोक्नलाई आन्दोलन नगरेका पनि होइनन् । तर, राज्यसँग कसको के लाग्छ र भनेर गाउँकै नेताहरूले त्रसित बनाइदिए उनीहरूलाई । भावुक हुँदै भुजेलकी श्रीमती भन्छिन्, ‘राजनीति गर्नेलाई वार्षिक करोडौंको ठेक्का दिने रहेछन् । हामीलाई भने बाख्रा चराउने ठाउँ पनि दिएका छैनन् ।

सबै मिलेर खाँदा रहेछन् । फोहोरमा काम गर्नेहरूले माहिनाको ८० हजार जति कमाउँदा रहेछन् । त्यहाँ दिजनभरि फोहोर हाल्ने । राति दुईचार गाडीले पुर्ने । दिनभरि उनीहरू जाँड खाएर बस्छन् । दुई टिपलाई ६ टिप लेख्छन्, ६ टिप माटो फाल्दा ५० टिप लेख्छन् । अनि टिप्पर डाइभर, टिप लेख्ने लेखापाल र अपरेटर मिलेर खाँदा रहेछन् । सानो मान्छेले त यसो गर्छन् भने ठूला मान्छेले के गर्लान् ?’

भुजेल परिवारले फोहोर प्रभावित क्षेत्रको पीडितको हिसाबले १५ रूपैया स्क्वायर फुट पैसा पाउँछन् । तर, पहुँच भएकाहरूले पचास रूपैयाँ पनि पाएका छन् । भुजेल सुनाउँछन्, ‘हामी त्यो पैसा झिक्न जाँदा र आउँदा नै सकिन्छ । के झिक्न जानु र !’

‘मेरो घरमा मासुभात खाँदै झिँगा धपाउन आउनुस्’

फोहोरकै थुप्रोमा भेटिएका गाउँले गोपाल बलामी फोहोरको पहाड बीचमा मुढामा बसेर बाख्रा चराइरहेका थिए । उनको गुनासो पनि भुजेल, बरामहरूकै जस्तो छ । गोपालको त १२/१३ रोपनी जग्गा अधिग्रहण गरिएको छ । उनले भनेजस्तो क्षतिपूर्ति पनि पाएका छैनन् । पाएका छन् त केवल रोग, शोक र भोक मात्रै ! गोपाल भन्छन्, ‘हामी पढाइ लेखाइ नभएकाहरूलाई फसाएका छन् ।’

उनका अनुसार फोहोर थुपारेपछि दुई फिट जति माटोले पुर्ने सम्झौता भएको थियो । तर, त्यो लागु नै भएको छैन । भुजेलले भने झैं सबै मिलेर त्यहाँ पनि भ्रष्टाचार गर्छन् ।

७० वर्ष पुग्न लागेका कालु लामाको बुढेसकाल फोहोरसँगै बित्यो । उनी पनि सबैसँग आक्रोशित छन् । तर, आफ्नो कुरा सुनिदिने कोही नभएको उनको गुनासो छ । उनी झनै आक्रोशित भएको चाहिँ १७ वर्षसम्म सिसडोलमा फोहोर थुपारेर सिसडोलवासीको स्वास्थ्यमा खेलवाड गरेर अचानक बन्चरे डाँडामा लगेर फोहोर फालियो । उनको एकै प्रश्न छ, ‘हामीले न्याय पाउनु पर्छ कि पर्दैन ?’

यहाँ पो हामीलाई गाह्रो छ । काठमाडौंमा त पसलभन्दा धेरै अस्पताल छ । हामी हामीलाई कसले हेरिदिन्छ र ! तिनीहरूले आफ्नो फोहोर टुँडिखेलमै राखुन् न ! हामीले यहाँ ज्यान नै गुमाउनुपरेको छ । पाएको केही छैन । मन्त्री मेयर आउँछन्, हामीसँग बोल्दा पनि बोल्दैनन् । उनीहरू सीधै आउने हुन्, जाने हुन् । पुलिसहरू ल्याउने हुन् फोहोर खन्याउनलाई । राजनीति गर्नेलाई नै ठेक्का दिएका छन् । उनीहरू आफैं रोक्छन् फोहोरको गाडी, अनि गाउँलेलाई दोष दिन्छन् ।

तेजबहादुर बलामीको पनि माइला लामाको झैं आक्रोश छ । सडक छेउमा उभिएका उनी सुकिला मुकिला मान्छे देख्नसाथ गाली गलैजमा उत्रिँदा रहेछन् । गाउँलेका अनुसार उनी सुकिला मान्छे देखे सरकारको मान्छे हो कि भनेर सोच्दा रहेछन् ।

तेजबहादुरले हामीलाई गुनासो गरे, ‘फोहोरले गर्दा हामीले रोपेको तरकारी खेर गयो । झिँगाले भात खानु भएन । आज एक छाक मेरो घरमा मासु भात खाएर जानुस् । अनि थाहा पाउनुहुन्छ, भातको गाँस खाँदै झिँगा कसरी धपाउनुपर्छ । एउटा हातले भात खाने हो, अर्को हातले झिँगा धपाउने हो ।’

सिसडोलबासीका मागहरू

फोहोरको पहाडमाथि आफ्नो आधा जीवन व्यतित गरिसकेका स्थानिय वासिन्दा अबको आधा जीवन गन्धरहित ठाउँमा बिताउन चाहन्छन् । आगामी सन्तत्तिको जीवन यही फोहोरमा नहराओस् भन्ने चाहन्छन् । मानवताको चस्मा लगाएर हेर्दा दृश्य भयावह देखिन्छ ।

बन्चरे डाँडा ल्याण्डफिल साइटबाट प्रत्यक्ष प्रभावित हुने ककनी गाउँपालिकाका वडा नं १, २, ३ र नुवाकोट धुनिवेशी नगरपालिका वडा नं १३ धादिङ र कल्पुखोला आधार क्षेत्रलाई विशेष संवेदनशिल क्षेत्रको रूपमा घोषणा गरिनु पर्ने स्थानीयबासीको माग छ ।

ल्याण्डफिल साइटको ३००० मिटर वरपरको क्षेत्रमा मानव वस्तीरहित हरियाली क्षेत्र कायम गरी स्थानीय नागरिकलाई पुनर्वासको व्यवस्था गरिनु पर्ने, तीनपिप्ले कुमारी गल्छी वैकल्पिक सडक र बढी प्रभावित-कम प्रभावित क्षेत्रमा अन्य सडक पूर्वाधार निर्माण गरिनु पर्ने, जीवन बिमा, कृषिबाली तथा पशुपंक्षी उद्योग बिमा तथा जनता बिमारी हुँदा काठमाडौंका सरकारी अस्पातलहरूमा निशुल्क उपचारको व्यवस्था हुनुपर्नेलगायत माग छन् ।

त्यस्तै ल्याण्डफिल साइटमा हाइड्रोलोजिस्ट, वातावरण केमिस्ट, फोहोरमैला विशेषज्ञ, मानव तथा जीव विज्ञान विज्ञ, वातवरण पत्रकार लगायतका जनशक्ती उप्लब्ध गराइनु पर्ने, कम्पोष्ट मल उद्योग स्थापना गरिनुपर्ने, कल्पुखोलाको पानीलाई पुर्ववत् अवस्थामा फर्काइनुपर्ने, स्थानीयलाई रोजगारीको व्यवस्था गरिनुपर्ने, रासायनिक फोहोर मैला, हानिकारक फोहोर मैला प्रतिबन्ध गरिनुपर्ने लगायतका मागहरू छन् ।

यसो त सम्बन्धित निकायहरूले पटक-पटक स्थानीयको माग सम्बोधन गर्ने निर्णय नगरेका पनि हैनन् । काठमाडौं उपत्यकाको फोहोर व्यस्थापनका लागि राज्यको श्रम र जनशक्ति खर्च नभएको पनि होइन । पछिल्लो १७ वर्षमा महानगरले फोहोर व्यस्थापनको लागि मात्र ३४ अर्ब रूपैयाँ खर्च गरिसकेको बताइन्छ तर, स्थानीयका मागहरू त्यही फोहोरको पहाडभित्र कतै थिचिएर बसेका छन् ।

फोहोरमाथिको राजनीति

सिसडोलबासीले पिएल सिंह हुँदै विद्यासुन्दर शाक्यसम्मका मेयर भोगिसके । ०५१ को सम्भाव्यता अध्ययनको वेलाका स्थानीय विकास मन्त्री रामचन्द्र पौडेलदेखि अहिलेका सहरी विकासमन्त्री झाँक्रीसम्मलाई पाइसके । सबैले आश्वासन मात्रै बाँडेर हिँडिरहे । मनमोहन अधिकारीदेखि शेरबहादुर देउवासम्म प्रधानमन्त्री पाए पनि सिसडोलबासी काठमाडौंको फोहोरसँग भात मुछेर खान बाध्य छन् ।

सिसडोलबासीको आँसुमाथि अनेकन राजनीति भए । सिसडोलबासीको दुःखमाथि पनि राजनीतिक चलखेल भए । सिसडोलबासीको स्वास्थ्यमाथि राजनीतिक लाभ-हानीको हिसाबकिताब भए । र अझै पनि भइरहेकै छन् । फोहोरको थुप्रोले किचिएका उनीहरूको जीवनमाथि राजनीतिक खिचतानी भइरहेकै छ ।

फोहोर र सिसडोलबासीमाथिको यो राजनीतिक रेल कुदेर कहाँसम्म ? पुग्ला यकिनका साथ भन्न सकिन्न । हाल काठमाडौं उपत्यकामा ६२ वटा नीजि कम्पनीले फोहोर उठाउने टेण्डर पाएका छन् । विशेष गरेर सरकार परिवर्तनको वेला फोहोरसँग सम्बन्धित मुद्दाहरू चर्किने गरेका छन् । अनि चोकचोकमा फोहोरका डंगुरको सानातिना पहाड बन्ने गरेका छन् । तर, यसको आन्तर्य के हो ? प्रश्न अनुत्तरित नै छन् ।

करिब १५ किलोमिटर परका सिसडोलबासीलाई भने यहाँ चर्काइने मुद्दाबारे केही थाहा हुँदैन । जो काठमाडौंमा घर बनाएर बसेका छन्, अभियान्ताको आवरणमा रहेका उनीहरूले आन्दोलन चर्काउने गरेको कुरा काठमाडौंमै पनि छिटपुट नउठ्ने होइन । सिसडोलबासी त ती अभियान्ताको नामै लिन चाहँदैनन् । सिसडोलबासीहरू भने राजनीतिक स्वार्थले प्रेरित मुद्दाहरूभन्दा निकै पर डरलागदो जीवन बाँच्न विवश छन् । काठमाडौंमा फोहोरको मुद्दा चर्किएको खबर थाहा पाउन पनि उनीहरूलाई टिभीमा समाचार हेर्नुपर्छ ।

भुजेलकी श्रीमतीका अनुसार स्वास्थ्य चौकीमा जीवनजल पनि छैन । केही बिरामी परे काठमाडौं जानुपर्छ । काठमाडौं जानका लागि भनेजस्तो सवारी पाइहालिँदैन । पाइहालेमा त्यही टिपर हो ।

भुजेल आक्रोशित हुँदै भन्छन्, ‘यहाँ पो हामीलाई गाह्रो छ । काठमाडौंमा त पसलभन्दा धेरै अस्पताल छ । हामी हामीलाई कसले हेरिदिन्छ र ! तिनीहरूले आफ्नो फोहोर टुँडिखेलमै राखुन् न ! हामीले यहाँ ज्यान नै गुमाउनुपरेको छ । पाएको केही छैन । मन्त्री मेयर आउँछन्, हामीसँग बोल्दा पनि बोल्दैनन् । उनीहरू सीधै आउने हुन्, जाने हुन् । पुलिसहरू ल्याउने हुन् फोहोर खन्याउनलाई । राजनीति गर्नेलाई नै ठेक्का दिएका छन् । उनीहरू आफैं रोक्छन् फोहोरको गाडी, अनि गाउँलेलाई दोष दिन्छन् । गाउँलेले फोहोर फाल्न दिएनन् भनेर उनीहरू नै भन्छन्, अनि उनीहरू नै खोल्छन् । यहाँ फोहोर फाल्न बन्द भयो भनेर टिभी हेर्दा थाहा हुन्छ ।’

ल्याण्डफिल साइटको दूरावस्था

काठमाडौं महानगरपालिकामा जब जब फोहोर व्यस्थापनसँग सम्बधित मुद्दा चर्किन्छ तब बन्चरे डाँडा ल्याण्डफिल साइटको चर्चा पनि चर्किन्छ । सरोकारवालाहरूले आम मानिसको मस्तिष्कमा प्रत्यारोपण गरेको धारणाले के भन्छ भने बन्चरे डाँडा ल्याण्डफिल साइटको निर्माण पूरा भएको खण्डमा काठमाडौं उपत्यकाको फोहोर दिगो रूपमा व्यवस्थापन हुन्छ ।

यद्यपि यो कुराको पनि ग्राउण्ड रियालिटी भने फरक छ । बन्चरे डाँडा ल्याण्डफिल साइटसम्म फोहोर पुग्नुअघि नै काठमाडौं उपत्यकाको फोहोरले अनेकन चरण पार गर्नुपर्ने हुन्छ । काठमाडौं महानगरपालिकाको व्यस्थापन र उपयोगको जिम्मा निजी क्षेत्रलाई लगाउने र त्यस मार्फत महानगरले आम्दानी गर्ने योजना रहेको छ ।

जसका लागि महानगरले एक निजी कम्पनीसँग प्रारम्भिक परियोजना विकास सम्झौता पनि गरिसकेको छ । तर, पूर्ण रूपको परियोजना विकास सम्झौता (पीडीए) को भने कुनै ठोस निर्णय हुन सकेको छैन । यता नेतृत्व परिवर्तन भएसँगै फोहोर व्यस्थापनको जिम्मा मात्र एउटा निजी कम्पनीलाई दिनु उचित हुन्छ कि हुँदैन भन्ने विषयमा पनि अध्ययन हुने बताइएको छ ।

योजना अनुरूप नै जाने हो भने निजी कम्पनीलाई बन्चरे डाँडामा फोहोर प्रशोधन केन्द्र स्थापना गर्न ३ सय रोपनी जग्गा चाहिने बताइन्छ । स्थानीय जनताले भने लगभग ४ हजार रोपनी जग्गा अधिग्रहण गरिनु पर्ने माग राखेका छन् । यसका लागि राज्य तयार छ त ?

पारियोजना अनुरूप बन्चरे डाँडामा बिसर्जन गरिने फोहोर कुल फोहोरको मात्र २० प्रतिशत हो । अरु ८० प्रतिशत फोहोर इन्धन मल आदिको रूपमा प्रयोग हुनुपर्छ । तर, बन्चरे डाँडा ल्याण्डफिल साइटको वस्तुगत स्थिती हेर्दा हालसम्म कुनै किसिमका प्रशोधन प्लान्टहरू स्थापना भइसकेको देखिन्न ।

शहरी विकास मन्त्रालयको निर्देशनमा काठमाडौं महानगरपालिकाले बन्चरे डाँडामा फोहोर फाल्न सुरू गरे पनि निर्माणाधीन ल्याण्डफिल साइटको बाटोको छेउमा नै थुपारिएको छ । फोहोरको वर्गिकरण, प्रसोधन मल तथा इन्धन उत्पादनको कुनै मेलो मेसो देखिदैन । सिसडोलमा जुन ढंगबाट फोहोर फालिएको थियो त्यही ढंगबाट नै बन्चरे डाँडामा अव्यवस्थित रूपमा फोहोर फाल्न थालिएको छ । यही पारीपाटीलाई नै निरन्तरता दिने हो भने अब २० वर्षमा अहिले सिसडोलकै हालतमा बन्चरे डाँडा पनि पुग्ने जानाकारवाला बताउँछन् ।

तस्बिर/भिडिओ : गौरव पौडेल/नविनमुनि स्थापित


प्रतिक्रिया

One thought on “काठमाडौंलाई सिसडोलबासीको निम्तो- मासुभात खान आउनुस्, झिँगा आफै धपाउनुस् (भिडिओ)

  1. वन्चरेडाडाको साइट वन्न ३ बर्षको प्रोजेक्ट १७ वर्ष सम्म बनेन । यस्ता प्रोजेक्टका डाकाहरु, कमिसनखाेरहरु सवैलाइ गोली हान्ने कानुन वन्नु पर्छ यस्तो कानुन चाहिन्छ अनि वन्छ नेपाल । मेलम्ची ३० वर्ष नवनाएर ओली आएपछि प्रत्येकदिन विवरण माग्थे रे अनि वल्ल वन्यो । तर काठमाण्डाैको मेयरले गरेन अहिले सजाय पाए । तर त्यसमा भ्रष्टाचार गर्ने पुर्वसचिवहरू अहिले ठुला अभियन्ता भएका छन । युटयुवमा खोकेको खोखेइ दलहरूलाइ गाली गरेको गरेइ छन । नेपालमा भ्रष्टहरुलाइ गोली हान्ने काननु चाहियो वल्ल सिसडाेलवासीलाइ न्याय हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर