कल सेन्टरमा एकैदिन ८ सयबढी गुनासो, फोहोर थुप्रेकोदेखि होस्टेलमा पानी नआएकोसम्म – Nepal Press

कल सेन्टरमा एकैदिन ८ सयबढी गुनासो, फोहोर थुप्रेकोदेखि होस्टेलमा पानी नआएकोसम्म

काठमाडौं । काठमाडौं महानगरपालिकाको कल सेन्टरमा एकै दिन ८ सय फोन आएको छ । महानगरले कल सेन्टर सुरु गरेको बुधबार एक दिनमा ८ सय कल आएको हो ।

८ सय फोनमध्ये अधिकांश फोन फोहोरको व्यवस्थापनसम्बन्धी गुनासो आएको महानगरको सूचना प्रविधि विभागका विभागीय प्रमुख नवराज ढकालले नेपाल प्रेसलाई बताए ।

उनले भने,‘प्राप्त भएको कलहरू मध्ये धेरैजसो ११ गतेदेखि फोहोर रोकिराखेको छ । फोहोर कहिले उठ्छ भनेर धेरै नागरिकहरूको गुनासो थियो । त्यो बारेमा हामीले जानकारी गराएको छौँ । कतिपय खाल्डाखुल्डी ढल फुटेको कुरा आएको छ ।कतिपय ठाउँमा घर निर्माण अवैध भइरहेको सूचना आएको छ ।’
क्युआर कोड,परिचयपत्रको तयारी, कर लगायतका सेवाहरूको बारेमा पनि कल सेन्टरमा फोन गरेर सोध्ने गरेको उनले बताए ।

कल सेन्टरमा आएका गुनासोहरू दुई वटा डेस्कबाट कामहरू हुँदैछ । उनका अनुसार एउटा डेस्कमा सोध बुझ खालको हुन्छ । कुन सेवा कहाँबाट लिन सकिन्छ भनेर जानकारी दिन सकिन्छ । अर्को गुनासो सुन्ने डेस्क छ । गुनासो छानबिन गर्ने र त्यसपछि गुनासो समाधानको लागि पहल गर्ने गरिएको छ ।

उनी भन्छन्, ‘फोन गर्ने कलरहरूको नाम फोन नम्बरसहित उहाँहरूको गुनासो टिप्छौँ । टिपेर सफ्टवेयरले सबै वडा र विभागहरूमा उहाँहरूले बोलेको रेकड सहित नै फरवार्ड गर्छौँ । गुनासो टिपोट गरेको पनि फरवार्ड गर्छौ । सम्बन्धित ठाउँबाट कार्यान्वयन भएपछि हामीलाई त्यसको जानकारी प्राप्त हुन्छ । सम्बन्धित गुनासोकर्तालाई पनि जानकारी गराउने व्यवस्था गरेका छौँ ।’कल सेन्टरमा अहिले गुनासो सुन्नको लागि ३ जना छन् ।

एकै पटक १५ जनाको कल ह्यान्डिलङ गर्न सक्ने सफ्टवेयरको व्यवस्था गरिएको छ । प्राप्त गरेको फोन डाइभर्ट गर्दै १५ जना सम्मको एकै पटक फोन उठाउन सकिने गरी सफ्टवेयरको व्यवस्था मिलाएको विभाग प्रमुख ढकालले बताए । उनले थपे,‘ गुनासोलाई तुरुन्तै सम्बन्धित विभाग वडा महाशाखामा जोसँग सम्बन्धित गुनासोहरू छन् ती गुनासो फरवार्ड गर्ने सिस्टम बनाएको छौँ ।
उहाँहरूको इमेलमार्फत जान्छ । उहाँहरूले गुनासो गरेको सबै रेकड राख्ने गरेको छौँ ।’

साढे ९ बजेदेखि साढे ५ बजेसम्म फोन गरेर गुनासो टिपाउन सकिने व्यवस्था गरेको छ । त्यसपछि उनीहरूको गुनासो ५ नम्बर डायल गरेर आफ्नो गुनासो टिपाउन सकिने छ भनेर मेसिनले नै जानकारी दिन्छ । सेवाग्राहीले बेलुका अथवा सार्वजनिक बिदाको दिन पनि गुनासो टिपाउने व्यवस्था समेत गरेको छ । उक्त समयमा टिपेको गुनासो कार्यालय समयमा सम्बन्धित ठाउँमा पठाउने गरिन्छ । कल सेन्टर भर्खरै सुरु गरेको हुनाले कतिपय प्राविधिक विषय पनि मिलाउनुपर्ने कर्मचारीलाई तालिम दिने २४ सै घण्टा पनि लान सकिने उनको भनाइ छ ।

तर इमरजेन्सीमा काम गर्न सकिने गरी कुनै निकायले सिस्टममा बसेर पनि हेरिराखेको हुन्छ ।

ढकालले भने, ‘विभिन्न खालको संकटको बेला तुरुन्तै हेर्नुपर्ने हुन्छ । निगरानी गर्ने टोलीले त्यो तुरुन्तै गर्न सक्ने काम गर्छ । अहिलेलाई भर्खरै प्रारम्भ गरेको हुनाले कार्यालय समयमा मात्रै यसको सञ्चालन हुन्छ । भोलि आवश्यकता पर्दा २४ सै घण्टा यो सेवा दिन सकिन्छ ।’

कल सेन्टरकी कर्मचारी गुणलक्ष्मी गजुरेलले आज पनि बिहानैदेखि धेरैजसो फोहोरकै गुनासो आएको बताइन् । उनले फोहोरको गुनासो गर्नेलाई वर्षदेखिको समस्या हो बिस्तारै समाधान हुने भनेर जवाफ दिने गरेको समेत बताइन् ।

यस्तै कल सेन्टरमा होस्टेलमा पानी व्यवस्थापन नभएकोदेखि कलेजले पम्पलेट फालेर फोहोर गरेको समेत गुनासो आउने गरेको उनले बताइन् ।

उनले भनिन्, ‘धेरै फोहोरमैलाको आएको छ । बिस्तारै हुन्छ । वर्षोदेखि पिच रोड खन्यो कि कलेजकै बजार आफ्नो फोहोर पारिदिएको छ । विभिन्न होस्टेल राम्रो व्यवस्थापन भएन तपाईँहरूले के कस्तो काम गर्नुहुन्छ भनेर सोध्नुहुन्छ । जसले फोहोर गर्‍यो गुनासो सम्बन्धित वडामा नै जानुपर्छ वडाले सकेन भने मात्रै कहाँ पठाउनुपर्ने हो त्यहाँ फरवार्ड गर्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर