नेपाली फुटबलमा फिनिसरको सङ्कट : १९ वर्षसम्म तोडिएन सर्वाधिक १३ गोलको कीर्तिमान – Nepal Press

नेपाली फुटबलमा फिनिसरको सङ्कट : १९ वर्षसम्म तोडिएन सर्वाधिक १३ गोलको कीर्तिमान

काठमाडौं । नेपाली टोलीले मन जित्यो तर खेल जितेन, नेपालले अन्तर्राष्ट्रिय फुटबल खेल्दा प्राय हरेक पटक यस्तै सुनिने गर्छ । खेल जित्न विपक्षीभन्दा बढी गोल गर्नुपर्छ तर नेपाली टोली प्रायः गोल गर्न नै चुकिरहेको हुन्छ वा सकिरहेको हुँदैन ।

नेपाली टोलीबाट सर्वकालीन सर्वाधिक गोलकर्ताको कीर्तिमान नै १३ गोलका रूपमा हरि खड्का र नीराजन रायमाझीको नाममा रहेको छ । हरि खड्काले सन् २००३ मै अफगानिस्तानविरुद्ध २ गोल गर्दै आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १३ पुर्‍याएका थिए ।

त्यसपछि भने उनले गोल गर्न सकेनन् । नीराजनले साफ च्याम्पियनसिपअन्तर्गत सन् २००८ मा मालेमा पाकिस्तानविरुद्ध गोल गर्दै हरि खड्काको सर्वकालीन सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गरेका थिए । तर उनले तोड्न सकेनन् । जुमानु राईले ११ र अनिल गुरुङले १० गोलसम्म पुर्‍याए। अहिले टिममा पर्न छाड‍ेपनि भरत खवासको नाममा पनि १० गोल रहेको छ ।

अहिलेका समकालीन खेलाडीहरूमा विमल घर्ती मगरले ९, अञ्जन विष्टले ८ र नवयुग श्रेष्ठले ७ गोल गरेका छन् । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग विवाद भएका कारण अहिले अञ्जन र विमल राष्ट्रिय टोलीमा छैनन् ।

पहिलो रोजाइका ११ जना खेलाडी बिनै नेपाली टोली एएफसी कप छनोटका लागि कुवेत पुगेको छ। प्रतियोगिताको तेस्रो चरणको छनोटमा नेपालले घरेलु टोली, इन्डोनेसिया र जोर्डनसँग खेल्दै छ ।

नेपाली समयअनुसार पहिलो खेल बुधवार मध्यरात १ बजे जोर्डनसँग खेल्दै छ। नेपाली टोलीको कप्तानी नवयुगले गर्दै छन् ।

नीराजनले मकाउविरुद्ध सन् २००१ मा ह्याट्रिक गरेका थिए । उनले अन्य दुई अवसरमा दुई दुई गोल गरेका थिए। हरिले तीन पटक दुई दुई गोल गरे पनि ह्याट्रिक पुरा गर्न भने सकेका थिएनन् । भरतले सन् २०१३ मा नर्दन मारियाना आइल्यान्डविरुद्ध ह्याट्रिक गरेका थिए ।

नवयुगले सन् २०१६ मा आयोजित बंगबन्धु गोल्ड कपमा मालदिभ्सविरुद्ध ह्याट्रिक गरेका थिए। नेपाली खेलाडीले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा गरेको पछिल्लो ह्याट्रिक नै त्यही हो ।

पछिल्ला वर्षहरूमा नेपालले अन्तर्राष्ट्रिय उपाधिहरू जितिरहेकै छ। पछिल्लो ७ वर्षमा नेपालले दुई पटक दक्षिण एसियाली खेलकुद (साग) फुटबल स्वर्ण पदक तथा सोलिडारिटी कप र बंगबन्धु गोल्ड कपको उपाधि जितेको छ। तर गोल गर्न भने मुस्किल नै परिरहेको छ ।

नेपालले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा पछिल्ला सात खेलमा दुई जित, एक बराबरी र ७ हारको नतिजा निकालेको छ । गत जनवरी/फेब्रुअरीमा घरेलु मैदानमा मौरिसससँग भएका दुई खेल नेपालले समान १-० गोलको नतिजामा जितेको थियो ।

त्यसपछि थाइल्यान्ड र भर्खरै ओमानसँग समान २-० गोलले पराजित भएको थियो । गत अक्टोबरमा भएको साफ च्याम्पियनसिपमा नेपाल फाइनलसम्म पुगेको थियो । उपाधि भिडन्तमा भारतसँग ३-० गोलले पराजित हुनुअघि नेपालले लिग चरणका अन्तिम २ खेलमा जित हात पार्न सकेको थिएन ।

नेपालले सन् २०१९ यता तीन वर्षमा सिनियर अन्तर्राष्ट्रिय फुटबलमा खेलेका कुल ३० खेलमा १७ हार, ७ जित र ६ बराबरीको नतिजा निकालेको छ । यसबिचमा एकै खेलमा एक पटक ३ गोलसम्म र तीन पटक दुई गोलसम्म गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर