ककनीका अध्यक्षको टिप्पणी: मेयरले काम गर्न खोज्नुभएको छ, तौरतरिका अलि मिलेन – Nepal Press

ककनीका अध्यक्षको टिप्पणी: मेयरले काम गर्न खोज्नुभएको छ, तौरतरिका अलि मिलेन

काठमाडौं । काठमाडौंको मेयरमा निर्वाचित भएलगत्तै बालेन्द्र साहले सहरमा थुप्रिएको फोहोरको व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेका छन् । तर, विसर्जन गर्ने स्थान सिसडोलका वासिन्दाको विरोधका कारण अझै फोहोर उठ्न सकेको छैन ।

यस सम्बन्धमा सहरी विकास मन्त्रालयको रोहबरमा जनप्रतिनिधिहरुबीच भएको सहमतिमा पनि सिसडोलका स्थानीयले असहमति जनाएका छन् । हिजो उनीहरुले फोहोर खन्याउन आएका ट्रकहरुलाई अवरोध गरेका थिए । आज पनि अवरोध जारी छ ।

ककनी गाउँपालिकाको २ नम्बर वडाअन्तर्गत पर्छ सिसडोल । गत स्थानीय चुनावमा यो पालिकामा माओवादीका सुमन तामाङ ‘सज्जन’ अध्यक्ष निर्वाचित भए । २ नम्बर वडामा भने कांग्रेसका अध्यक्ष छन् । वडाध्यक्ष र गाउँपालिका अध्यक्षबीच नै तालमेल नमिलेको देखिन्छ । अध्यक्ष तामाङले हस्ताक्षर गरेको सहमति आफूले नमान्ने वडाध्यक्ष तिलक लामाले बताएका छन् । मन्त्रालयमा भएको वार्तामा आफूलाई नराखिएकोमा उनको तीव्र असन्तुष्टि छ ।

गाउँपालिका अध्यक्ष तामाङ भने आफूहरुबीच कुनै असमझदारी नरहेको दावी गर्छन् । अस्तिको वार्तामा भएको सहमतिले स्थानीयका धेरै मागलाई समेटेको उनको भनाइ छ । तर, काठमाडौंका मेयरलाई सहमतिपछि फेरि सबैजना सिसडोल गएर जनतालाई बुझाउन आफूले आग्रह गरे पनि सुनुवाइ नभएको तामाङले गुनासो गरे ।

फोहोर व्यवस्थापनको विवादमा गाउँपालिका अध्यक्ष तामाङ यसो भन्छन्ः

फोहोर व्यवस्थापनमा अवरोध गर्नु अलिकति साथीहरुको घमण्ड हो कि जस्तो लाग्छ । उहाँहरुले जे खोजेको हो त्यो पाउनुभएको छ । भर्खरै हुने कि अलिकति प्रक्रियामा जाने भन्ने कुरामात्रै फरक हो । त्यसो हुँदा माग सम्बाेधन भएको देखिन्छ ।

अधिग्रहणको जुन मुख्य कुरा छ, त्यसको तिथिमिति सबै तोक्नुपर्‍याे भन्ने कुरा साथीहरुले गर्नुभएको छ । महानगर र सहरी विकासले अब आउने बजेटबाट कार्य प्रारम्भ हुन्छ भनिरहेको छ । त्यही आधारमा सहमति भएको हो । अधिग्रहण गर्नुपर्ने कति हो भनेर नास्टले प्रमाणित गर्नुपर्छ । कतिसम्म प्रभावित क्षेत्र हो भन्ने अध्ययन गर्नुपर्ने हुन्छ । मेरो अनुमानमा धादिङ र नुवाकोटमा गरी २५ सय रोपनी भेट्छ कि भन्ने हो ।

साथीहरूले चाहिँ तिथिमिति नै तोकियोस् भन्नुभएको छ । तोकिँदा अवश्य राम्रो हो । फोहोर र मान्छे सँगै बस्न सक्दैनन् । त्यसैले आन्दोलनमा सहभागीले तत्काल गर्नुपर्छ भनिरहेका छन् । उहाँहरुले चाहिँ लिखित रुपमा भन्दा पनि व्यवहारिक रुपमा गर्छौं भन्नुभएको छ । तर, विगतका लिखित सम्झौता कार्यान्वयन नभएकाले स्थानीयवासी सशंकित छन् । सम्झौता हुने तर कार्यान्वयन नभई कागजमा मात्रै सीमित हुँदा स्थानीय बासिन्दा आन्दोलित भएको बुझेको छु ।

जहाँसम्म फोहोरको राजनीतिकरण भयो भन्ने छ, राजनीति त हरेक ठाउँमा जोडिन्छ नै । समाजकै एउटा हिस्सा राजनीति हो । हरेक व्यक्तिहरुको पार्टीगत रुपमा झुकाव होला कतै न कतै । यसलाई लिएर आन्दोलनमा राजनीतीकरण भयो भन्न मिल्दैन । प्रभावित क्षेत्रका बासिन्दा मिलेरै आन्दोलित हुनुभएको हो ।

अलिकति उहाँहरु (काठमाडौंका मेयर) को पनि कमजोरी छ । म उहाँहरुको पनि सकारात्मक कोणबाट आलोचना गर्न चाहन्छु । काम गर्छु भन्ने मनसाय राम्राे छ । फिल्डमा पनि गइरहनुभएको छ । समस्याप्रति गम्भीर पनि भइराख्नुभएको छ । तर, मेयरज्यूको तौरतरिका मिल्या छैन । मैले सहमति हुँदै गर्दा नै भनेको थिएँ । यति सम्झौता भइसकेपछि सबैजना फिल्डमा जाऔं । अहिले सबै बसेका जति मन्त्रालयका सचिव, काठमाडौंका मेयर, उपमेयर तथा आसपासका नगरपालिका प्रमुखहरु प्रभावित क्षेत्रमा गएर स्थानीय जनतालाई सम्झाऔं । जो-जो आन्दोलनमा सहभागी उहाँहरुलाई हामीले यस्तो यस्तो सहमति गर्‍याैं भनेर सम्झाऔं । तपाईंहरु हामीलाई केही समय दिनुस्, अहिले आन्दोलन नगर्नुस् भनेर आग्रह गरौं । हामी कार्यान्वयनमा जोडदार ढंगले लाग्छौं भनेर आश्वस्त पारौं ।

मैले यस्तो प्रस्ताव राख्दा ‘यत्रो मिडिया छन्, उनीहरुले बुझाइहाल्छन् नि, हामी सबै किन जानुपर्‍याे’ भनेर मेयरसाब पन्छिनुभो । त्यसैले दोहोर्‍याएर समस्या निस्कियो । फिल्डमा गएको भए स्थानीय जनताको कुरा सुनेर केही कुरा सच्याउन सकिन्थ्यो । उहाँहरुको चित्त बुझाउन सकिन्थ्यो । जान नसक्दा कमजोरी भयो ।

मैलेमात्रै सम्झाएर हुने कुरा होइन । यो समस्या सबैको हो । म एक्लैले हल गर्न सक्ने होइन । म आफ्ना मतदातालाई फेस गर्न तयार छु, जवाफदेही त सबै हुनुपर्‍याे नि !

समस्या समाधानमा उहाँहरु जस्तै हामी पनि गम्भीर छौं । हामीलाई मेयरसा’बले तीन-तीन पटक बोलाउँदा गएर छलफल गर्‍यौं । हामीले यदि ठूलो समस्या ठानेका थिएनौं भने त पटक-पटक उहाँसँग भेट गर्न नै गइन्नथ्यो होला । तर, समस्या समाधानको मुख्य स्रोत उहाँहरु नै हो । हामीले त सहजीकरणमात्रै गरिदिने हाे । फोहोर र मानिस सँगै बस्न सक्दैनन् भन्ने मुख्य माग छ । हामीलाई पनि काठमाडौंवासीसरह नै व्यवहार गरियोस् भन्ने यहाँका जनता चाहन्छन् । त्यसलाई सरकार र महानगरले मनन गर्नुपर्छ ।

दुई नम्बरका वडाध्यक्षले वार्तामा आफूलाई नबोलाएको भन्दै गुनासो गर्नुभएको रहेछ । तर, यसमा म जिम्मेवार छैन । महानगर र सहरी विकासले पालिकाको अध्यक्ष, उपाध्यक्ष र महानगरका मेयर, उपमेयरलाई मात्रै किटान गरेर बोलाएकाले उहाँलाई सँगै लैजान सकेनौं । यद्यपि वडाध्यक्षज्यूसँग मेरो कुनै असमझदारी छैन । मैले उहाँलाई बाइपास गर्न खोजेको होइन । न उहाँले नै मलाई असहयोग गर्नुभएको छ ।

हामी हिजो कार्यपालिकाको बैठक बस्यौं । फोहोरलाई सम्बन्धित स्थानीय तहमै विसर्जन गर्नुपर्ने कानूनी कुराहरुको अध्ययन गरिरहेका छौं । त्यो अध्ययन गरिसकेपछि निर्णायक कुराहरु राख्नेछौं । अहिले कानुनी कुरा अध्ययन गर्ने क्रममै छौं । सहमति अनुमोदन गरिएको छैन ।

अब महानगरले थप छलफलका लागि बोलाउनुहुन्छ होला जस्तो लाग्छ । छलफलको आधारमा मात्रै त्यो विषयवस्तु टुंगिएला । हामी सहमतिलाई कार्यान्वयनमा लैजाने पक्षमै छौं । तर, संघर्ष गर्ने साथीहरू र स्थानीयवासीलाई पनि सँगै लिएर जानुपर्छ । त्यस्तो वातावरण सरकारले बनाइदेओस् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर