नागढुंगाबाट बरामद करिब ४ करोड वैध देखाउन बैंकिङ कारोबार गरेको आशंका – Nepal Press

नागढुंगाबाट बरामद करिब ४ करोड वैध देखाउन बैंकिङ कारोबार गरेको आशंका

काठमाडौं । करिब चार करोड नेपाली रूपैयाँसहित पक्राउ परेका ४ चिनियाँ र र एक नेपालीमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेको छ । अदालतबाट १५ दिनको म्याद थप गरी विभागले अनुसन्धान थालेको हो ।

हिजो बिहान नुवाकोटबाट आउँदै गरेको बीए बी ५७१० नम्बरको कारलाई काठमाडौं छिर्ने प्रमुख नाका नागढुंगामा नियन्त्रणमा लिएर प्रहरीले खानतलासी लिएको थियो ।

प्रहरीले कारको डिक्कीबाट ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ बरामद गरेको थियो । गाडीमा चालक नेपाली थिए भने सवार अन्य चार चिनियाँ नागरिक थिए । प्रहरीलाई पैसा गन्न मात्र करिब ५ घण्टा समय लागेको थियो ।

स्रोतका अनुसार सोमबार मात्र नुवाकोटको मैलुङस्थित हिमालयन बैंकको शाखाबाट झिकिएको ३ करोड ९० लाख रुपैयाँ लिएर उनीहरू काठमाडौं छिर्दै थिए ।

एक निर्माण कम्पनीले अर्को निर्माण कम्पनीका नाममा राखेको पैसा केही घण्टामै झिकिएको थियो । इनकाउन्टर निर्माण सेवाले एसआर निर्माण सेवाका नाममा सोमबार ४ करोड १० लाख पैसा जम्मा गरेको थियो । त्यसको केही घण्टामा एसआर निर्माण सेवाका तर्फबाट खातामा रहेकोमध्ये ३ करोड ९० लाख झिकिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

‘एसआर निर्माण सेवाका नाममा जम्मा भएको रकम कहाँबाट आएको थियो भन्ने केही खुलेको छैन’, अनुसन्धानमा संलग्न अधिकारी भन्छन् । पैसालाई वैध देखाउन बैंकमा राखेर तुरुन्तै झिकिएको हुनसक्ने आशंका गरिएको छ । पक्राउ परेका चिनियाँले आफूहरू थ्रिबी हाइड्रो पावरमा कार्यरत रहेको बताएका छन् ।

‘नुवाकोटबाट पठाउनेले महाराजगन्जस्थित एक व्यक्तिलाई पैसा दिनु भनिएको रहेछ’, ती अधिकारीले भने ।

सुन तस्करी र विदेशी मुद्रा खासगरी डलरको अवैध कारोबारमा पटकपटक चिनियाँ पक्राउ पर्दै आएका छन् । तर, यसपटक उनीहरू नेपाली पैसा नै किन बोकेर आएका थिए भन्ने गम्भीर अनुसन्धानको विषय भएको अधिकारीहरू बताउँछन् ।

अंग्रेजीसमेत नबुझ्ने भएकाले चिनियाँसँग अनुसन्धानमा समस्या भएको बताइएको छ । पक्राउ परेका नेपाली तथा कारका चालक नुवाकोटको विदुरका ४४ वर्षीय फुलबहादुर गुरुङले आफू पनि हाइड्रोमा कार्यरत रहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर