नविल बैंकले काठमाडौंमा १८ शाखाका शौचालयलाई सार्वजनिक बनाउने, महानगरसँग १३ बुँदे सम्झौता – Nepal Press

नविल बैंकले काठमाडौंमा १८ शाखाका शौचालयलाई सार्वजनिक बनाउने, महानगरसँग १३ बुँदे सम्झौता

काठमाडौं । नविल बैंकले काठमाडौं महानगरभित्रका आफ्ना १८ शाखामा रहेका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने भएको छ । बैंकले आज काठमाडौं महानगरपालिकासँग सम्झौता गर्दै सो घोषणा गरेको हो ।

महानगर र बैंकबीच भएको १३ बुँदे सम्झौतामा सार्वजनिक बनाइएका सबै शौचालयको दायित्व बैंक स्वयम्‌ले बहन गर्ने उल्लेख छ । महानगरको नगरकार्यपालिका बैठकले गत जेठ १६ गते काठमाडौंभित्रको होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायमा रहेका शौचालयहरूलाई सर्वजनिक प्रयोगमा ल्याउने निर्णय गरेको थियो । त्यसबमोजिम पहिलो सम्झौता नविलले गरेको हो ।

सम्झौतामा काठमाडौंमा नविल बैंकको स्वामित्व र भोगाधिकार भएका १८ वटा शाखा कार्यालयमा रहेका चालु हालतका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने उल्लेख छ । यसबापत सेवाग्राही वा अन्य व्यक्तिसँग कुनै शुल्क नलिने तथा आफ्नो कुनै किसिमको सेवा लिनका निम्ति करकाप र प्रोत्साहन पनि नगर्न बैंकले सहमति जनाएको छ ।

सार्वजनिक शौचालय भएका भवनमा प्रष्ट देखिने गरी सूचना बोर्ड राख्नुपर्ने छ । शौचालयमा आवश्यक सरसफाइको जिम्मेवारी बैंककै हुनेछ ।

पाँच वर्षका लागि यो सम्झौता गरिएको हो । त्यसपश्चात फेरि सम्झौताको अवधि थप्न सकिने बताइएको छ । सार्वजनिक शौचालयको अनुगमन र मूल्यांकनका लागि प्रत्येक चार महिनामा दुवै पक्षबाट एक-एक प्रतिनिधि खटाइने सम्झौतापत्रमा उल्लेख छ ।

सम्झौतामा काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल र नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर