सिसडोलका वडाध्यक्ष भन्छन् : मेरो अनुपस्थितिमा गरिएको सहमति मान्दिनँ – Nepal Press
नेपाल टक

सिसडोलका वडाध्यक्ष भन्छन् : मेरो अनुपस्थितिमा गरिएको सहमति मान्दिनँ

काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापनको विषय अहिले राष्ट्रिय मुद्दा बनेको छ । धेरै दिनदेखि नउठेको फोहोर आजबाट उठ्ने भनेर हिजो सहमति भएको थियो । तर, आज बिहानै उक्त सहमति नमान्ने भन्दै सिसडोलबासीले फोहोरका गाडीहरूलाई अवरोध गरे ।

प्रहरीले अवरोध खुलाएर फोहोर खन्याए पनि समस्या समाधान भएको छैन । स्थानीयवासी महानगरसँग आक्रोशित छन् । आफ्नै जनप्रतिनिधिसँग पनि उनीहरू रिसाएका छन् । आफूहरूले विगतदेखि उठाएका माग सम्बोधन नभएको र स्थानीय संघर्ष समितिलाई छलेर सहमति गरिएकोमा उनीहरूको विरोध छ ।

फोहोर फाल्ने क्षेत्र सिसडोल र बञ्चरेडाँडा ककनी गाविसको वडा नम्बर २ अन्तरगत पर्छ । उक्त वडाका वडाध्यक्ष तिलक लामा पनि हिजो गरिएको सहमतिप्रति असन्तुष्ट छन् । आफ्नो अनुपस्थितिमा गरिएको सहमति नस्वीकार्ने उनले बताए ।

सहमतिका बुँदाहरू भने अहिलेसम्म नपढेको लामाको भनाइ छ । कांग्रेसबाट निर्वाचित वडाध्यक्ष लामासँग गरिएको संक्षिप्त कुराकानी:

आज सिसडोलमा दिनभर तनाव हुँदा तपाईँको उपस्थिति देखिएन । तपाईँ कहाँ हुनुहुन्थ्यो ?

म गाउँ कार्यपालिकाको बैठकमा दिनभरि व्यस्त थिएँ ।

आफ्नो वडामा त्यत्रो बबण्डर भइरहँदा बैठक छोडेर पनि आउनुपर्थ्यो होला नि ?

खासमा मलाई अलि ढिला थाहा भयो । मिटिङमा बसिरहेको बेला खबर आएको थियो । समयमा थाहा पाएको भए पक्कै जाने थिएँ ।

हिजो भएको सहमतिबारे तपाईँको धारणा के हो ?

त्यो सहमति मैले पढ्न पाएको छैन । सहमति भयो रे भन्ने चाहिँ सुनेको छु । तर औपचारिक जानकारी मलाई कसैले दिएको छैन ।

मिडियामा छ्यापछ्याप्ती आइसकेको छ, किन नपढ्नुभएको ?

भनिहालेँ नि दिनभर बैठकमा व्यस्त थिएँ ।

हिजोको वार्तामा तपाईँ किन नजानुभएको ?

खासमा मलाई खबरै गरिएन । मेरो असन्तुष्टि पनि यसमै हो । वञ्चरेडाँडा र सिसडोलको फोहोर खन्याउने क्षेत्र दुवै मेरो वडामा पर्छन् । तर, यो वडाको जनप्रतिनिधिलाई नै खबर भएन । त्यसैले मेरो अनुपस्थितिमा भएको सहमति स्वीकार्न सक्दिनँ ।

आज त तपाईँलाई अध्यक्षले जानकारी गराउनुभयो होला नि ?

आज कार्यपालिकाको बैठकमा हामी सँगै थियौँ । मैले उहाँसँग आपत्ति जनाएको छु । मेरो वडामा फोहोर खसाइएको छ । मेरो वडावासी तनावमा छन् भन्ने कुरा राखेँ । उहाँले मलाई पनि लानुपर्ने थियो, तर हतारमा भ्याएन भन्ने कुरा गर्नुभयो ।

सहमतिमा त धेरै कुराहरू समेटिएका छन् । तपाईंहरुलाई नपुगेको चाहिँ के हो त ?

मैले त के–केमा सहमति भयो भन्ने नै हेरेको छैन । कम्तीमा मेरो वडामा फोहोर खसिरहेको छ । वडावासी पिडामा छन् भने सहमति यो–यो कुरामा हुँदै छ भनेर मलाई त बोलाउनुपर्थ्यो नि ।

तपाईँको प्रतिनिधित्व त गाउँपालिकाको अध्यक्षले गरिहाल्नु भयो नि ? आफूलाई बोलाइएन भन्दैमा सहमति नमान्ने हुन्छ र ?

गाउँपालिकाले हाम्रो नेतृत्व गर्ने त हो । तर, ठ्याक्कै वडाको प्रतिनिधित्व त मैले गर्छु नि । त्यसमा नबोलाएकोमा मेरो आपत्ति छ ।

भनेपछि अब भोलिबाट खसाउन नदिने नै हो ?

त्यस्तो होइन । फोहोर खसाउनकै लागि बनाएको हो, खसाउनुपर्छ । त्यसमा आपत्ति भएन । तर ठिक तरिकाले खसाल्नुपरो । सिसडोलमा जसरी खसाइरहेको छ, त्यसरी नै खसाइरहने हो भने त्यस्तो सहमतिको औचित्य छैन । ल्यान्डफिल्ड साइट भनेको त विभिन्न मापदण्डहरू पूरा गर्नुपर्छ । वडाध्यक्षको वास्तै नगरेर कसरी हुन्छ ?

मागहरू चाहिँ के छन् त तपाईँहरूका ?

पहिले भएको कमिटमेन्ट पूरा भएका छैनन् । सिसडोलमा अस्तव्यस्त तरिकाले फोहोर फालिएको छ । त्यो त्यत्तिकै छाडेर बञ्चरेडाँडामा फ्याँक्न मिल्दैन । पहिले सिसडोलको व्यवस्थापन गर्नुपर्‍यो । त्यहाँ पनि उही तरकाले फाल्ने हो भने आपत्तिजनक हुन्छ । गाउँका विकासका कुराहरू छन् । तत्काल गर्न सक्ने कुरा गरिहाल्नुपरो, नत्र कहिले गर्ने भन्ने सेड्यूल आउनुपरो ।

यत्रो तनाव हुँदा तपाईँ किन उपस्थित हुनुभएन, आज फोहोरको गाडीलाई अवरोध गर्ने पूर्व तयारीबारे तपाईँलाई थाहा थियो ?

मलाई केही पनि थाहा छैन । हिजो बेलुका सहमति भएको भनेर आज बिहान थाहा भयो । म पहिले दुई–तीन चोटि बालेन साह, रामकुमारी झाँक्रीसँग बैठकमा बसेको हुँ । सहमति गर्ने कुरा भएको थियो । तर, हिजो सहमति गर्ने बेलामा चाहिँ मलाई बोलाइएन । मलाई किन बोलाइएन भन्ने मात्रै प्रश्न हो मेरो ।

बालेन साह आएदेखि समस्या समाधानमा खटिनुभएको छ । फोहोरलाई मुख्य प्राथमिकतामा राख्नुभयो । उहाँलाई काम गर्न केही समय त दिनुपर्‍यो नि होइन ?

उहाँले पनि प्रभावित क्षेत्रका सबै जनप्रतिनिधिहरूलाई कार्यालयमा बोलाएर कुरा गर्नुपर्‍यो । यो यो विषयमा सहमति भयो, यी मागहरू यति दिनमा पूरा गर्छु भनेर कमिटमेन्ट गर्नुपरो । हामी समस्या समाधानमा बाधक बन्दैनौँ ।

बालेन साहले समाधान गर्न सक्छन् भन्नेमा कत्तिको आशा छ ?

आशा त बालेन साहप्रति छ नि । आशा नभएको भए पटक पटक मिटिङमा बस्ने नै थिएनौँ । तीन पटक मिटिङमा बस्यौँ उहाँसँग । उहाँ फोहोर सम्बन्धी ज्ञान भएको मान्छे हो । चुनावी अभियानमा पनि फोहोरको व्यवस्थापन गर्छु भनेर मत माग्दै हिँडेको देखेका हौँ । ठूलो आशा छ नि । काठमाडौंवासीलाई जस्तै हामीलाई पनि उहाँप्रति आशा छ ।

तर, आजको घटनाले त सिसडोलका जनताले नै कामै गर्न अवरोध गर्न खोजेको नकारात्मक सन्देश गयो नि त ?

हिजोको सहमति सबै जनप्रतिनिधि सबैलाई बोलाएर गरेको भए यस्तो समस्या आउँथेन । कसलाई बोलाउने भन्दा पनि सहमतिमा के छ भन्ने पो महत्त्वपूर्ण होला । आखिर तपाईँहरूकै अध्यक्षले हस्ताक्षर गरेको सहमति हो । तपाईँ अहिलेसम्म सहमति नै हेरेको छैन भन्नुहुन्छ । यो त गैरजिम्मेवारीपन भएन ? सहमति अब हेर्छु । त्यसपछि गाउँवासीसँग सल्लाह गरेर आगामी कदमबारे निर्णय लिनेछु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर