यातायात विभागले भन्यो- अढाई लाख इम्बोस्ड प्लेट स्टोरमा छन्, अनिवार्य नगरे राज्यलाई भार पर्छ – Nepal Press

यातायात विभागले भन्यो- अढाई लाख इम्बोस्ड प्लेट स्टोरमा छन्, अनिवार्य नगरे राज्यलाई भार पर्छ

काठमाडौं । यातायात व्यवस्था विभागले ईम्बोस्ड नम्बर प्लेट जडान ऐच्छिक विषय नभएर अनिवार्य भएको स्पष्ट पारेको छ । विभागले बुधबार एक विज्ञप्तिमार्फत सीमित समयमा यो काम पूरा गर्न गति बढाउनुपर्ने भएकाले सूचना निकालिएको बताएको हो ।

इम्बोस्ड नम्बर प्लेट परियोजनाका कारण राज्यको दायित्व थपिँदै जाने तर, त्यसले लक्षित उद्देश्य प्राप्त नहुने अवस्थामा जिम्मेवार निकाय र पदाधिकारी गम्भीर हुनुपर्छ भन्नेमा विभाग सचेत रहेको प्रवक्ता इश्वरीदत्त पनेरुले बताए ।

विभागको विज्ञप्तिअनुसार इम्बोस्ड नम्बर प्लेट जडानको विषय नयाँ नभएको र संसदबाट निर्माण गरिएको कानूनको कार्यान्वयनको क्रममा सार्वजनिक सूचना निकालिएको हो । संसदबाट निर्माण भएका कानून, सम्मानित अदालतका आदेश र अन्य प्रचलित कानूनको कार्यान्वयन गर्नु सार्वजनिक निकायको कर्तव्य भएको पनि विभागले जिकिर गरेको छ ।

उक्त सूचनाको आशय र उद्देश्य आगामी साउनदेखि र २०७८ कात्तिकमा प्रकाशित सूचना बमोजिम अनिवार्य रुपमा जडान गर्नुपर्ने भनिएका प्रकृतिका सवारीसाधनमा त्यस्तो प्लेट जड़ान भए नभएको अनुगमन गरिने पनेरुले बताए ।

अन्य सवारीको हकमा सम्बन्धित यातायात व्यवस्था कार्यालयले निर्धारण गरेको समय तालिका अनुसार लट अनुसार हुने भन्दै यस विषयमा थप आशंका र दुविधा नराख्न विभागले आग्रह गरेको छ ।

तर, २०७८ कार्तिक २२ गतेको राजपत्रको सूचना बमोजिम जो जसले ईम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने थियो, ती सवारीमा यस्ता प्लेट जडान भएका छन् वा छैनन् भन्ने अनुगमन भने गर्नुपर्ने विभागले जनाएको छ ।

विभागले गत कात्तिक २२ गते राजपत्रको सूचनापछि जुन गतिमा इम्बोस्ड नम्बर प्लेट जडान हनुपर्ने हो सो गतिमा नभएको र सवारी धनीले इम्बोस्ड नम्बर प्लेट जडान कार्यलाई स्वेच्छिक जस्तो ठानी ईम्बोस्ड नम्बर प्लेट जडानको लागि समयमै सम्बन्धित यातायात कार्यालयमा निवेदन नदिने गरेको पाइएको जनाएको छ ।

सम्बन्धि यातायात व्यवस्था कार्यालयले पनि ईम्बोस्ड नम्बर प्लेट जडानलाई गम्भिरतापूर्वक नलिई गत मंसीर एक गतेपछि नयाँ दर्ताका लागि आएका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन उदासिनता देखाएको पाइएको विभागले जनाएको छ ।

२०७८ फाल्गुणपछि किनवेच भई नामसारी गर्न आएका सवारी र २०७१ जेष्ठ एक गतेपछि नविकरण गर्न आएका सवारी साधनमासमेत ईम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्नुपर्ने कानुनी व्यवस्था कार्यान्वयनमा उदासिनता देखिएकोप्रति विभागले चिन्ता व्यक्त गर्दै यहि कुरालाई मध्यनजर गर्दै विभागले पछिल्लो पटकको सूचनामा वागमती प्रदेश र गण्डकी प्रदेशको हकमा इम्बोस्ड नम्बर प्लेट जडानको लागि अनुरोध गरेको हो ।

राजपत्रको सूचना अनुसार स्वभाविक रुपमा जुन गतिमा ईम्बोस्ड नम्बर प्लेट जडान हुने प्रक्षेपण साथ विभागले ईम्बोस्ड नम्बर प्लेट तयार गरेको थियो त्यस अनुरुप जडान नहुदाँ सम्झौता बमोजिम सेवा प्रदायकलाई भुक्तानी गर्नुपर्ने तर सवारीमा नम्बर प्लेट जडान नहुदाँ परियोजनाको उद्देश्य पुरा नहुने देखिएको विभागले जनाएको छ ।

इम्बोस्ड नम्बर प्लेट जडानको लागि आवश्यक पूर्वाधार तयार नगरी कार्यान्वयनमा ल्याईएको भन्ने भनाई पनि सत्य नभएको विभागको तर्क छ । विभागको तर्फबाट ईम्बोस्ड नम्बर प्लेट जडानको लागि गर्नुपर्न आवश्यक सबै पूर्वाधार तयार गरि सकेर मात्र विभागले यो कार्यक्रम कार्यान्वयनमा ल्याएको जनाइएको छ ।

आवश्यक मात्रामा प्लेट उत्पादनको कार्य भएको र अहिले विभागमा करिब दुई लाख ५० हजार प्लेट उत्पादन भएर स्टोरमा रहेको जनाइएको छ । इम्बोस्ड नम्बर प्लेट जडानको लागि आवेदन गर्ने प्रणाली र यसको पर्सनलाईजेसनको प्रणाली पनि तयार भइसकेको जनाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *