क्यानडा फुटबल संघको कारण देखाउँदै खेलाडीले किन बहिष्कार गरे मैत्रीपूर्ण खेल ? – Nepal Press

क्यानडा फुटबल संघको कारण देखाउँदै खेलाडीले किन बहिष्कार गरे मैत्रीपूर्ण खेल ?

काठमाडौं । क्यानडाको राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुले गत शुक्रबार, शनिबार र आइतबार आन्दोलनमा उत्रँदै नियमित प्रशिक्षण बहिस्कार गरे। खेलाडीको आन्दोलनका कारण भ्यानकोभरमा पानामासँग हुने भनिएको मैत्रीपूर्ण खेलसमेत स्थगित भयो।

आफ्ना मागबारे गम्भीर बन्ने आग्रह गरिरहेका क्यानडा राष्ट्रिय फुटबल टोलीका खेलाडीहरु सोमबारदेखि नियमित प्रशिक्षणमा फर्किएका छन् तर उनीहरुले माग सम्बोधन हुन बाँकी नै रहेको उल्लेख गरेका छन्।

क्यानडा केही समय अघि मात्र विश्वकप फुटबलमा छनोट भएको थियो। यसै वर्ष कतारमा आयोजना हुने विश्वकप छनोट क्यानडाको सामान्य सफलता होइन। क्यानडा इतिहासमा केवल दोस्रोपटक विश्वकप खेल्न लागेको हो। यसअघि अन्तिमपटक सन् १९८६ मा क्यानडाले विश्वकप खेलेको थियो।

क्यानडाका संचारमाध्यमका अनुसार विश्वकपमा छनोट भएबापत विश्व फुटबल महासंघ-फिफाबाट पाउने रकमबाट खेलाडीलाई दिइने हिस्साबारे विवाद भएको छ। खेलाडीले फिफाबाट प्राप्त हुने रकमको कम्तिमा ७५ प्रतिशत हिस्सा पाउनु पर्ने माग गरिरहेका छन्।

क्यानडा फुटबल संघले भने ६० प्रतिशत वितरण हुने र त्यो रकम पुरुष र महिला टोलीका सबै खेलाडीलाई समानरुपमा वितरण हुने बताउँदै आएको छ। खेलाडीहरुले पुरस्कारमा क्यानडा फुटबल संघले अपमान गरेको जनाएको छ। सोमबार जारी विज्ञप्तीमा फुटबल संघका नेताहरुसँग कुरा भएपनि सहमति भइनसकेको उल्लेख छ।

क्यानडा फुटबल संघले भने विवाद समाधान गर्न वार्ता हुने स्पष्ट पारेको छ। क्याडनाले आगामी बिहीबार कुराकावसँग खेल्ने तालिका छ तर खेल हुने नहुने निश्चित छैन। क्यानडाले आगामी विश्वकपको पहिलो चरणमा क्रोएसिया, मोरक्को र बेल्जियमसँग खेल्ने छ।

यसअघि विश्वकपमा छनोट भएबापतको ९० प्रतिशत पुरस्कार रकम संयुक्त राज्य अमेरिकाले महिला र पुरुष फुटबल टोलीका सदस्यलाई समानरुपमा बाडेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर