इम्बोस्ड प्लेट र स्यानिटरी प्याडको नीतिगत भ्रष्टाचारमा प्रधानमन्त्री पत्नी, छोरा र सालो संलग्न रहेको दाबी – Nepal Press

इम्बोस्ड प्लेट र स्यानिटरी प्याडको नीतिगत भ्रष्टाचारमा प्रधानमन्त्री पत्नी, छोरा र सालो संलग्न रहेको दाबी

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले यातायात साधनको इम्बोस्ड नम्बर र महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा प्रधानमन्त्रीको परिवारकै मिलेमतोमा नीतिगत भ्रष्टाचार भएको आरोप लगाएको छ ।

इम्बोस्ड नम्बर प्लेटमा सरकारको जबर्जस्तिविरुद्ध मंगलवार काठमाडौंमा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य समेत रहेका युवा संघका अध्यक्ष किरण पौडेलले प्रधानमन्त्री देउवा पत्नी आरजुका भाइ भूषण राणाको सेटिङमा यो खेलोमेलो भइरहेको आरोप लगाए ।

उनले इम्बोस्ड नम्बर प्लेट सम्बन्धी काम गर्ने विदेशी कम्पनीको नेपाली एजेन्ट नै भूषण राणा रहेको भन्दै सत्य तथ्य बाहिर ल्याउन आग्रह गरे । उनले एक महिनाभित्र इम्बोस्ड नम्बर जडान गरे पनि नगरे पनि ९५प्रतिशत भुक्तानी सो कम्पनीलाई दिन लागिएको दाबी गरे ।

उनले भने– यो खेल प्रधानमन्त्री निवासबाट भएको छ । भूषण राणा को हुन् ? इम्बोस्ड नम्बर प्लेटमा उनको के खेलोमेलो छ खोजियोस् । आज आरजु देउवा विदेश हिँड्नुभएको छ किन ? प्रस्टै छ कमिसनको लेनदेन विदेशमै हुने गरेको छ ।

अध्यक्ष पौडेलले भारतबाट आयात हुने स्यानिटरी प्याडमा ९० प्रतिशत छुट दिने बजेटको नीतिगत व्यवस्थामा पनि प्रधानमन्त्रीका पुत्र जयवीर सिंह देउवा,अर्थमन्त्री जनार्दन शर्मा र विना विभागीय मन्त्री उमेश श्रेष्ठको सेटिङ रहेको आरोप लगाए ।

देउवापुत्रले सो व्यवसाय गरिरहेको र नेपालका स्यानिटरी प्याड उद्योगलाई धराशायी बनाउन प्रधानमन्त्री परिवारबाटै नीतिगत भ्रष्टाचार भएको आरोप पौडेलले लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर