संसदमै गगनले गरे मन्त्री झाँक्री र मेयर बालेनको प्रशंसा (भिडिओ) – Nepal Press

संसदमै गगनले गरे मन्त्री झाँक्री र मेयर बालेनको प्रशंसा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंको फोहोर व्यवस्थापनका लागि सहरी विकास मन्त्री रामकुमारी झाँक्री र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गरेको प्रयासको प्रशंसा गरेका छन् ।

प्रतिनिधिसभामा मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिने क्रममा थापाले काठमाडौंका सडक फोहोरले पुरिन लागेको बेला मन्त्री झाँक्री र मेयर शाहले गरेको प्रयत्न सकारात्मक भएको बताएका हुन् ।

यद्यपि फोहोर व्यवस्थापनका लागि सम्झौता भएपछि पनि आज अवरोध भएको खबर आएको भन्दै थापाले स्थायी समाधानका लागि पहल गर्नुपर्ने बताए ।

‘सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकामा अहिले नयाँ नेतृत्व छ । यी दुवै नेतृत्वले प्रशंसायोग्य काम गरिरहनुभएको छ र फोहोर उठ्न थाल्यो भन्ने कुरा हामीले सुन्यौँ । तर आज फेरी अवरोध भयो भन्ने सुनेको छु । फोहोरको समस्या समाधानमा कहाँ समस्या परेको हो सहरी विकास मन्त्रीले संसद्लाई भन्नुहोला, हामी सहयोग गर्न चाहन्छौँ’, थापाले भने ।

उनले भौतिक पूर्वाधार मन्त्रालयले काठमाडौंमा फ्लाई ओभर बनाउन बजेट छुट्याएको भन्दै यस वर्ष फ्लाई ओभर बनाउने बजेट फोहोर व्यवस्थापनमा खर्च गर्न सुझाव दिए ।

उनले इम्बोस्ड नम्बर प्लेट लिन आफ्नो गाडी लिएर यातायात कार्यालयमा गएर लाइन बस्न यातायात मन्त्रीलाई आग्रह पनि गरे ।

इम्बोस्ड नम्बर प्लेटबारे गरिएको निर्णय अव्यवहारिक भएको भन्दै सच्याउन पनि थापाले माग गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर