भक्तपुर जिससमा कांग्रेस, एमाले र नेमकिपाको प्यानलै दर्ता, दुई दल नमिले निर्वाचित हुन गोला तान्नुपर्ने – Nepal Press

भक्तपुर जिससमा कांग्रेस, एमाले र नेमकिपाको प्यानलै दर्ता, दुई दल नमिले निर्वाचित हुन गोला तान्नुपर्ने

काठमाडौं । भक्तपुरको जिल्ला समन्वय समिति निर्वाचनको लागि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीले छुट्टाछुट्टै प्यानलै उम्मेदवारी दर्ता गरेका छन् ।

चार वटा नगरपालिका रहेको भक्तपुरमा कुनै पनि दलको एकल बहुमत छैन । जसले गर्दा उम्मेदवारी दिने तीनमध्ये दुई दल नमिले निर्वाचित हुन गोला तान्नुपर्ने निश्चित देखिएको छ ।

सत्ता गठबन्धनबाट जिससको प्रमुखमा जनार्दन थापा, उपप्रमुखमा सुजाता बाडे र सदस्यहरुमा प्रेम खत्री, सरला बिक, मनिता नेपाली, रञ्जिता त्रिखत्री र विनु केसीको उम्मेदवारी दर्ता गरिएको छ ।

एमालेबाट प्रमुखमा ईश्वरबहादुर थापा, उपप्रमुखमा रामकेशरी श्रेष्ठ र सदस्यहरुमा विश्वराम त्वानाबासू, राममाया मिजार, नानु कार्की, मञ्जु कार्की र राधिका मिजारको उम्मेदवारी दर्ता गरिएको छ ।

सत्ता गठबन्धनले भक्तपुरका मध्यपुर थिमि, सूर्यविनायक र चाँगुनारायण नपाबाट मिलाएर उम्मेदवारी दिँदा भक्तपुर नगरपालिकाबाट मात्रै उम्मेदवारी दिएको नेमकिपाबाट प्रमुखमा हरिरत्न गोरखाली, उपप्रमुखमा सरिना देउला र सदस्यहरुमा जीतेन्द्र मुनंकर्मी, सीतादेवी नेपाली, गंगालक्ष्मी वमनू, मञ्जुमाया लाखा र रीता फसिकवा रहेका छन् ।

जिल्ला समन्वय समिति निर्वाचनका लागि भक्तपुरमा आठ जना मतदातामध्ये एमालेसँग ३, नेपाली कांग्रेस र नेमकिपासँग २–२ तथा माओवादी केन्द्रसँग एक मत रहेको छ । सत्ता गठबन्धनअन्तर्गत कांग्रेस र माओवादी केन्द्रसँग ३ मत हुँदा एमालेसँग बराबरी भएको छ । जसले गर्दा निर्णायक देखिएको नेमकिपाले कांग्रेस र एमालेको प्रस्ताव अस्वीकार गर्दा तीन दलले प्यानलै उम्मेदवारी दर्ता गराएका छन् ।

नेमकिपाले कांग्रेस र माओवादीको सत्ता गठबन्धन र एमालेलाई अमेरिकी सहयोग परियोजना एमसीसी समर्थकको आरोप लगाउँदै उनीहरुसँग चुनावी तालमेल नहुने घोषणा गरेको छ । जसले गर्दा कांग्रेस र एमालेलाई नेमकिपाको सहयोगमा जिससमा पुग्न सकस भएको छ ।

नेमकिपाले कांग्रेस र एमालेमध्ये एउटासँग चुनावी तालमेल नगरे गोलाप्रथाबाट जिसस पदाधिकारी निर्वाचित हुने निश्चित छ किनभने कांग्रेस र एमाले एकापसमा तालमेल गर्न तयार छैनन् । जसले गर्दा दुइटै दलले नेमकिपा मनाउन हरसम्भव प्रयास गर्दा पनि उपलब्धि हात पारेका छैनन् ।

कांग्रेस र एमालेले नेमकिपालाई जिल्ला समन्वय समितिको प्रमुख र ३ जना सदस्य दिने स्पष्ट प्रस्ताव पठाएका थिए । तर, अहिलेसम्म नेमकिपाले अन्तिम निर्णय दिएको छैन । नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले मतदानअघिसम्म नेमकिपासँग कुरा मिल्ने दाबी गरे ।

‘हामीले एमालेसँग तालमेल नगर्ने भनिसकेका छौं’, उनले भने, ‘त्यसैले नेमकिपासँगै निरन्तर संवादमा छौं । मतदानअघिसम्म सहमति हुने विश्वास गरेका छौं ।’

सभापति थापाले चाँगुनारायणको नगर कार्यपालिका निर्वाचनमा समेत अन्तिममा नेमकिपासँग तालमेल भएको स्मरण गर्दै जिसस निर्वाचनमा पनि अन्तिममा कुरा मिल्ने बताए ।

उता एमालेका कार्यबाहक जिल्ला अध्यक्ष वासुदेव थापाले कांग्रेसलाई प्रमुख लिने भए ३ सदस्य र उपप्रमुख लिने भए ४ सदस्य दिने प्रस्ताव गरेको बताएका छन् । तर, कांग्रेसले आफूहरुको प्रस्ताव अस्वीकार गरेको सूर्यविनायक नगरपालिकाका प्रमुखसमेत रहेका थापाले भने ।

उनले नेमकिपाले भाउ खोजेकाले एमाले र कांग्रेस मिलेर जिल्ला समन्वय समिति हाँक्नुुपर्ने बताएका थिए ।

जिल्ला समन्वय समितिको निर्वाचनअन्तर्गत जेठ २८ गते मतदान हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर