अस्ट्रेलिया जाने विद्यार्थीलाई मेडिकल गर्नै सास्ती – Nepal Press

अस्ट्रेलिया जाने विद्यार्थीलाई मेडिकल गर्नै सास्ती

काठमाडौं । पछिल्लो समय अस्ट्रेलिया नेपालीहरुको शैक्षिक एवम् रोजगार गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ । कोरोना महामारीको कारण आप्रवाससम्बन्धी कार्यक्रम ठप्प भएपछि विद्यार्थी र वर्किङ होलिडे भिसामा आउने लाखौं व्यक्तिको अभाव परिपूर्ति गर्न अस्ट्रेलियाले नयाँ भिसा नीति अघि सारेको बताइन्छ ।

भिसा नीतिमा परिवर्तन गरेसँगै नेपालीहरुमा अस्ट्रेलियाको आकर्षण थप बढ्दै गएको जानकारहरु बताउँछन् । अस्ट्रेलिया जान चाहने नेपालीहरु बढ्दै जाँदा मेडिकल परीक्षण गर्न सम्बन्धन प्राप्त मेडिकल संस्थाहरुको संख्या भने बढेकाे छैन । जसले गर्दा पछिल्लो समय नेपाली विद्यार्थीहरुले निकै सास्ती भोग्नु परेको छ ।

अस्ट्रेलियाको गृह मन्त्रालयले हाल नेपालमा मेडिकल परीक्षण गर्न नर्भिक अस्पातल र इन्टरनेसनल अर्गनाइजेशन अफ माइग्रेशन (आईओएम) लाई मात्र मान्यता दिएको छ । परीक्षण गराउने आवेदन धेरै हुँदा समयमै मेडिकल गर्न नपाएको गुनासो धेरै विद्यार्थीहरुबाट आउने गरेको राष्ट्रिय शैक्षिक परामर्श संघका अध्यक्ष सन्तोष प्याकुरेल बताउँछन् ।

‘पछिल्लो समय मेडिकल परीक्षणका लागि समय पाउन कठिन भएको गुनासो धेरै विद्यार्थीहरुले गरेको सत्य हो, हाल डिमान्ड बढी छ । तर, टेस्टको लागि जम्मा २ वटामात्र संस्था छन् । त्यसले गर्दा समस्या उत्पन्न भएको हो’, उनले भने, ‘यस सन्दर्भमा अस्ट्रेलियाकै ‘होम अफेयर्स’ले निर्णय लिने भएको हुँदा हामीले केही गर्न सकिने अवस्था पनि छैन । अब केही समयमा थप गर्ने तयारी भएको छ भन्ने ब्रिफिङ हामीलाई प्राप्त भएको छ ।’

नर्भिक अस्पातलका एक कर्मचारीका अनुसार नर्भिकलाई दैनिक १४५ जनाकाे मात्र परीक्षण गर्ने अनुमति छ । जसको कारण आवेदन छिट्टै परिपूर्ती हुने र केही व्यक्तिले समस्या भोग्न परेको हुन सक्ने उनले बताए । यद्यपि केही व्यक्तिलाई अत्यावश्यक परीक्षण गर्नुपरेमा कागजात हेरी नर्भिक र आईओएम दुबै संस्थाले आवश्यक सहजीकरण गर्दै आएको उनको भनाइ छ ।

‘युरोप र अस्ट्रेलिया जाने नेपालीलाई स्वास्थ्य जॉच गर्न जम्मा दुई संस्थालाई मात्र अनुमति छ। यो सिन्डिकेटको बारेमा मिडिया चुइक्क बाेल्दैन किन ? के कति कारणले ती दुई संस्थामात्र छानिए ? ती दुई संस्थामा भएका के के पूर्वाधार अरू संस्थामा छैन ?’, पीडितहरुकाे गुनासाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर