अंश हात पार्न आफ्नै काकीमाथि गोली प्रहार – Nepal Press

अंश हात पार्न आफ्नै काकीमाथि गोली प्रहार

रुपन्देही । अंश हात पार्नका लागि पश्चिम नवलपरासीमा एक युवकले आफ्नै काकीलाई गोली प्रहार गरेका छन् ।

सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले आफ्नै ३४ वर्षीया काकी रोशनी यादवलाई पश्चिम नवलपरासीको सदरमुकाम परासीमा दिउँसै पेस्तोलले गोली प्रहार गरेका हुन् । पहिलो पटक प्रहार गरेको गोली नपड्केपछि उनले दोस्रो पटक गोली चलाएका थिए ।

सुरुमा गोली प्रहार गरेको देखेकी रोशनी आत्तिदै भागेपछि पुनः प्रहार गरेको गोलीबाट उनी बचेकी हुन् ।

जिल्ला अदालतदेखि करिब ५० मिटरको दुरीमा रहेको व्यस्त सडकमा गोली चलेपछि स्थानीय आतङ्कित बनेका थिए । हर्षरामका बाबुका दुई भाइ हुन् । दुई भाइको अंशमा गाउँमा १८ कट्ठा र सदरमुकाम परासीमा ९ धुर जग्गा रहेको उनका कानून व्यवसायीले बताएका छन् ।

सन्तानविहीन रहेका काकाको मृत्युपछि अंश खाने काकी मात्र भएको र उनलाई मारेपछि सम्पत्ति आफ्नो हुने मनसायका साथ हर्षरामले गोली हानेको हुनसक्ने आफन्तहरूले बताएका छन् ।

दुई अंश लगाएर सोमबार अदालतमा मिलापत्र जाने क्रममा हर्षरामले काकीमाथि गोली प्रहार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले घटनास्थलबाट प्रहरीले १ थान गोलीको खोका बरामद गरेको र गोली प्रहार गर्ने हर्षरामको खोजी कार्य भइरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर