काठमाडौं महानगरमा कल सेन्टर सुरु, एकै पटक १५ फोनबाट रिसिभ हुने – Nepal Press

काठमाडौं महानगरमा कल सेन्टर सुरु, एकै पटक १५ फोनबाट रिसिभ हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाको आजदेखि कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) सञ्चालनमा ल्याएको छ । नवनिर्वाचित जनप्रतिनिधिले पदबहाली गरेपछि जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो ।

निर्णय कार्यान्वयन गर्दै आजदेखि राष्ट्रिय सभा गृहमा केन्द्र सञ्चालनमा आएको हो ।

महानगरलाई उत्तरदायी स्थानीय सरकारका रूपमा स्थापित गर्न नागरिकका गुनासा सुन्ने प्रणाली विकास गरिएको महानगर प्रमुख प्रमुख बालेन्द्र शाह (बालेन)ले बताए ।

उनले भने, ‘महानगर के गर्दै छ ? जनताले सोध्न पाउनु पर्छ ।’ उनका अनुसार महानगरसँग कुनै गुनासो गर्नु छ भने वा केही सोधपुछ गर्नु छ भने निःशुल्क टेलिफोन नम्बर १६६००१०५५११ मा सम्पर्क गर्न सकिनेछ ।

सेन्टरको क्षमता एकै पटक १५ वटा टेलिफोन रिसिभ गर्न सकिने र अहिले ५ वटाबाट कामको थालनी गरिएको सूचना प्रविधि विभागका प्रमुख नवराज ढकालले जानकारी दिए ।

उनका अनुसार कल सेन्टरमा कसैले टेलिफोन गरेपछि त्यो सीडीआर ९कल डिटेल रेकर्ड० महानगरको सर्भरमा रेकर्ड हुने व्यवस्था गरिएको छ ।

गुनासो वा सोधपुछकर्तासँग कुरा गर्दागर्दै अपरेटरले उनीहरूको फोन नम्बर, फोन गरेको समय, गुनासो वा सोधपुछको विवरण, भौगोलिक नक्साजस्ता आधारभूत विवरण सफ्टवेयरमा भर्छन् ।

त्यसमा गुनासो वा सोधपुछसँग सम्बन्धित अधिकारीको विवरण पनि भरिन्छ । यो विवरण भरिसकेपछि प्रणालीले स्वचालित रूपमा गुनासो सुनुवाइ गर्ने अधिकारी, प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई एसएमएस र इमेल पठाउँछ ।

इमेलमा गुनासोकर्ताको आवाज, समस्यासँग सम्बन्धित तस्बिर, भौगोलिक नक्सा तथा विवरण समावेश हुन्छ ।

अपरेटरको काम त्यतिले मात्र पूरा नभएर भोलिपल्ट गुनासो सुनुवाइ गर्ने अधिकारी वा वडाबाट प्रगति मागेर गुनासो गर्ने व्यक्तिलाई काम कहिलेसम्ममा हुन सक्छ भन्ने खबर पनि गरिने केन्द्र सञ्चालनका परामर्शदाता नवराज गुरुङले जानकारी दिए ।

महानगरको सेवा, महानगरका वडा, विभाग, आयोजना तथा एकाइसँग सम्बन्धित सोधपुछ तथा गुनासा, महानगरीय सेवा तथा सुविधा वितरणसँग सम्बन्धित काम तथा महानगरसँग भएका अपेक्षा सम्बन्धी गुनासा तथा सोधखोजका लागि यो प्रणाली स्थापना गरिएको हो ।

अहिले यो प्रणाली कार्यालय समयमा सञ्चालन हुने र गुनासो वा सोधपुछकर्ताले फोन गरेर ५ अङ्क थिचेपछि रेकर्ड हुने व्यवस्था गरिएको छ सूचना प्रविधि विभागका प्रमुख ढकालले बताए ।

उनका अनुसार रेकर्ड भोलिपल्ट केन्द्रका कर्मचारीले सुनेर सम्बोधन गर्नेछन् ।


प्रतिक्रिया

One thought on “काठमाडौं महानगरमा कल सेन्टर सुरु, एकै पटक १५ फोनबाट रिसिभ हुने

  1. मेरो मनको कुरो भयो।तर हेलो सरकारको जस्तो भए औचित्य हुँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर