आयोजकबाटै यौन दुर्व्यवहार भएको सम्झदै चलचित्र पत्रकारले गरिन् पुरस्कार नलिने घोषणा – Nepal Press

आयोजकबाटै यौन दुर्व्यवहार भएको सम्झदै चलचित्र पत्रकारले गरिन् पुरस्कार नलिने घोषणा

काठमाडौं । चलचित्र पत्रकार रिना मोक्तानले आफूलाई चलचित्र पत्रकार संघले दिने भनेको पुरस्कार बहिष्कार गर्ने घोषणा गरेकी छन् । उक्त पुरस्कारको आयोजक कमिटीका एक पदाधिकारीले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै उनले पुरस्कार नलिने बताएकी हुन् ।

सामाजिक सञ्जालमा रिनाले लेखेअनुसार उनीमाथि पाँच वर्षअघि यौन दुव्यवहार भएको थियो । उनलाई दुर्व्यवहार गर्ने व्यक्ति अहिले घोषित ‘चलचित्र पत्रकारिता सम्मान र पुरस्कार’ को आयोजक र निर्णायकमण्डल सदस्यसमेत रहेको उनको भनाइ छ ।

‘मेरो कामको मूल्यांकन गरिदिएकोमा धन्यवाद । तर, घोषणा भएदेखि नै पुरस्कार लिने कि नलिने भन्ने दुविधाले मलाई सताइरह्यो । घोषणासँगै पुरस्कारका आयोजक कमिटीका एक पदाधिकारीले करिब पाँच वर्षअघि गरेको यौन दुर्व्यवहारको घटना ताजा बनाइदियो । ममाथि यौन दुर्व्यवहार गर्ने व्यक्ति संलग्न निर्णायक मण्डलबाट पुरस्कार नलिने निर्णय गरेकी छु,’ रिनाले लेखेकी छन् ।

उक्त संस्थाका अन्य पदाधिकारीको साथ-सहयोग पहिलो पनि रहेको र अब पनि सहकार्य हुने उनको भनाइ छ ।

उनी थप्छिन्, ‘महिलालाई आफू यौन हिंसापीडित हो भनेर परिचय दिन पक्कै सहज छैन । तर, आत्मविश्वास र आत्मसम्मानपूर्ण जीवनको महसुस गर्ने चाहनाले यो स्टाटस लेखेको हुँ ।’

चलचित्र पत्रकार संघले तीन वर्षदेखि थाती रहेको पुरस्कार तथा सम्मानबारे गत वैशाखमा निर्णय गरेको थियो । कान्तिपुर दैनिकमा आबद्ध रिनालाई २०७७ सालका लागि चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार दिने निर्णय त्यसबेला नै भएको हो । उक्त पुरस्कार गत ७ जेठमा नै वितरण गर्ने कार्यक्रम थियो ।

तर, चुनावका कारण कार्यक्रम स्थगित भएको छ । पुरस्कार अब कहिले वितरण हुन्छ भन्ने टुंगो नलागिसकेको अवस्थामा रिनाले बहिष्कार घोषणा गरेकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर