मन्त्री बन्नेमा जीवनराम अझै विश्वस्त, प्राविधिक कारणले मात्रै शपथ ग्रहण रोकिएको दाबी – Nepal Press

मन्त्री बन्नेमा जीवनराम अझै विश्वस्त, प्राविधिक कारणले मात्रै शपथ ग्रहण रोकिएको दाबी

कैलाली । नेकपा एकीकृत समाजवादीको तर्फबाट नयाँ मन्त्रीमा सिफारिस भएका पाँच नेता हिस्सिएका छन् । आज शपथग्रहणका लागि दौरा सुरुवाल रेडी गरेर बसेका उनीहरूको मन्त्री बन्ने नै अनिश्चित भएको छ ।

हिजो मात्रै नेकपा एसले आफ्नै पार्टीका ४ जना मन्त्री हटाइ नयाँ नियुक्त गर्ने निर्णय लिएको थियो । तर, प्रधानमन्त्रीको असहमतिपछि उक्त निर्णय अलपत्र परेको हो । यससँगै मन्त्री बन्न खुट्टो उचालेकाहरू अन्योलमा परेका छन् ।

नेकपा एसले जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीराचन्द्र केसीलाई मन्त्री बनाउन प्रधानमन्त्री समक्ष सिफारिस गरेको थियो ।

अहिले स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई सोही मन्त्रालयमा ‘फुलमन्त्री’ दिन पनि सिफारिस गरिएको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले पुराना मन्त्री हटाउन मानेका छैनन् ।

उनले सत्ता साझेदार दलका शीर्ष नेताहरूलाई तत्कालै मन्त्रिपरिषद् पुनर्गठन नगर्ने विषयमा सहमत गएका छन् ।

यता मन्त्रीको लागि सिफारिस भएकाहरू भने पार्टीको निर्णय कार्यान्वयन हुनेमा अझै विश्वस्त छन् । पर्यटन मन्त्रीमा पार्टीबाट सिफारिस भएका नेकपा एकीकृत समाजवादीका सचिव समेत रहेका जीवनराम श्रेष्ठले पार्टीले गरेको निर्णय कार्यान्वयन हुने बताए ।

‘जे निर्णय भएको थियो त्यही हुन्छ, अरू केही हुँदैन,’ उनले नेपाल प्रेसलाई भने ।

गठबन्धनका दलहरूबीच तत्काल मन्त्रीपरिषद् पुनर्गठन नगर्ने सहमति भएको समाचार नै गलत भएको श्रेष्ठले टिप्पणी गरे ।

‘प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दलका शीर्ष नेताहरूलाई तत्कालै मन्त्रिपरिषद् पुनर्गठन नगर्ने विषयमा सहमत गराएको कुरा आएको छ त ?’ भन्ने नेपाल प्रेसको प्रश्नमा उनले भने ‘त्यो गलत कुरा हो गलत समाचार हो ।’

शपथ ग्रहणमा केही प्राविधिक समस्या भएको भन्दै त्यो मिलाउने काम भइरहेको समेत श्रेष्ठले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर