अर्घाखाँचीका एक्ला दलित वडाध्यक्ष बाबुराम – Nepal Press

अर्घाखाँचीका एक्ला दलित वडाध्यक्ष बाबुराम

रुपन्देही । अर्घाखाँचीका ६ वटा स्थानीय तहमा ६१ वटा रहेका छन् । जहाँ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट वडा अध्यक्षलगायतका जनप्रतिनिधिहरु चुनिएका छन् ।

जिल्लाका ६१ जना वडा अध्यक्षमध्ये दलित समुदायबाट एकजनामात्रै निर्वाचित भएका छन् । भूमिकास्थान नगरपालिका वडा न ४ धारापानीमा निर्वाचित बाबुराम पन्थी सुनार एकजनामात्रै दलित समुदायका वडा अध्यक्ष बनेका हुन् । गणित विषयमा स्नातकोत्तर बाबुराम यसअघि पनि सोही वडाको अध्यक्ष तथा पालिकाको प्रवक्ता थिए । यो पटक पनि उनले सोही जिम्मेवारी पाएका छन् ।

राष्ट्रिय जनमोर्चाबाट उम्मेदवारी दिएका बाबुराम ९८५ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका कुलराज बन्जाडेले ३३० मत पाएका थिए । सामाजिक परिवर्तनका लागि उनी १२ वर्षको उमेरदेखि नै राजनीतिमा लागेका थिए ।

बाबुराम २०५२/०५३ सालमा अखिल छैठौं जिल्ला सदस्य भएका थिए । २०५७ सालमा रक्तिम सांस्कृतिक अभियानको जिल्ला सदस्य र समता समाजको केन्द्रीय सदस्य भएका बाबुराम २०६१ सालमा अखिल नेपाल युवक संघको जिल्ला अध्यक्ष, २०६४ मा केन्द्रीय सदस्य, २०६६ सालमा केन्द्रीय महासचिव भएका थिए ।

उनी पार्टीको २०७४ सालमा सम्पन्न जिल्ला अधिवेशनबाट पार्टीको जिल्ला सचिवमा निर्वाचित भएका थिए । ठूला राजनीतिक दलले दलितलाई अवसर नदिएका बखतमा सुनार दोस्रो पटक वडा अध्यक्षमा राष्ट्रिय जनमोर्चाबाट चुनावमा बाजी मार्न सफल भएका हुन् ।

नेकपा माओेवादी केन्द्रले भूमिकास्थान नगरपालिका वडा नं ७ मा टक सुनारलाई उम्मेदवार बनाएको थियो । तर, उनले जित हासिल गर्न सकेनन् । संविधानले व्यवस्था गरेअनुसार सदस्य बनाए पनि अध्यक्षमा राजनीतिक दलले दलित समुदायकालाई उम्मेदवार बनाएका थिएनन् ।

आरक्षण कोटामा बाहेक अन्य पदमा यो समुदायबाट सबै दलले अत्यन्तै कम उम्मेदवारी दिएकाले यस्तो भएको पत्रकार एवं अधिकारकर्मी अनिल नेपाली बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर