सस्तोमा सुन भन्दै ३५ लाख लुटपाट, प्रहरीकै संलग्नता – Nepal Press

सस्तोमा सुन भन्दै ३५ लाख लुटपाट, प्रहरीकै संलग्नता

काठमाडौं । काठमाडौंको लैनचौरमा दुई साताअघि ३५ लाख रूपैयाँ लुटपाटको घटनामा बहालवाला दुई प्रहरीसमेतको संलग्नता देखिएको छ ।

गत जेठ ८ गते लैनचोरको एक खाजा घरमा सुन किन्न भन्दै ३५ लाख रूपैयाँ बोकेर दुईजना पुगेका थिए । सस्तोमा सुन पाउने भन्दै उनीहरूलाई केही दिनअघि सुनको नमूना देखाइएको थियो ।

पैसा लिन खाजा घरमा कुरेर बसिरहेका सुन बिक्री गर्ने व्यक्ति ब्यागमा पैसा देखेपछि सुन लिएर आउने भन्दै निस्किएका थिए । त्यसको केही समयमा आफूहरू प्रहरी भएको भन्दै उनीहरू नक्कली सुन कारोबार गर्ने भनेर ३५ लाख रुपैयाँ रहेको झोला लिएर निस्किएका थिए ।

प्रहरीले कमलपोखरी प्रहरी वृत्तमा दरबन्दी भएका हवल्दार ३४ वर्षीय शालिकराम नेपाली र नुवाकोटको घ्याङफेदी घर भएका २५ वर्षीय पेम्बा तामाङलाई पक्राउ परेको छ । पूर्वप्रहरी र बहालवाला एक हवल्दारसहित ४ जना फरार छन् ।

घटनास्थलमा रहेको सीसीटिभीमा लुटपाट गर्ने समूहमा ६ जना देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका नेपाली निलम्बनमा परेर फुकुवा भएको एक महिना मात्र भएको थियो । बहालवाला अर्का हवल्दार काठमाडौं उपत्यकाकै एक युनिटमा दरबन्दी रहेको प्रहरीले जनाएको छ । घटनाको प्रारम्भिक अनुसन्धानमा प्रमुख योजनाकार शालिकरामका भतिज रहेको पाइएको छ । उनी फरार छन् ।

३५ लाख लुटिएका व्यक्तिसँग ६ महिनादेखि उनीहरूको डिल हुँदै आएको अनुसन्धानमा खटिएका एक अधिकारीले बताए । घटनास्थलमा आरोपी शालिकरामको मोबाइल भेटिएपछि प्रहरीलाई अनुसन्धानमा सजिलो भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर