फेसबुके प्रेमीको शिकार बनिन् किशोरी, सातजनाको सामूहिक बलात्कारबाट बेहोस – Nepal Press

फेसबुके प्रेमीको शिकार बनिन् किशोरी, सातजनाको सामूहिक बलात्कारबाट बेहोस

रुपन्देही । बाँकेमा १६ वर्षीया किशोरी फेसबुकबाट बनेका प्रेमीले जन्मदिन मनाउन बोलाएर सामूहिक बलात्कारमा परेकी छन् । किशोरीमाथि बलात्कारको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

राप्ती गाउँपालिकाकी ती किशोरीको जन्मदिन मनाउन बाँके र बर्दियाको सिमानामा पर्ने मानखोलामा बोलाएर दिउँसो घुमफिर गरी साँझ सामूहिक बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

बाँके प्रहरीले बलात्कार अभियोगमा हेमराज थारु र उनका साथीहरू विक्रान्त थारु, निराजन थारु, प्रविण थारु, राजकुमार थारुसहित सहयोगीका रुपमा विश्वनाथ थारु र निर्देशन थारुलाई पक्राउ गरेको छ । उनीहरूमध्ये एकजना १६ वर्ष र अन्य २३ देखि २५ वर्ष उमेर समूहका छन् ।

बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार बैजनाथ गाउँपालिका-८ का १७ वर्षीय हेमराज थारु र ती किशोरी एक वर्षअघि फेसबुकमा साथी बनेका थिए ।

दुईजना फेसबुकबाटै प्रेममा परेका थिए । हेमराजले नै बोलाएपछि सार्वजनिक बस चढेर ती किशोरी मानखोला पुगेकी थिइन् । उनीहरूले साँझ मानखोलाको फूलबारीमा पुगी जन्मदिन मनाउने भन्दै मदिरा खाने र किशोरीलाई समेत खुवाउने गरेका थिए ।

किशोरी मदिराले लठ्ठिएपछि हेमराज, विक्रान्त, निराजन, प्रविण र राजकुमार थारुले बलात्कार गरेको प्रहरीले जनाएको छ । सामूहिक बलात्कारपछि बेहोस भएकी किशोरीलाई मध्यरातमै मोटरसाइकलमा राखेर बाँकेको बैजनाथ-८ पिपरीस्थित विक्रान्त थारुको बंगुर फर्ममा लगिएको थियो । त्यहाँ पनि विक्रान्त र निराजनले बलात्कार गरेका थिए ।

बलात्कारपछि बेहोस अवस्थामै भे. ३ प ३५२७ नम्बरको मोटरसाइकलको बीचमा राखेर लैजाँदै गर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । विश्वनाथ र निर्देशन थारुले मोटरसाइकलको बीचमा अर्धचेत अवस्थामा किशोरीलाई लैजादै गरेको भेटेपछि प्रहरीले सोधपुछ गरेपछि घटना सार्वजनिक भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर