भुसालको बचाउ गर्दै भीम रावलले भने- पार्टी उल्टो बाटो हिँड्दा झन् पराजय हुन्छ


काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पछिल्लो समय पार्टीभित्र बढ्दो विवादबारे प्रतिक्रिया दिँदै भनेका छन्– विगतको संस्थागतरुपमै समीक्षा गरौं, नत्र आगामी चुनावमा झन् ठूलो पराजय भोग्न बाध्य हुनेछौं ।
पार्टी अनुशासन आयोगले नेता घनश्याम भुसाललाई कारबाही सिफारिस गरेपछि उत्पन्न विवादप्रति लक्षित गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘देश, जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाइ राष्ट्रिय स्वाधीनता, स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता हो । यसका लागि आगामी चुनाव जित्नु पर्छ’, उनले भनेका छन्, ‘कमजोरीको संस्थागतरूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्छ।यसो नगरी उल्टो बाटो हिँड्दा झन् पराजय हुनसक्छ।’
भुसालले एक टेलिभिजन अन्तरवार्तामा पार्टी अध्यक्ष ओलीको ‘म’वादका कारण स्थानीय चुनावमा पराजय व्यहोर्नुपरेको बताएका थिए । भुसालको भनाइ पार्टीको मर्मविपरीत भएको भन्दै अनुशासन आयोगले कारबाही सिफारिस गरेको थियो । रावल र भुसाल एकै समूहका हुन् ।
त्यस्तै उनले अर्को प्रसंगमा भाग पुर्याउन पालैपालो मन्त्री बनाउनु घातक भएको टिप्पणी गरेका छन् । नेकपा एसले भाग पुर्याउन ६ महिनामै मन्त्री फेर्न लागेकोबारे उनले भनेका छन्– अमुक व्यक्तिहरूलाई पालैपालो ६ महिने मन्त्री बनाउन र विपरीत सिद्धान्तका दलसंग पद र सत्ताको लागि गठबन्धन गरी स्वार्थसाधन गर्न नेपालका कतिपय दल र नेता निर्वस्त्र मैदानमा देखिनु देश, जनता र लोकतन्त्रको लागि अत्यन्त घातक हो। देश र जनताको निस्वार्थ सेवाको राजनीति व्यवहारमा देखिनु पर्छ।