बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिलाई डब्लूएचआरको सम्मान, ‘फरेन्सिक ल्याब’ स्थापना गर्न आग्रह – Nepal Press

बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिलाई डब्लूएचआरको सम्मान, ‘फरेन्सिक ल्याब’ स्थापना गर्न आग्रह

काठमाडौं । मानव अधिकारका लागि महिला, एकल महिला समूहकी संस्थापक अध्यक्ष लिली थापाले बुढानीलकण्ठ नगरपालिकासँग बलात्कारजन्य हिंसाको पहिचान गर्ने प्राविधिक संयन्त्र ‘फरेन्सिक ल्याब’ स्थापनाका लागि आग्रह गरेकी छन् ।

बुढानीलकण्ठ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको सम्मानका लागि आज आफ्नै प्रधान कार्यालय छहारी भवनमा आयोजित कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष थापाले यस्तो बताएकी हुन् ।

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य समेत रहेकी थापाले अहिले नेपालमा नेपाल प्रहरीको एउटा मात्रै फरेन्सिक ल्याब रहेको भन्दै बुढानीलकण्ठ नगरपालिकाले पनि एउटै छुट्टै फरेन्सिक ल्याब सञ्चालन गर्न सके महिलामाथि हुने बलात्कारजन्य घटनाका दोषी पत्ता लगाउन र महिलालाई न्याय दिन सजिलो हुने सुझाव दिइन् ।

‘धेरै पनि लगानी गर्न पर्दैन, ५० देखि ६० लाखसम्म लगानी गरेर त्यो संयन्त्र कुनै अस्पताललाई सञ्चालन गर्न दिए हुन्छ’ थापाले भनिन्, ‘यसो गर्दा अरूभन्दा फरक तरिकाले र न्यायको पक्षमा केही गरेको भन्ने सन्देश जान्छ ।’

त्यस्तै थापाले नगरपालिकाका हरेक वडामा एक जना सदस्यलाई एकल महिलालगायत आम महिलाका कुरा सुन्ने फोकल पर्सन तोक्न पनि आग्रह गरेकी छन् ।

सम्मान कार्यक्रममा बोल्दै बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले मान्छे मरेर जाँदा साथमा लाने चिज केही नहुने भएकाले समाजका लागि नमुना काम गर्ने इच्छा रहेको बताए ।

नगर प्रमुख अधिकारीले जसरी बुढानीलकण्ठ नगरपालिकाका प्रधान कार्यालय राखेर एकल महिला समूहले एकल महिलाको लागि मात्रै नभई आम नगरवासीको छहारीको रूपमा काम गरिरहेको छ, त्यसै गरी जनप्रतिनिधिहरूले पनि समाजको लागि ऐतिहासिक काम गर्न सक्नुपर्ने बताए ।

नगरपालिकाका उपप्रमुख अनिता लामाले समाज रूपान्तरण र भावनात्मक चेतको विकासका लागि लिली थापाहरूले गर्नुभएको योगदानको प्रशंसा गरिन् ।

‘मुद्दाहरू सही ढंगले उठाउन सक्यो र काम गर्ने नियत असल भयो भने कुनै पनि संगठनमा ‘क्याडर’हरु जन्माउन सकिने रहेछ’ उपप्रमुख लामाले भनिन्, ‘लिली थापा र एकल महिलाको संगठनबाट राजनीतिक पार्टीहरूले पनि पाठ सिकुन् ।’

वडा नम्बर ९ की वडा अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेयले एकल महिलालाई आत्मनिर्भर बनाउन आफूहरूले सक्दो पहल गर्ने बताइन् ।

कार्यक्रममा बोल्दै मानव अधिकारका लागि महिला, एकल महिला समूहकी उपाध्यक्ष विमला पराजुलीले दुःख पीडामा न्याय खोज्न जाने एकल महिलाहरूलाई निराश बनाएर नपठाउन आग्रह गरिन् ।

एकल महिला समूहका कानुन विभागका कार्यक्रम प्रबन्धक राजिन रायमाझीले एकल महिलालगायत आम महिलाका मुद्दाप्रति संवेदनशील बनाउन जनप्रतिनिधिसँग कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् ।

जनप्रतिनिधिहरूलाई समूहको केन्द्रीय कार्यालय (छहारी घर) मा रहेको संस्थाको इतिहास झल्काउने सङ्ग्रहालय पनि अवलोकन गराइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *