हरिहर र नीताले असार २४ मा लगनगाँठो कस्ने, बिहे र रिसेप्सन दुवै याक एन्ड यतिमा – Nepal Press

हरिहर र नीताले असार २४ मा लगनगाँठो कस्ने, बिहे र रिसेप्सन दुवै याक एन्ड यतिमा

काठमाडौं । नायिका नीता ढुंगाना र नायक हरिहर अधिकारीको विवाहको तिथि जुरेको छ । उनीहरूले आउँदो असार २४ गते लगनगाँठो भएका कस्ने भएका छन् ।

नीता र हरिहर प्रेममा परेको केही वर्ष भयो । उनीहरूले आफ्नो प्रेम सार्वजनिक रूपमा स्वीकारेका पनि छैनन्, लुकाएका पनि छैनन् । विवाहको विषयमा भने दुवैले मौनता साँधिरहेका छन् ।

स्रोतका अनुसार आउँदो २४ असारमा विवाह र २६ असारमा रिसेप्सेनको टुंगो लागिसकेको छ । दुवै समारोह राजधानीको पाँचतारे होटल याक एन्ड यतिमा आयोजना हुने छन् । यसअघि नायिकाद्वय केकी अधिकारी र वर्षा शिवकोटीभन्दा फरक नीता–हरिहरको विवाह भने तामझामपूर्ण हुने छ । चलचित्र क्षेत्रका धेरै कलाकारहरूलाई विवाह वा रिसेप्सनमा निम्त्याउने तयारी गरिएको स्रोतले बतायो ।

नीता हरिहरको विवाहमा भारतीय कलाकार प्रदीप सिंह रावत पनि सहभागी हुने तय भएको छ । भारतको सुपरहिट चलचित्र ‘गजनी’ मा खलनायकको भूमिकाबाट ख्याति कमाएका यी कलाकार नीताले निर्माण गर्न लागेको चलचित्र ‘ह्रस्व–दीर्घ’ मा अनुबन्धित छन् ।

विवाहको विषयमा हरिहरलाई नेपाल प्रेसले प्रश्न गर्दा उनले खुल्न चाहेनन् । अहिलेसम्म विवाहको टुंगो नलागेको उनले दाबी गरे ।

‘हामी छलफलमै छौँ, टुंगो लागेपछि भनौँला नि’ अधिकारीले भने ।

नीता र हरिहरको पहिलो भेट नीताकै घरमा भएको थियो । नीताको भनाइ अनुसार उनका भाइ र हरिहर साथी थिए । भाइसित भेट्न घरमा आउँदा उनीहरूबिच हाई हेल्लो भएको थियो । नीताको जन्मदिनमा आयोजित पार्टीमा हरिहर सहभागी भएपछि उनीहरूको सम्बन्ध प्रगाढ बन्न थालेको थियो ।

नीता लामो समयदेखि नेपाली चलचित्रमा सक्रिय छिन् । उनले ७ वर्षकै उमेरमा बालकलाकार भएर अभिनय गरेकी थिइन् । हरिहर भने चलचित्रमा आएको धेरै भएको छैन । ज्योतिष पेसामा रमाइरहेका उनले केही चलचित्रमा नायक भएर अभिनय गरेका छन् । तर चलचित्रमा उनलाई खासै सफलता मिलेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *