चौकुनेको कार्यपालिका गठनमा एमाले-माओवादी गठबन्धन, जिससमा पनि मिल्ने प्रयास – Nepal Press

चौकुनेको कार्यपालिका गठनमा एमाले-माओवादी गठबन्धन, जिससमा पनि मिल्ने प्रयास

सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकाको कार्यपालिका गठनमा एमाले र माओवादीबीच गठबन्धन गर्ने सहमति भएको छ ।

जेठ १८ गते हुने गाउँ कार्यपालिकाको चुनावमा दुई दलबीच गठबन्धन हुने सहमति भएको हो । त्यस्तै जिल्ला समन्वय समिति गठनमा पनि दुई दलबीच तालमेलको प्रयास भइरहेको छ ।

स्थानीय तहको निर्वाचनमा पालिकास्तरमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी तालमेल भएर पालिका अध्यक्षमा माओवादीका खड्ग विक निर्वाचित भएका थिए । यहाँ उपाध्यक्षमा कांग्रेसका नरबहादुर वान्तोला निर्वाचित भएका थिए । यहाँ एमालेले चार, माओसवादी र कांग्रेसले दुई–दुई वडा जितेका छन् ।

नेकपा माओवादी सुर्खेतले चुनावको समयमा आफ्नो दलबाट ईमान्दारीका साथ रुख चिह्नमा भोट हाले पनि कांग्रेसले बेइमानी गरेको निष्कर्ष निकालेको छ ।

कांग्रेसकै कारण वीरेन्द्रनगरको उपमेयर गुमाएको माओवादी केन्द्रका कार्यकर्ताको बुझाइ छ । कांग्रेसलाई सवक सिकाउन भन्दै माओवादी एमालेसँग सहकार्य गर्न तयार भएको हो ।

जिल्ला समन्वय समितिका लागि १८ भोटमध्ये नौ भोट एमाले एक्लैको छ भने एक भोट माओवादीको छ । बाँकी आठ भोट कांग्रेससँग छ । यदि एमाले र माओवादी नमिलेको खण्डमा जिल्ला समन्वय समितिमा गोलाप्रथाबाट नौजना चयन हुनेछन्, तर चौकुने गाउँपालिकामा शुक्रबार भएको सहमतिले एमाले र माओवादीले समन्वय समितिमा गठबन्धन बनाउने सम्भावना बढेको हो ।

दुई खुल्ला सदस्य र चार निर्वाचित महिला सदस्य गरी छ पदका लागि हुने निर्वाचनमा गठबन्धन दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच कसले कति सदस्य लिने भन्नेमा सहमति हुन सकेन ।

चौकुनेमा उपाध्यक्षसहित चार वडा जितेको नेपाली कांग्रेसले सुरुमा, चार कार्यपालिका सदस्य पदमा उम्मेदवारी दिने अडान राखेको थियो । यो प्रस्ताव माओवादी केन्द्रले अस्वीकार गरी तीन–तीन सदस्य पदमा उम्मेदवारी दिने प्रस्ताव ल्याएको थियो । जसमा सहमति नभएपछि माओवादी एमालेसँग मिल्न तयार भएको थियो ।

नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट खुल्ला सदस्यमा शंकर कामी(नेकपा एमाले) र नेकपा माओवादी केन्द्रबाट उजिरे ढोलीले उम्मेदवारी दिएका छन् ।
यस्तै महिला सदस्यमा एमालेले कमला विकलाई उम्मेदवार बनाउँदा माओवादी केन्द्रले भने अम्बिका बिक, पद्मा विक र हजुरा विष्टलाई उम्मेदवार बनाएको छ ।

यसैगरी नेपाली कांग्रेसले भने खुल्ला सदस्यमा दिपक विक, अम्मरे कामीलाई उम्मेदवार बनाउँदा महिला सदस्यमा राधिका विक, अमृता बोहरा, पंचकली बुढा र उज्जादेवी विकलाई उम्मेदवार बनाएको निर्वाचन अधिकृतको कार्यालय चौकुनेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर