रुपन्देही : पालिका प्रमुखमा दोहोरिने रहर – ११ जना मैदानमा आउँदा १ जना मात्रै सफल – Nepal Press

रुपन्देही : पालिका प्रमुखमा दोहोरिने रहर – ११ जना मैदानमा आउँदा १ जना मात्रै सफल

रुपन्देही । रुपन्देहीका १६ स्थानीय तहमा अघिल्लो स्थानीय तहमा नेतृत्व लिएका ११ जना दोहोरिन खोजे पनि एक जना मात्रै विजयी भएका छन् ।

रुपन्देहीका १६ वटा स्थानीय तहबाट ११ जना पालिका प्रमुख/अध्यक्षहरूले यस पटक पनि सोही पदमा उम्मेदवारी दिएका थिए । तर यसअघि निर्वाचित १० जना पालिका प्रमुखले निर्वाचनमा पराजित भएका छन् ।

रुपन्देहीको मायादेवी गाउँपालिकाका ध्रुवनारायण चौधरी मात्रै यसरी दोहोरिएर विजयी हुने भाग्यमानी उम्मेदवार भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार चौधरी दोस्रो पटक गाउँपालिकाको नेतृत्व गर्ने अवसर पाएका हुन् ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसबाटै गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका चौधरी वैशाख ३० गते सम्पन्न निर्वाचनमा पनि सोही गाउँपालिकाबाट कांग्रेसबाटै अध्यक्षका उम्मेदवार बनेका थिए ।

मायादेवीमा निर्वाचित चौधरीले ५ हजार ३ सय ८३ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का उम्मेदवार रामअधारे यादवले ४ हजार ९ सय ८८ मत प्राप्त गरेका छन् ।

त्यसो त कतिपय पालिका प्रमुखहरूले पार्टी नै परिवर्तन गरेर समेत सोही पदमा उम्मेदवारी दिए पनि विजयी हुन नसकेका हुन् ।

त्यस्तै अघिल्लो निर्वाचनमा निर्वाचित भएको र यस पटक पनि सोही पार्टीबाट उम्मेदवार बनेका सैनामैना नगरपालिकाका चित्र बहादुर कार्की, देवदह नगरपालिकाका हिरा बहादुर केसी, सियारी गाउँपालिकाका अयोध्या थारु र शुद्धोधन गाउँपालिकाका किशुनचन्द्र चौधरी पनि यस पटक पराजित भएका छन् ।

देवदहका हिराबहादुर केसी नेपाली कांग्रेसबाट र अयोध्या थारु र किशुनचन्द्र चौधरी जना एमालेबाट उम्मेदवार बनेका थिए ।

२०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम, नेपाल हाल (जसपा) बाट रोहिणी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका सनोज कुमार यादव पनि नेकपा एमाले प्रवेश गरी पुनः अध्यक्षको उम्मेदवार बनेका थिए । उनी पराजित भएका छन् । रोहिणीमा जसपाका विद्याप्रसाद यादव अध्यक्षमा निर्वाचित भएका छन् ।

तत्कालीन संघीय समाजवादी फोरम नेपाल हाल जनता समाजवादी पार्टी (जसपा) बाट मर्चवारी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका केशवनन्द बनियाले निर्वाचनको मुखमा जनता समाजवादी पार्टी (जसपा) विभाजन पछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका थिए ।

यस पटकको निर्वाचनमा बनिया पराजित भएका छन् । मर्चवारीमा हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीका गया प्रसाद बरई निर्वाचित भएका छन् । कांग्रेसबाट टिकट नपाएपछि बरई जनता प्रगतिशील पार्टीमा आबद्ध हुँदै उम्मेदवार भई अध्यक्षमा निर्वाचित भएका हुन् ।

जसपाबाट निर्वाचित गैंडहवा गाउँपालिका बच्चुलाल केवट र कोटहीमाई गाउँपालिकाका चन्द्र भूषण यादव पनि दोस्रो पटकका लागि पराजित भएका छन् । गैडहवामा एमालेका सुरेन्द्र पौड्याल र कोटहीमाईमा लोसपाका चन्द्र भूषण त्रिपाठी निर्वाचित भएका छन् ।

पार्टी फेरेर उम्मेदवार बने पनि विजयी हुन सकेनन्

तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट सम्मरीमाई गाउँपालिकाको अध्यक्ष जितेका जितेन्द्रनाथ शुक्ला (बब्लु) नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरी अध्यक्षका उम्मेदवार बनेका थिए ।

अघिल्लो निर्वाचनपछि मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक नेपाली कांग्रेसमा समाहित भएपछि एमाले प्रवेश गरेका शुक्ला पछि एमाले परित्याग गर्दै जनमत पार्टीमा प्रवेश गरेका थिए ।

निर्वाचनको केही महिना पहिले नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका शुक्ला यस पटकको निर्वाचनमा भने पराजित भएका छन् । सम्मरीमाई गाउँपालिकामा नेपाली कांग्रेसका विनोद कुमार श्रीवास्तव निर्वाचित भएका छन् ।

गत स्थानीय तहको निर्वाचनमा लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा निर्वाचित भएका मनमोहन चौधरी यस पटक उम्मेदवार बने पनि पराजित भए । अघिल्लो निर्वाचनमा स्वतन्त्रबाट उठेर निर्वाचन जितेका चौधरीले बीचमा जसपा र निर्वाचनको मुखमा लोसपा प्रवेश गरेका थिए । लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका सजरुद्दीन खान निर्वाचित भएका छन् ।

उपप्रमुखमा दोहोरिए ६ जना, ३ पराजित

प्रमुखमा १ जना मात्रै दोहोरिए पनि उपप्रमुखमा भने दोहोर्‍याएर निर्वाचित हुने ६ जना छन् । सैनामैना नगरपालिकाकी उपप्रमुख बिना राना, देवदहकी विद्यालक्ष्मी गुरुङ, तिलोत्तमाकी जगेश्वरीदेवी चौधरी, शद्धोधनकी शान्तिदेवी ज्ञवाली, सम्मरीमाईकी कुमारी प्रियंका शाही सिंह र रोहिणीकी शिवकान्ति हरिजन पुनः सोही पदमा निर्वाचित भएका हुन् ।

त्यसै गरी अघिल्लो निर्वाचनमा एमालेबाट सियारी गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएकी अमृता गुरुङ यस पटक पराजित भएकी छन् ।

त्यस्तै अघिल्लो निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट मर्चवारी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित सुनिता कलवार र मायादेवी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित तारादेवी यादव यस पटक पराजित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर