काठमाडौं महानगरको ‘पपुलर भोट’मा एमाले पहिलो, माओवादी राप्रपाभन्दा पछि (विवरणसहित) – Nepal Press

काठमाडौं महानगरको ‘पपुलर भोट’मा एमाले पहिलो, माओवादी राप्रपाभन्दा पछि (विवरणसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाको अन्तिम नतिजा अनुसार प्रमुख राजनीतिक दलका ७० हजार मतदाताले मेयरमा स्वतन्त्र उम्मेदवारलाई रोजेको देखिएको छ ।

प्रमुख पाँच दलका वडाध्यक्षका उम्मेदवारहरूले पाएको कुल मतमध्येबाट ६९ हजार ७८९ मत स्वतन्त्र उम्मेदवारतर्फ गएको देखिएको हो ।

३२ वटै वडामा वडाध्यक्ष उठाएको नेकपा एमाले वडाध्यक्षका उम्मेदवारले पाएको मतको योगफलमा महानगरेको पहिलो दल बनेको छ । जसका लागि उसका वडाध्यक्षका उम्मेदवारहरूले कुल ६२ हजार ७७१ मत पाएका छन् । जसमा १२ वडाध्यक्ष जितेका छन् ।

तर एमालेबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितले सो मतभन्दा २४ हजार ९ मत कम पाएका छन् । जुन मतमध्ये बढी जसो मत स्वतन्त्रतर्फ गएको देखिन्छ । स्थापितले ३८ हजार ११७ मत पाएर तेस्रो स्थानमा चित्त बुझाएका छन् ।

यस्तै ३२ मध्ये ३१ वडामा नेपाली कांग्रेसले वडाध्यक्ष उठाएको थियो । जसमा उसका ३१ वडाध्यक्षका उम्मेदवारहरूले कुल ६२ हजार १२६ मत पाएका छन् ।

कांग्रेसलाई सत्तारूढ गठबन्धनका अन्य प्रमुख दलहरू नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको पनि समर्थन थियो । जसमा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारहरूले कुल २ हजार २८१ मत प्राप्त गरेका छन् भने, नेकपा एसका वडाध्यक्षका उम्मेदवारहरूले १४ हजार २५९ मत पाएका छन् ।

यसरी गठबन्धनका तीन वटै दलका वडाध्यक्षहरूले पाएको मतको योगफल ७८ हजार ६६६ मत हुन आउँछ । तर, गठबन्धनका तर्फबाट मेयरकी उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले भने त्यसमध्येबाट ५० प्रतिशत मत पनि पाउन सकिनन् । उनले ३८ हजार ३४१ मत मात्रै पाएकी छन् । जुन गठबन्धन दलका वडाध्यक्षका उम्मेदवारले पाएको कुल मतमध्ये ४० हजार ३२५ मत कम हो ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडाध्यक्षका उम्मेदवारहरूले ल्याएको कुल मतको झण्डै आधा मत राप्रपाका मेयरका उम्मेदवारभन्दा बाहिर गएको छ । राप्रपाका वडाध्यक्षका उम्मेदवारहरूले कुल ११ हजार २२५ मत ल्याउँदा मेयरका उम्मेदवार मदनदास श्रेष्ठले भने जम्मा ५ हजार ७७० मत मात्रै ल्याएका छन् ।

यसरी हेर्दा प्रमुख दलबाट मेयर पदमा बाहिर गएको यो मतमध्ये अधिकांश मत स्वतन्त्र उम्मेदवारहरू बालेन्द्र साह र सुमन सायमीले तानेको देखिन्छ । साहले जित सुनिश्चित हुने गरी प्रमुख दलका मतदाताबाटै मत तान्न सफल भएको देखिन्छ । उनी ६१ हजार ७६७ मतसहित विजयी भएका छन् ।

यस्तै बाँकी मत सायमीतर्फ गएको पनि सहजै अनुमान लगाउन सकिन्छ । उनले १३ हजार ७७० मत पाएका छन् । दुबैजनाले पाएको मतमा केही अंश स्वतन्त्र अभिमत प्रकट गर्ने मतदाताको पनि मत देखिन्छ ।

उपमेयरतर्फ सुनिताले एमालेको मतमा पाइन थप मत

उपमेयरमा भने एमाले उम्मेदवार सुनिता डंगोलले एमालेको मतभन्दा बढी मत तानेर जित हासिल गरेको देखिएको छ । एमालेका वडाध्यक्षहरूले जम्मा ६२ हजार ७७१ मतमा सुनिताले अझै ५ हजार ८४१ मत थपेर पाएको देखिएको छ । उनले ६८ हजार ६१२ मत पाएकी छन् ।

उता गठबन्धनको साथले चुनाव लडेका नेकपा एसका रामेश्वर श्रेष्ठले गठबन्धन दलबाट ३० प्रतिशत मत मात्रै बटुल्न सफल देखिएका छन् । गठबन्धन दलका वडाध्यक्षहरूले ७८ हजार ६६६ मत पाउँदा श्रेष्ठले जम्मा २३ हजार ८०६ मत मात्रै प्राप्त गरे ।

उपमेयरमा स्वतन्त्र उम्मेदवारहरूले निर्णायक मत बटुल्न नसके पनि उल्लेख्य मात्रामा दलीय मत काटेका छन् । जसमा स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठ महर्जनले १३ हजार ९६५ मत प्राप्त गर्दा अर्की स्वतन्त्र वेञ्जी सिंह महर्जनले ६ हजार ५५५ मत पाएकी छन् ।

राप्रपाकी उम्मेदवार विनीता मगैयाले राप्रपाका वडाध्यक्षले पाएको दलीय मतमा बढाएर मत पाएकी छन् । राप्रपाका वडाध्यक्ष उम्मेदवारहरूले ११ हजार २२५ मत पाउँदा मगैयाले १२ हजार १४१ मत पाएकी छन् ।


प्रतिक्रिया

One thought on “काठमाडौं महानगरको ‘पपुलर भोट’मा एमाले पहिलो, माओवादी राप्रपाभन्दा पछि (विवरणसहित)

  1. कस्तो हावादारी परिभाषा हो पपुलरको ? प्रमुख र अध्यक्षले पाएको मतलाई बनाएर एउटा र फेरी वडा अध्यक्षलाई मानेर अर्को पपुलरको परिभाषा । पत्रिकालाई जे गरेपनि हुदो रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर