बालेन्द्रको विजयोत्सवमा किन मिसिए सुमन सायमी ? – Nepal Press

बालेन्द्रको विजयोत्सवमा किन मिसिए सुमन सायमी ?

काठमाडौं । कुनै पनि चुनावको नतिजा आइसकेपछि पराजित उम्मेदवार पनि विजयी उम्मेदवारको विजयोत्सवमा सहभागी हुनु आफैँमा दुर्लभ दृश्य हो । काठमाडौंमा यस्तै दुर्लभ दृश्य आज देखियो ।

काठमाडौं महानगरको चुनावी दौडमा प्रतिस्पर्धीहरूलाई निकै पछाडि छाड्दै स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले जित हासिल गरे । उनले चुनावमा हराएका ५४ जना प्रतिस्पर्धीमध्ये एक हुन् सुमन सायमी । आँखीझ्याल चुनाव चिन्ह लिएर लडेका सायमीले १३ हजार ७७० भोट ल्याएका थिए । प्रतिस्पर्धामा उनी चौथो स्थानमा रहे ।

मतदान अघिसम्म सायमीको खासै चर्चा थिएन । न मिडियाले उनलाई खोजेका थिए, न सोसल मिडियामा चियोचर्चो भएको थियो । तर, मतगणनाका क्रममा उनले आफ्नो उपस्थिति देखाउन सफल भए । अधिकांश उम्मेदवारले ३ अंक छुनै संघर्ष गरिरहँदा उनले १३ हजारभन्दा बढी मत ल्याउनु धेरैका लागि अप्रत्याशित हो । सायद बालेनका लागि पनि । त्यही भएर आज उनले आफ्नो विजय र्‍यालीमा सुमनलाई पनि सहभागी गराउन चाहे ।

आज बिहान बालेन आफैँले फोन गरेर सायमीलाई राष्ट्रिय सभागृहमा निम्त्याएका थिए । सायमीले पनि यसलाई सहज रूपमा लिएर बालेनलाई बधाई दिन सभागृह पुगे ।

सायमी भन्छन्, ‘चुनावअघि हामी प्रतिस्पर्धी थियौँ, तर चुनाव सकिएपछि कुनै प्रतिस्पर्धाको भावना छैन । त्यसैले म उहाँलाई बधाई दिनका लागि सभागृह गएको हो ।’

सभागृहमा भेटेर बधाई दिएपछि बालेनले नै सायमीलाई आफ्नो र्‍यालीमा सहभागी हुन अनुरोध गरे । सायमीले यसलाई पनि अन्यथा लिएनन् । उनी बालेन सँगसँगै सभागृहबाट बाहिर निस्किए । माला लगाए । र एउटै गाडीमा सवार भएर जुलुसमा हिँडे । बालेनको प्रतिस्पर्धी होइन, सहयोद्धाजस्तो भएर उनले आफूलाई प्रस्तुत गरेको दृश्य रोचक थियो ।

र्‍यालीपछि टुँडिखेलमा धन्यवादसभा आयोजना गरिएको थियो । त्यसमा सुमन सायमीलाई पनि बोल्न अवसर दिइयो । आफ्नो छोटो भाषणका क्रममा सायमीले बालेन र आफ्नो विचारधारा एउटै रहेको बताए ।

उनले भने, ‘म पनि स्वतन्त्र उहाँ पनि स्वतन्त्र । आज स्वतन्त्र उम्मेदवारको जित भएको छ । बालेनको जित मेरो पनि जित हो । हामी दुवै एउटै उद्देश्यमा हिँडेका छौँ । हाम्रा मुद्दाहरू एउटै छन् । हामी यो देशमा परिवर्तन चाहन्छौँ । अहिलेको सिनारियो बदल्न चाहन्छौँ । त्यसैले बालेनलाई साथ दिन उभिएको हुँ ।’

नेपाल प्रेससँगको थप कुराकानीमा सायमीले बालेनको कार्यकालमा आफ्नो तर्फबाट साथ र सहयोग रहने बताए ।

‘आगामी दिनमा उहाँसँग बसेर विस्तृत छलफल पनि गर्नेछु । काठमाडौंमा हाम्रो साझा चासोहरू छन् । उहाँसँग सहकार्यका लागि तयार छु,’ उनले भने ।

त्यसो त चुनावअघि पनि बालेन र सायमीबीच छलफल भएको थियो । दुईमध्ये एकले अर्कालाई समर्थन गर्ने सम्भावनाका विषयमा चर्चा भए पनि त्यो सम्भव भएन ।

सायमीले बालेनलाई समर्थन गर्नेबारे नसोचेका होइनन्, काठमाडौंका विभिन्न गुठी र विभिन्न संस्थाबाट निर्णय भएर उनी उम्मेदवार बनेका थिए । त्यसैले ब्याक हुन सहज थिएन । बालेनको राम्रो माहोल बनिरहेकाले उनी पछि हट्ने कुरै आएन ।

काठमाडौंका कोर एरियामा सायमीको प्रभाव देखिएको छ । उनले ल्याएको अधिकांश भोट पनि कोर एरियाभित्रकै वडाहरूका हुन् । लामो समयदेखि काठमाडौंको संस्कृति र सम्पदा संरक्षणमा सक्रिय अभियन्ता भएकाले महानगरको नेवा समुदायमा उनी लोकप्रिय छन् । केही समयअघि प्रहरी चौकीभित्र नेवारी भाषा बोलेको आरोपमा सायमी एक साता प्रहरी हिरासतमा बसेका थिए ।

बालेनजस्तै सायमी पनि कुनै पार्टीसँग निकट छैनन् । यद्यपि, उनी राजनीतिक परिवारका सदस्य हुन् । काठमाडौंको कालीमाटी स्थित उनको घर पञ्चायतकालमा कम्युनिस्ट नेताहरूको सेल्टर थियो । उनका पिता कम्युनिस्ट नेता हुन् । तर, सायमी आफू भने राजनीतिबाट सधैँ टाढा रहे ।

यसपालि स्थानीय चुनावमा पनि उनले अपर्झट उम्मेदवारी दिएका हुन् । कांग्रेस र एमालेले उठाएका मेयर उम्मेदवारहरू पटक्कै चित्त नबुझेपछि आफू मैदानमा आउने निर्णय गरेको सायमी बताउँछन् । यद्यपि, उनले जितको लक्ष्य लिएका भने थिएनन् ।

‘१५ हजारसम्म भोट ल्याउने अपेक्षा थियो । जति भोट आएको छ, त्यसमा सन्तुष्ट छु,’ उनी भन्छन् ।

सायमीकै समूहबाट उपमेयरमा विद्या महर्जनले उम्मेदवारी दिएकी थिइन् । उनले पनि सायमीको हाराहारीमा मत ल्याएकी छन् । उनले १३ हजार ६९५ मत ल्याइन् ।


प्रतिक्रिया

One thought on “बालेन्द्रको विजयोत्सवमा किन मिसिए सुमन सायमी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर