टुँडिखेलमा मेयर बालेन्द्रको र्‍याप- गरेर अब देखाउ, कालो अतितलाई मेटाउ (भिडिओसहित) – Nepal Press

टुँडिखेलमा मेयर बालेन्द्रको र्‍याप- गरेर अब देखाउ, कालो अतितलाई मेटाउ (भिडिओसहित)

काठमाडौं । र्‍यापर बालेन अब मेयर बालेन्द्र साह भएका छन् । काठमाडौंको चुनावमा अभूतपूर्व जित हासिल गरेसँगै उनको परिचयमात्र होइन जिम्मेवारी पनि फेरिएको छ । धेरैलाई कौतुहल पनि छ, अब बालेनले र्‍याप गाउँछन् कि गाउँदैनन् ?

अबको पाँच वर्षमा के गर्लान् भन्न सकिँदैन । तर, मेयर बनेको पहिलो दिनमै उनले र्‍याप गाएर आफ्ना फ्यानहरुको तिर्खा मेटाइदिए । विजय जुलुसपछि टुँडिखेलमा आयोजित सभामा उनले र्‍याप गाएका थिए, जसको बोल यस्तो छः

गरेर अब देखाउ, कालो अतितलाई मेटाउ
देश एउटा सुन्दर बगैंचा होस् । रंगिचंगी फूल हुन् ।
अनुकूल प्रतिकूलहरु चुक्ता गर्ने भावना होस्
सामूहिक खुसीविनाको फाइदा त्यो चाहनाको
पछि त के त्यो कामनाको एउटा हाँसो फुट्नलाई
उद्देश्य यो एक हो हरेक दल जुट्नलाई
गरेर अब देखाउ, कालो अतितलाई मेटाउ
पालो हाम्रो हो भेटाउ
कल्पना गर शान्तिको
सपना देख्ने त्यो पूरा हुन्छ
जागृति नै क्रान्ति हो

‘तपाईंहरुको माया देख्दा मरिदिउँ जस्तो लाग्छ’

सभामा समर्थकहरुलाई छोटो सम्वोधन गर्दै सभा बालेनले आफूलाई बर्साइएको मायाप्रति आभार प्रकट गरे । उनले यो मायालाई ऊर्जा बनाएर राजधानीको विकास गर्ने बताए ।

बालेनको सम्वोधन यस्तो थियोः

हिजो हामी स्वतन्त्रमात्रै थियौं, आज म तपाईंहरु सबैको भइसकेको छु । अब, तपाईंहरुको सार्वजनिक सम्पत्ति भएको छु म ।

तपाईंहरुको दिगो विकासका लागि, यो महानगरको दिगो विकासका लागि हामी सबैजनाले सहकार्य गर्नेछौं । हामी धेरै बोल्नेभन्दा धेरै काम गर्ने र राजनीतिलाई राजनीति नभएर विकासको नाम दिएका छौं । हामी विकास गर्छौं, दिगो विकास गर्छौं । हामी हाम्रो सम्पदा जोगाएर विकास गर्छौं, हाम्रो संस्कृति जोगाएर विकास गर्छौं ।

यो ६० औं वर्ष, २० औं वर्ष पुरानो सिण्डिकेट तपाईंहरुको साथ र सहयोगले तोड्न सफल भएका छौं । तपाईंहरुको यत्ति धेरै माया आएको छ कि यति धेरै माया, यति धेरै सकारात्मकता छ कि मरिदिउँ जस्तो लाग्छ । भोलिको दिनमा बाँच्दा केही भुलचुक होला जस्तो लाग्छ । यत्ति धेरै माया धान्न गाह्रो भएको छ । तर विश्वास गर्नुस्, यो माया, साथ र समर्थनलाई हाम्रो ऊर्जा बनाएर अब आउने पाँच वर्षमा यो ऊर्जालाई प्रवाह गरेर काठमाडौं महानगरपालिकामा विकासको एउटा मोडल ल्याउनेछौं । सबैजना मिलेर काठमाडौं विकास गर्नेछौं, देश विकास गर्नेछौं ।

०००

मेयर निर्वाचित भएको दिन बिहानैबाट बालेन बेफुर्सदिला बने । काठमाडौंको नतिजा हिजै घोषणा भइसकेको थियो । तर, राति अबेर भएकाले बालेनका समर्थकहरुले खुसीयाली मनाउनका लागि आज बिहानको प्रतीक्षा गर्नुपर्‍याे । बालेन बिहान ७ बजेतिर राष्ट्रिय सभागृह पुगे र निर्वाचन आयोगले उनलाई विजयी उम्मेदवारका रुपमा सम्मान गर्‍याे । त्यसपछि सुरु भयो विजय जुलुस, जसलाई बालेनले धन्यवाद र्‍यालीको नाम दिएका थिए ।

राष्ट्रिय सभागृहबाट ८ बजेतिर बालेन माला लगाएर बाहिरिए । समर्थकहरुलाई सरप्राइज दिँदै उनले मेयरका प्रतिस्पर्धी सुमन सायमीलाई सँगै ल्याएका थिए । त्यसपछिको विजय जुलुसमा पनि बालेनले सायमीलाई आफूसँगै राखे ।

विजय र्‍यालीमा ४–५ वटा गाडी, सयौंको संख्यामा मोटरसाइकल थिए । पछिपछि हजारौंको भीड थियो । सबैभन्दा अगाडिको हुट नभएको गाडीमा थिए बालेन र सायमी । पछाडि उनीहरुलाई पछ्याइरहेको भीडले ‘बालेन, बालेन’ भन्दै नारा लगाइरहेको थियो । एउटा गाडीमा राखिएको स्पिकरमा राष्ट्रिय गीत बजाइएको थियो । कतिपयले राष्ट्रिय झण्डा बोकेका थिए ।

भीड ठूलो भए पनि आफ्नो अनुशासनमा थियो । जुलुसका सहभागीहरु सडकमा एउटामात्रै लेन समातेर हिँडेकाले धेरै सवारी जाम हुन पाएन । साथै जुलुसमा कसैका विरुद्ध उग्र नाराबाजी गरिएको पनि सुनिएन । समर्थकहरु ‘बालेन, बालेन’ भनेर मात्रै चिच्याइरहेका थिएन, मानौं कुनै कन्सर्टमा जस्तो ।

बालेनका समर्थको भीडमा प्रायः युवायुवतीहरु नै थिए । उनीहरुको आँखामा जितको उल्लाससँगै भविष्यप्रतिको आशा झल्किन्थ्यो । बालेनमाथि उनीहरुले मानौं देशको भविष्य देखेका थिए । युवायुवतीहरुको यो क्रेज कुनै राजनीतिकर्मीप्रति सायद विरलै देखिएको थियो । बालेनले आफूमाथिको यो अपेक्षामा कति खरो उत्रिन सक्नेछन्, त्यो त भविष्यले नै देखाउने छ । तर, उनले र्‍यापमा भनेजस्तै गरेर देखाउने र कालो अतितलाई मेटाउने अवसर उनीसामु छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर