काठमाडौंमा गुम्यो एमालेको प्रभुत्व, कांग्रेसले यसरी उल्टायो नतिजा – Nepal Press

काठमाडौंमा गुम्यो एमालेको प्रभुत्व, कांग्रेसले यसरी उल्टायो नतिजा

काठमाडौं । स्थानीय निर्वाचनमार्फत काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसले आफ्नो प्रभुत्व स्थापित गरेको छ । महानगरका ३२ वटा वडामध्ये १९ वटा जित्दै कांग्रेस काठमाडौं महानगरको पहिलो शक्ति बनेको हो ।

अघिल्लो चुनावको नतिजालाई सर्लक्कै उल्टाउन कांग्रेस सफल भयो । स्थानीय चुनाव २०७४ मा एमालेले १८ वटा वडा जितेर पहिलो शक्ति बनेको थियो । काठमाडौंका मेयरमा पनि एमालेका उम्मेदवार भारी मतले विजयी बनेका थिए । तर, यसपालिको चुनावमा एमालेले मेयरमात्र गुमाएन, ६ वटा वडा पनि कांग्रेसले उसको हातबाट खोसेको छ ।

०७४ सालमा एमालेले काठमाडौंका १८ वटा वडा जितेको थियो । यसपालि उक्त संख्या १२ मा झरेको छ । यस्तै कांग्रेसले अघिल्ल्लो चुनावमा १४ वटा वडा जितेकोमा अहिले १९ वडा जित्न सफल भएको छ । अघिल्लो चुनावमा कांग्रेसले जितेकोभन्दा दुई वटा कम वडा यसपालि एमालेले जितेको छ भने त्यसबेला एमालेले जितेकोभन्दा एउटा वडा बढी कांग्रेसले जितेको छ ।

२०७४ सालको चुनावमा जितेका ९ वटा वडा यसपालि एमालेले जोगाउन सकेन । काठमाडौंका वडा नम्बर ७, ९, १२, १४, १५, २४ र २७ एमालेबाट कांग्रेसले खोसेको छ । यस्तै वडा नम्बर १५ नेकपा एसको पोल्टामा गएको छ ।

यता कांग्रेसले ०७४ सालमा जितेको एउटा वडा (वडा नम्बर ५) यसपालि एमालेले खोसेको छ । समग्रमा एमालेलाई ६ वटा वडा घाटा लागेको छ भने कांग्रेसलाई ५ वटा वडा नाफा भएको छ ।

मेयरमा निराशा, उपमेयरमा उत्साह

काठमाडौंंको मेयरमा एमालेबाट उठेका केशव स्थापितले आफूले सजिलै जित्ने दावी गर्दै चुनाव अगाडि नै ‘गेम ओभर’ भएको बताएका थिए । उनले भनेका थिए, ‘८४ हजार भोट ल्याएको मान्छेलाई के को चिन्ता ?’

स्थापितको पार्टी एमाले पनि काठमाडौंमा मेयर जित्नेमा आशावादी थियो । तर, बालेन साहको पक्षमा उर्लिएको लहरले एमालेको आशा खरानी भयो । सोचेभन्दा निकै कम मत ल्याएर स्थापित तेस्रो भए ।

अघिल्लो चुनावमा एमालेका विद्यासुन्दर शाक्यले ६४ हजार ९१३ भोट ल्याएर जितेका थिए । प्रतिस्पर्धी कांग्रेसका राजुराज जोशीसँग उनको झण्डै २० हजार भोटको अन्तर थियो ।

तर, यसपालि स्थापितले ३८ हजार ११७ मतमात्रै ल्याउन सफल भएका छन् । यो स्थापितका लागि मात्र नभएर एमालेका लागि समेत निराशाजनक मत हो ।

स्थापितमात्रै पराजित भएको भए उनको व्यक्तिगत अलोकप्रियता र बालेनको लहरलाई जिम्मेवार ठहर्याउन सक्थ्यो एमालेले । तर, समग्र वडाहरुमा नै नतिजा एमालेको पक्षमा रहेन ।

काठमाडौंमा एमालेले पाएको मुख्य सान्त्वना चाहिँ उपमेयरमा प्राप्त विजय हो । एमालेकी उम्मेदवार सुनिता डंगोलले विशाल अन्तरले जित हासिल गरिन् । उनले ६८ हजार ६१२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मतमात्र ल्याए । करिब ४५ हजार मतान्तरले सुनिता निर्वाचित भएकी छन् ।

तर, यो मतान्तरले काठमाडौंमा एमालेको लोकप्रियतालाई पुष्टि गर्दैन । उपमेयरमा प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नहुँदा सुनितालाई फाइदा भएको छ । काठमाडौंमा कांग्रेसका मतदाताले पनि नेकपा एसको साटो सुनितालाई भोट दिएको देखिन्छ ।

एमालेले २०७४ मा जितेका वडाहरु
१, २, ३, ४, ७, ९, १२, १३, १४, १५, १८, २१, २२, २३, २४, २७, ३१, ३२

एमालेले यसपालि जितेका वडाहरु
१, २, ३, ४, ५, १३, १८, २१, २२, २३, ३१, ३२

कांग्रेसले २०७४ मा जितेका वडा
५, ६, ८, १०, ११, १६, १७, १९, २०, २५, २६, २८, २९, ३०

कांग्रेसले अहिले जितेका वडा
६, ७, ८, ९, १०, ११, १२, १४, १६, १७, १९, २०, २४, २५, २६, २७, २८, २९ र ३०

एमालेले गुमाएका वडा
७, ९, १२, १४, १५, २४ र २७

कांग्रेसले गुमाएको वडा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर