सुनिता डंगोलको अपिल- हारजितको मनोविज्ञान अन्त्य गरौं, आशाको दियो मर्न दिन्नँ (भिडिओ) – Nepal Press

सुनिता डंगोलको अपिल- हारजितको मनोविज्ञान अन्त्य गरौं, आशाको दियो मर्न दिन्नँ (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा निर्वाचित भएकी नेकपा एमालेकी युवा नेता सुनिता डंगोलले मतपरिणामसँगै अब जितहारको मनोविज्ञानलाई अन्त्य गर्न अपिल गरेकी छन् ।

उपमेयर निर्वाचित भएपछि धन्यवाद ज्ञापन गर्दै डंगोलले अब हारजितको मनोविज्ञान त्यागेर काठमाडौं महानगरको विकास र समृद्धिका लागि सहकार्य, सहमति र सहअस्तित्वको सिद्धान्तमा अघि बढ्ने बताएकी छन् ।

डंगोलले काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्न उनले आह्वानसमेत गरेकी छन् । उपमेयर डंगोलले आफू शासक होइन सेवक भएर काम गर्ने बताएकी छन् ।

डंगोलले भनेकी छन्, ‘काठमाडौं महानगरलाई सुन्दर र व्यवस्थित सहर बनाउने एजेण्डाप्रति विश्वास गरी यहाँका मतदाताले विजयी गराउनुभएको छ । म एमालेको तर्फबाट उम्मेदवार भएर निर्वाचनको मैदानमा थिएँ । अहिले तपाईहरुले मप्रति देखाएको अपार विश्वासका कारण उपमेयर पदमा निर्वाचित भएकी छु । तपाईंहरूले दिएको हरेक मतलाई मैले मेरो अठोट पूरा गर्ने बलियो सहराका रुपमा लिएकी छु ।’

उनले विपक्षमा मतदान गर्ने मतदाताहरूको समेत सम्मान गर्दै उनीहरूको विश्वास र भरोसलाई पूरा गर्ने बताएकी छन् । उपमेयर डंगोलले राजनीतिलाई फोहोरी खेल भन्दै निरास बनेका युवाहरूको मनोविज्ञानले पनि आशाको दियो बाल्दै युवामाथि भरोसा गरेकोले थप चुनौतीका रूपमा आफूले लिएकी बताएकी छन् ।

उनले युवाको मनोविज्ञानलाई पनि आफूले प्रतिनिधित्व गर्ने र आशाको दियो मर्न नदिने बताएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर