भक्तपुरको चाँगुनारायण नगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता हुँदै – Nepal Press

भक्तपुरको चाँगुनारायण नगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता हुँदै

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकामा कार्यपालिका सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ता कार्यक्रम रहेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिएको छ । कार्यालयले जेठ १७ गते निर्वाचन मिति तोकिएको निर्वाचन तालिकासमेत सार्वजनिक गरिसकेको छ ।

गएको वैशाख ३० गते भएको निर्वाचनअन्तर्गत भक्तपुरको चाँगुनारायण नगरपालिकामा कुनै पनि दलले बहुमत ल्याउन सकेन । नौवटा वडा रहेको चाँगुनारायणमा ४७ जनै जनप्रतिनिधि चुनिए पनि कुनै पनि दलले बहुमत ल्याउन नसकेको हो ।

यहाँ मेयर जितेको नेपाली कांग्रेस र उपमेयर जितेको नेकपा एमालेका समान १८–१८ जना नगर सभासद् चुनिएका छन् । कार्यपालिकामा भने कांग्रेससँग मेयर र ४ जना वडा अध्यक्ष हुँदा एमालेसँग उपमेयर र दुई जना वडा अध्यक्षमात्रै छन् ।

त्यस्तै २ वटा वडामा अध्यक्ष जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिन्हबाट ६ जना नगर सभासद् निर्वाचित भएका छन् । हलो चिन्ह लिएर चाँगुनारायण ६ नम्बर वडामा कांग्रेसका दुई जना वडा सदस्य निर्वाचित भएका छन् । यी दुईलाई जोड्दा पनि कांग्रेससँग नगसभामा बहुमत पुग्दैन । त्यसैले उसले एउटा वडा अध्यक्षसँगै ५ जना नगर सभासद् जितेको नेपाल मजदुर किसान पार्टीसँग जिल्ला समन्वय समिति गठनसम्मलाई लिएर छलफल गरेको थियो । तर, छलफल निष्कर्षमा पुगेको छैन ।

चाँगुनारायण नपाका मेयर जीवन खत्रीले दलहरुबीच सहमति एवं तालमेल हुने सम्भावना नभएकाले सबै दलले आआफ्नो तर्फबाट उम्मेदवारी दिने तयारी भइरहेको जानकारी दिए । साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्ने समय भएकाले सहमति हुन पनि सक्ने उनले बताए ।

चाँगुनारायणमा ४७ सदस्यीय नगरसभाको बहुमत २४ जना हो । त्यसैले चाँगुनारायणमा कार्यपालिका सदस्य निर्वाचनमा राप्रपा र नेमकिपा निर्णायक शक्ति बनेका छन् । ५ जना नगर सभासद् नेमकिपाले कांग्रेसलाई समर्थन गर्दा स्पष्ट बहुमत पुग्छ । तर, एमालेले तालमेल गर्नुपर्दा नेमकिपा र ४ जना नगर सभासद् रहेको राप्रपा मिल्नुपर्छ ।

मेयर खत्रीले नगरपालिकामा सबै दलको सम्मानजनक उपस्थितिको लागि सहमतिमार्फत कार्यपालिका सदस्य चुन्न आफूले दलहरुलाई आग्रह गरेको जानकारी दिए । नगर सभासद् जितेको प्रतिशतको आधारमा कार्यपालिका सदस्य संख्या भाग लगाएर अघि बढ्न आफूले दलहरुलाई जानकारी गराएको उनको भनाइ छ ।

‘जनप्रतिनिधिहरु निर्वाचित भइसकेकाले अब नगरपालिकालाई साझा रुपमा अगाडि बढाऔं भनेर मैले सबै दल र दलीय रुपमा आएका जनप्रतिनिधिसँग आग्रह गरेको छु’, मेयर खत्रीले भने, ‘के कसरी मिल्छ नगरपालिका बनाउने कार्यमा सबै पार्टी मिलेर अघि बढ्ने वातावरण बनाइनदिन मैले मैरे पार्टी नेपाली कांग्रेसको जिल्ला नेतृत्वसँग पनि आग्रह गरेको छु ।’

मेयर खत्रीको प्रस्तावमा सबै दल सहमत भए ८ जनामध्ये कांग्रेस र एमालेले समान ३–३ जना र राप्रपा र नेमकिपाले पनि समान १–१ जना कार्यपालिका सदस्य पाउनेछन् ।

एमालेका जिल्ला अध्यक्ष वचन देउजाले भने राप्रपा र नेमकिपासँग तालमेल गर्नेबारे छलफल भइरहेको जानकारी दिए । उनले जिल्ला समन्वय समितिको निर्वाचनलाई समेत सघाउ पुग्ने गरी राप्रपा र नेमकिपासँग तालमेलको कुरा भइरहेको बताएका हुन् ।

‘हामीले सबै विकल्प खुला राखेर छलफल अघि बढाएका छौं’, अध्यक्ष देउजाले भने, ‘तर, अहिल्यै के कसरी भागबन्डा लगाउन भन्नेबारे कुरा टुंगिसकेको छैन ।’

नेमकिपाबाट चाँगुनारायण नपा ९ मा वडा अध्यक्ष निर्वाचित गणेश त्यातले भने कार्यपालिका निर्वाचन सम्बन्धमा अहिलेसम्म औपचारिक छलफल नभएको बताए । पार्टीले समेत यसबारे स्पष्ट निर्देशन दिइनसकेको उनको भनाइ छ ।

अर्को निर्णायक राप्रपाले पनि यस विषयमा निर्णय गरिनसकेको जनाएको छ । राप्रपाबाट वडा नं ६ मा अध्यक्ष जितेका धनबहादुर तामाङले कार्यपालिका सदस्य निर्वाचनबारे तालमेल गर्नेबारे आफूसँग कुनै छलफल नभएको बताए । उनले आफूलाई पार्टीले समेत यस विषयमा कुनै निर्देशन एवं जानकारी नदिएको जानकारी दिए ।

बरु कांग्रेस र नेमकिपा मिलेर जाने भएको आफूले सूचना पाएको वडा अध्यक्ष तामाङले सुनाए ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार कार्यपालिकामा पाँच सदस्य बराबर एक जना गरी पाँच जना र दलित, अल्पसंख्यक तथा सिमान्तकृत ३ जना गरी ८ जना निर्वाचित हुन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर