‘परिणामले एमालेलाई प्रतिपक्ष बनायो, मेयर बालेनलाई मेरो सधैँ रचनात्मक सहयोग हुनेछ’ – Nepal Press
सुनिता डंगोलसँग नेपाल टक

‘परिणामले एमालेलाई प्रतिपक्ष बनायो, मेयर बालेनलाई मेरो सधैँ रचनात्मक सहयोग हुनेछ’

पुरानो डबलीलाई एमपी थिएटर बनाउने आफ्नो योजना निर्वाचित नेतृत्वले पूरा गर्ने विश्वास

काठमाडौं । स्थानीय चुनावको चर्चा चलिरहेका बेला २०७८ चैत ५ गते नेपाल प्रेसमा पूर्वमिस नेवाः तथा लिपी क्वीनका रूपमा चर्चित युवा महिला सुनिता डंगोलको अन्तर्वार्ता आयो, जसमा उनले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बन्न चाहेको बताएकी थिइन् ।

काठमाडौंको मेयर बन्छु भन्दै गर्दा उनले आफ्ना केही योजनासमेत अघि सारेकी थिइन् । उनले सोहीअनुसार सम्वृद्धिका आठ आधारसहितको घोषणापत्र समेत सार्वजनिक गरिन् । उनको त्यो अन्तर्वार्तासँगै एमाले नेतृत्वको ध्यानाकर्षण भयो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले उनलाई उपमेयरको उम्मेदवार बन्न र उनका घोषणालाई एमालेको घोषणापत्रमा समेट्ने प्रस्ताव राखे । केपी ओलीलाई समकालीन नेताहरूमध्ये उत्कृष्ट मान्ने सुनिता अन्ततः एमालेकोतर्फबाट उपमेयर उम्मेदवारमात्र बनिन्, महानगरपालिकाको मतगणना सकिँदा सत्ता गठबन्धनका उम्मेदवारलाई करीव ४५ हजार मतान्तरले पराजित गर्दै काठमाडौंको उपमेयर बनिन् ।

एमालेका मेयर उम्मेदवार केशव स्थापित ३८ हजार मतमा रोकिँदा उपमेयर उम्मेदवार डंगोलले ६८ हजार मत कटाइन् । मेयर पराजित भएकोमा सुनिता सन्तुष्ट छैनन् तर जनताको अभिमत अनुसार स्वतन्त्र उम्मेदवार बालेनको जितसँगै उनले रचनात्मक सहयोग गरेर महानगरलाई अघि बढाउने बताइसकेकी छन् ।

७५३ स्थानीय तहमध्ये सबैभन्दा धेरै मत र सबैभन्दा ठूलो मतान्तरसहित विजयी भएकी एमालेकी युवा नेता डंगोलको अबको योजना के छ ? उपमेयर निर्वाचित भएलगत्तै नेपाल प्रेससँग पहिलो अन्तर्वार्ता दिएकी डंगोलले नवनिर्वाचित बालेनलाई पूरै सहयोग रहने र विरोधका लागि विरोध एमालेबाट नहुने बताइन् ।

३० वर्षीया डंगोल अब महानगरपालिकाको उपमेयरको भूमिकासँगै एमालेको राजनीतिमा पनि उपयुक्त जिम्मेवारीसहित अघि बढ्न चाहान्छिन् । प्रस्तुत छ, काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर डंगोलसँग गरिएको कुराकानी नेपाल टकमा ।

– यसअघि एमालेले २० हजार बढी मतान्तरमा मेयर जितेको काठमाडौंमा यसपटक मेयर गुमाउँदा उपमेयरमा तपाईंले विगतमा विद्यासुन्दर शाक्यले पाएको भन्दा बढी मत पाउनुभयो, अब तपाईं महानगरको उपमेयरमात्र होइन यहाँ एमालेको नेतृत्व पनि गर्दै हुनुहुन्छ । वडाध्यक्षमा कांग्रेसले एमालेभन्दा बढी जितेको, स्वतन्त्र मेयर हुनुहुन्छ । विगतमा उपमेयरले मेयरका काममा प्रायः विरोध गरेको नजिर हेर्ने हो भने अब तपाईं र एमालेबाट निर्वाचित जनप्रतिनिधिको भूमिका के हुन्छ ?

म एक शिक्षित युवा हुँ । म राजनीतिलाई फोहोरी बनाउने खेलमा कहिले पनि लाग्ने छैन । म एमालेको उम्मेदवारका रूपमा उपमेयर पदमा निर्वाचित भएको हुनाले महानगरपालिकामा दलको नेताको रूपमा मैले नेतृत्व गरिरहँदा हामीले विरोधका लागि विरोध कहिल्यै गर्ने छैनौं । काठमाडौंका विकास र समृद्धिका लागि हामी सधैँ रचनात्मक र सकारात्मक सहयोग सत्ता पक्षलाई गरिनै रहने छौं ।

– यति धेरै भोट ल्याउँछु र यति ठूलो अन्तरालले जित्छु भन्ने पहिले सोच्नुभएको थियो ? तपाईंले एमालेको त पूरै मत पाउनुभयो जुन मेयरले पाउनुभएन, अरु मत कति आयो जस्तो लाग्छ ?

मैले उम्मेदवारी दिइरहँदा काठमाडौं महानगरका मतदाताले मलाई धेरै माया गर्नुहुन्छ भन्ने विश्वास थियो तर मैले यति ठूलो अन्तरालले जित्छु भन्ने बारे भन्ने विचार गरेकी चाहिँ थिइन ।

मैले पाएको मतलाई मैले केलाएर अहिले नै विश्लेषण गरिहालेको भने छैन । जे होस् काठमाडौंको मतदाताले मलाई धेरै माया गर्नुभएको छ भन्ने कुरा चाहिं मैले पाएको मतबाट पुष्टि भएको छ ।

– मेयरमै स्वतन्त्र लडेको भए बालेनलाई टक्कर दिन सक्नुहुन्थ्यो होला ?

सायद हुन सक्छ तर म अहिले त्यतातिर जान चाहन्नँ ।

– उपमेयर जितेपछि बालेनलाई एमपी थियटरमा र्‍याप गाउन बोलाउँछु भन्नुभएको थियो, उहाँ नै मेयर भएपछि त्यो सम्भावना कति छ ?

नेकपा (एमाले) को मेयरसहित चुनाव जितेको भए कार्यकारी अधिकार हामीमा हुन्थ्यो । त्यस अवस्थामा पुरानो डबलीलाई पुनर्जीवन दिने र डबलीको आधुनिक रूप एमपी थियटर बनाएर कला, साहित्य र संगीत क्षेत्रलाई प्रोत्साहन दिने योजना थियो । सो कार्यका लागि नेपालका कला, साहित्य र संगीत क्षेत्रका विशिष्ट कलाकारहरू समेतलाई बोलाएर सांगीतिक कार्यक्रम गर्ने योजना अनुसार कलाकारहरूलाई गीत गाउन आह्वान गर्छु भनेकी थिएँ । सायद मेरो यो योजनालाई अहिले निर्वाचित महानगरपालिकाको नेतृत्वले पूरा गर्दछ भन्ने मैले विश्वास गरेकी छु ।

– मेयर बालेनसँग अहिलेसम्म तपाईंको व्यक्तिगत भेटघाट र कुराकानी भएको छ कि छैन ?

बालेनसँग चुनाव सन्दर्भमा एक/दुई पटक फोनमा कुराकानी भएको थियो र चुनाबी प्रचारको सिलसिलामा घरदैलोमा जाँदा एकपटक जम्काभेट भएको थियो, बस् त्यति हो । त्यस अलावा अरु भेटघाट र कुराकानी भएको छैन ।

– बालेनले धरहरालाई सेतो टावर भन्नुहुन्छ, तपाईं त्यसमा सहमत हो ?

पुरानो धरहराको अवशेष यथावत राखेर त्यसको संगै नै अर्को नयाँ धरहरा नेकपा (एमाले) को नेतृत्वमा कमरेड केपी शर्मा ओलीको पालामा बनाएको हो । यसलाई विभिन्न नामाकरण गर्न जरुरी छ जस्तो मलाई लाग्दैन ।

– पार्टीभित्रै थुप्रै आकांक्षी हुँदा हुँदै तपाईंलाई नै एमालेले उपमेयरको टिकट दिनुको मुख्य कारण के हो जस्तो लाग्छ ?

नेकपा एमालेका शीर्षस्थ नेताहरू विशेष गरी पार्टीका श्रद्धेय अध्यक्ष श्री केपी शर्मा ओलीज्यूले सक्षम युवाको आवाज समेट्ने अभिप्रायले मलाई टिकट दिनुभएको हो जस्तो मैले बुझेकी छु । यसमा अरु कुनै कारण छैन र म भन्दा राजनीतिमा धेरै लामो समय त्याग र संघर्ष गर्नुभएका अग्रज नेताहरूप्रति मेरो सधैँ सम्मान र आदर रहन्छ । उहाँहरूले काठमाडौंका जनताका लागि योगदान गर्ने ठाउँहरू धेरै छन्, पार्टीले उपयुक्त जिम्मेवारी सबैलाई दिनेछ ।

– टिकट पाउनुअघि अध्यक्ष केपी ओलीसँग तपाईंको कस्तो कुराकानी भएको थियो ?

उहाँसँग चुनावको सन्दर्भमा आवश्यक कुराकानी भएको थियो । यो कुरा अब धेरै भनिरहनु पर्दैन । मलाई अध्यक्ष र पार्टीले नै यो मोर्चामा खटाउँनुभएको हुनाले स्वभाविक रूपमा अब पार्टीको कुरा भयो ।

– स्थानीय चुनावमा उम्मेदवार दिनु अघि र अहिले तपाईंले आफूमा के-के परिवर्तन पाउनुभएको छ ? मानिसहरूले कस्तो रेस्पोन्स गर्छन् ?

चुनावअघि मलाई सांस्कृतिक तथा सामाजिक अभियन्ताको रूपमा मात्र चिन्दथे तर अहिले मानिसहरूले मलाई उपमेयरको रूपमा चिन्न थालेको छ र उहाँहरूले अझ धेरै राम्रो रेस्पोन्स र माया गर्नुभएको मैले महसुस गरेकी छु ।

– मेयर र उपमेयर दुवैमा युवाहरू आउँदा धेरै मतदाता उत्साहित छन् । बालेनसँग सहकार्य कत्तिको जम्ला भन्ने तपाईंको व्यक्तिगत अपेक्षा छ ?

मलाई उहाँको (मेयर बालेन) विषयमा खासै जानकारी नभएकोले अहिले नै यस्तै हुन्छ भनी हाल्न मिल्दैन तर मेरो तर्फबाट भने सधैँ रचनात्मक सहयोग हुनेछ ।

– उपमेयरको कुर्सीमा बस्दा तपाईंको मुख्य प्राथमिकताहरू के-के हुनेछन् ? तपाईंबाट के-के अपेक्षा गर्न सकिन्छ ?

उपमेयरलाई कानूनले दिएको काम कर्तव्य र अधिकारको दायरामा बसेर जनहितमा सधैँ काम गर्नेछु । म शासक होइन जनताको सेवक भएर काम गर्नेछु ।

– तपाईंले बालेनको र्‍यापहरू कति सुन्नुभएको छ ? उहाँका र्‍यापहरू स्त्रीद्वैषी भनेर विवाद पनि उठेको थियो, तपाईंलाई कस्तो लाग्छ ?

मैले उहाँको कुनै पनि र्‍यापगीत सुनेको छैन तर उहाँ चर्चित र्‍यापर हो भन्ने सुनेको छु ।

– सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरू कत्तिको हेर्नुहुन्छ ? तपाईंका बारमो लेखिएका टिप्पणीहरू पढ्दा कस्तो लाग्छ ?

फुर्सद मिलाएर हेर्ने गर्छु । पूर्वाग्रह नराखेको सही टिप्पणीहरूलाई सकारात्मकरूपमा ग्रहण गर्दछु । कुनै कुनै पूर्वाग्रह राखेर जथाभावी टिप्पणी गरेको पनि पाइन्छ त्यस्ता टिप्पणी प्रति मेरो भन्नु केही छैन ।

– महानगरवासीलाई कार्यकालको सुरूवातमा के सन्देश दिन चाहनुहुन्छ ?

काठमाडौं महानगरलाई सुन्दर र व्यवस्थित सहर बनाउने एजेण्डाप्रति विश्वास गरी यहाँका मतदाताले मलाई विजयी गराउनुभएको छ । तपाईंहरूले दिनुभएको हरेक मतलाई मैले मेरो अठोट पूरा गर्ने बलियो सहाराका रूपमा लिएकी छु ।

तर, निर्वाचन परिणाम अनुसार म अहिले प्रतिपक्षको भूमिकामा रहनु पर्ने बाध्यात्मक स्थिति देखिन्छ । म सहकार्य, समन्वय र सहअस्तित्वको सिद्धान्तलाई मानेर रचनात्मक सहयोग सहित अघि बढ्न चाहन्छु ।

तपाईंहरूको साथ सहयोगको सधैँ अपेक्षा गर्दछु ।

– अब तपाईंलाई नेकपा एमालेको राजनीतिमा चाहिँ कुन भूमिका र सक्रियतामा देख्न पाइएला ?

अहिले त मलाई उपमेयरको भूमिकामा रहेर जनताको सेवा गर्नुछ । यदि पार्टीले मलाई विश्वास गरेर कुनै पार्टी कामको जिम्मा लगाउँछ भने पनि म इमान्दारिता र मिहेनतका साथ उक्त जिम्मेवारी लिन तयार छु ।


प्रतिक्रिया

2 thoughts on “‘परिणामले एमालेलाई प्रतिपक्ष बनायो, मेयर बालेनलाई मेरो सधैँ रचनात्मक सहयोग हुनेछ’

  1. जनताकाे ईच्छा ,चाहना,अनुसार शिक्षा,स्वास्थ,संचार,यातायात,करकाे मार मुक्त शहर निर्माण,जनमुखि सरकार ,सरकारी फजुल खर्च न्युनिकरण अभियान,हुनु पर्याे

  2. सन्तुलित बिचार पस्किनु भएको छ। धन्यबाद छ महानगर उपप्रमुख सुनिता ज्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर