माओवादीका शर्मा र बस्नेतले आफ्नै पालिका जोगाउन सकेनन्, एमालेका यामलालले सुधारे – Nepal Press

माओवादीका शर्मा र बस्नेतले आफ्नै पालिका जोगाउन सकेनन्, एमालेका यामलालले सुधारे

सुर्खेत । स्थानीय तहको निर्वाचनमा कर्णाली माओवादीका हेभीवेट नेताद्वय जनार्दन शर्मा र शक्ति बस्नेतले आफ्नै पालिका पनि जोगाउन सकेनन् ।

रुकुम पश्चिममा अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्माको पालिकामा कांग्रेसले जित हात पार्यो भने जाजरकोटका पूर्वमन्त्री माओवादी नेता शक्ति बस्नेतको भेरी नगरपालिकामा एमाले विजयी बन्यो ।

तर सुर्खेतमा एमाले स्थायी कमिटी सदस्य यामलाल कंडेल भने आफ्नो पालिकामा सफल भएका छन् । एमालेले सुर्खेतमा सिम्ता गाउँपालिका, चिङ्गाड गाउँपालिका, भेरीगंगा नगरपालिका र वीरेन्द्रनगर नगरपालिकामा प्रमुख उपप्रमुख जितेको छ भने लेकबेशी नगरपालिकाको उपप्रमुख जित्न सफल भएको छ ।

२०७४ सालको निर्वाचनमा सिम्ता, चौकुने, लेकबेशी एमालेले जितेको थियो । वीरेन्द्रनगरमा एमालेले उपप्रमुख जितेको थियो । गठबन्धन भएपनि सुर्खेतमा कांग्रेसले सधैं जित्दै आएको चिंगाड गुमाएको छ । भेरीगंगा पनि कांग्रेसले गुमाउँदा लेकबेशी भने जित्न पुग्यो । एक्लाएक्लै चुनाव लड्दा सात पालिका जित्ने दाबी गरेको कांग्रेसले बराहताल, पञ्चपुरी, गुर्भाकोट र लेकबेशीमा विजयी भयो । चौकुने गाउँपालिका भने माओवादीले जित्यो ।

‘टिकट वितरणमा सन्तुष्टि भएका कारण एमालेले गठबन्धनका बाबजुद सफलता पाएको हो’, एमाले उपाध्यक्ष कुलमणि देवकोटा भन्छन्, ‘पार्टी लेकबेशीमा भन्दा अन्यत्र चुकेन । वडासम्मै गठबन्धन बनाएका सत्तारुढ दललाई सुर्खेतमा हामीले पराजित गर्न सफल भएका हौं ।’

‘सुर्खेतका कम्तिमा पाँच पालिका हामी जित्छौं भनेर पहिले नै भनेका थियौं । प्राविधिक कारण साढे चार पालिका जित्न पुग्यौं’, यामलाल कँडेलले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर