इतिहास रच्दै बालेन्द्र साह बने काठमाडौंका मेयर – Nepal Press

इतिहास रच्दै बालेन्द्र साह बने काठमाडौंका मेयर

काठमाडौं । अभूतपुर्व नतिजा निकाल्दै र्‍यापर तथा स्ट्रक्चरल इन्जिनियर बालेन्द्र साह (बालेन) काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । उनले २३४२६ मतको फराकिलो अन्तरका साथ जित हासिल गरे ।

महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेनले बलियो जनसंगठन भएका कांग्रेस र एमालेका उम्मेदवारहरूलाई हराउँदै मेयर जितेका हुन् । ४६ सालपछि काठमाडौं महानगरमा स्वतन्त्र व्यक्ति मेयर बनेको पहिलोपटक हो ।

भर्खरै प्रकाशित मत परिणाम अनुसार बालेनले कुल मत ६१७६७ ल्याएका छन् । दोस्रो स्थानमा रहेकी कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३८३४१ भोट ल्याइन् । एमालेका उम्मेदवार केशव स्थापित ३८११७ मतका साथ तेस्रो स्थानमा रहे ।

अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले पनि १० हजार भोट कटाउन सफल भए । १३७७० भोटका साथ उनी चौथो स्थानमा छन् भने राप्रपाका मदनदास श्रेष्ठ ५७७० मत ल्याएर पाँचौ स्थानमा रहेका छन् ।

मेयरमा जितेका बालेन काठमाडौंको वडा नम्बर ९ को स्थायी बासिन्दा हुन् । उनी तीनकुने, गैरिगाउँमा बसोबास गर्छन् । मधेसी मुलका बालेनको पुरानो घर भने महोत्तरी जिल्लामा छ । काठमाडौंको मेयर बन्ने उनी पहिलो मधेसी मुलका नागरिक पनि हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर