प्रदेश १ का १४ जिल्लामा क-कसले पाउँदैछ जिल्ला समन्वय समितिकाे नेतृत्व ? – Nepal Press

प्रदेश १ का १४ जिल्लामा क-कसले पाउँदैछ जिल्ला समन्वय समितिकाे नेतृत्व ?

विराटनगर । प्रदेश १ का १४ जिल्लाका १३६ पालिकाको अन्तिम मतपरिणम सार्वजनिक भएसँगै दलहरु जिल्ला समन्वय समितिको नेतृत्वको हत्याउने होडमा लागेका छन् । प्रदेश १ का १३७ स्थानीय तहमध्ये उदयपुरको त्रियुगा नगरपालिकामा मत गणना जारी छ ।

एकल बहुमत पुगेका जिल्लामा ठूलो दल बनेको नेपाली कांग्रेस, नेकपा एमालेलगायत समन्वय समिति हाक्ने व्यक्तिको छनाेटमा जुटेका छन् । एकल बहुमत नपुग्ने जिल्लामा अन्य दलसँगको तालमेलमा समन्वय समितिको प्रमुख आफ्नो पक्षमा पार्न दलहरुले छलफल सुरु गरेका छन् ।

२०७४ सालमा एमालेले प्रदेशका १० वटा जिल्ला समन्वय समितिको प्रमुख र उप्रमुख एक्लै जितेको थियो । यसपटक उसले झापा, मोरङ र धनकुटामा मात्र जिल्ला समन्वय समितिमा एकल बहुमत पाएकाे छ । बाँकी जिल्लामा अन्य दलसँगको तालमेलमा अगाडि बढ्ने तयारी भइरहेकाे एमालेले जनाएको छ ।

७ पालिका रहेको धनकुटामा १४ जना मतदाता छन् । यहाँ जिल्ला समन्वय समिति एकल बनाउन ८ मत आवश्यक हुन्छ । जसमा एमालेसँग बहुमतसहित ९ मत छ । कांग्रेससँग ४ र माओवादी केन्द्रसँग १ मत रहेकाे छ ।

प्रदेश १ मा सबैभन्दा बढी १७ स्थानीय तह मोरङमा रहेकाे छ । जसअनुसार यहाँ ३४ जना मतदाता छन्। यहाँ जिल्ला समन्वय समिति एकल बनाउन १८ मत आवश्यक हुन्छ । माेरङमा एमालेसँग २१, कांग्रेससँग १२ र माओवादी केन्द्रसँग १ मत रहेकाे छ । यहाँ एमालेको एकल जिसस बन्नेछ ।
१५ स्थानीय तह रहेको झापामा पनि एमाले एक्लैकाे जिसस बन्नेछ । एमालेसँग १८ जना मतदात रहेका छन् । झापामा कांग्रेससँग ९ र राप्रपासँग ४ मत रहेकाे छ ।

इलाममा भने गठबन्धन र एमालेको बराबरी मत छ । १० पालिका रहेकाे इलाममा एमालेसँग १०, जसपासँग १, कांग्रेससँग ७ र एकीकृत समाजवादीसँग २ मत रहेकाे छ । जिल्ला समन्वय समितिका लागि बहुमत जुटाउन ११ मत आवश्यक छ। त्यसैले यहाँ एकल जिल्ला समन्वय समिति बन्ने सम्भावना कम छ । एमालेसँग कांग्रेस एकीकृत समाजवादी र जसपा जसले तालमेल गरे पनि सजिलैसँग जिसस बन्ने अवस्था यहाँ रहेकाे छ ।

एमालेका केन्द्रीय सदस्य विनोद ढकालले मोरङ, झापा र धनकुटामा पार्टीले एक्लै जिसस बनाउन सक्ने अवस्थामा रहेको बताए । त्यसबाहेकका जिल्लामा स्थानीय आवश्यकताको आधारमा सम्बन्धित जिल्ला नेतृत्वलाई दलहरुसँग समन्वय र सहकार्य गर्ने जिम्मा दिइएको उनले जानकारी दिए ।

२०७४ सालमा कांग्रेसले सुनसरी र ओखलढुंगामा एकल समन्वय समिति गठन गरेकाे थियो । एमालेले माओवादी केन्द्रसँग तालमेल गरेर पाँचथर, भोजपुर, मोरङ र सोलुखुम्बुमा प्रमुख जितेको थियो । ताप्लेजुङ, इलाम, झापा, खोटाङ, धनकुटा, उदयपुर, तेह्रथुम र संखुवासभामा एमालेले एक्लै जिससको प्रमुख र उपप्रमुख जितेको थियो ।

यसपटक सुनसरी र सोलुखुम्बुमा कांग्रेससँग एक्लै जिसस गठन गर्ने मत रहेको छ । बाँकी जिल्लामा सत्तारुढ गठबन्धन कायम रहेको अवस्थामा जिससमा एमालेको प्रतिनिधित्व हुनेछैन । सुनसरीका कांग्रेसले ७ प्रमुख र ६ उपप्रमुख जितेको छ । सुनसरीमा एमालेले ३ प्रमुख र ५ उपप्रमुख, माओवादीले १ उपप्रमुख, जसपाले १ प्रमुख र स्वतन्त्रले १ प्रमुख जितेका छन् ।

८ स्थानीय तह रहेको सोलुखुम्बुमा कांग्रेसले ५ प्रमुख र ५ उपप्रमुख जितेकाले जिसस गठन गर्न एक्लै बहुमत छ । जिल्लामा एमालेले २ प्रमुख र १ उपप्रमुख तथा माओवादी केन्द्रले १ प्रमुख र २ उपप्रमुख जितेको छ ।

भोजपुर, तेह्रथुम, खोटाङ, उदयपुर, ताप्लेजुङ, संखुवासभा, पाँचथरमा सत्तारुढ गठबन्धनले जिसस गठन गर्ने भएको छ । त्यसमध्ये कतिपय जिल्लामा त निर्वाचन अगाडि नै दलहरुले जिससको भागबन्डासमेत गरिसकेका छन् ।

भोजपुरमा ९ स्थानीय तह रहेकोमा समन्वय समितिको लागि गठबन्धनसँग ११, एमालेसँग ६ र स्वतन्त्रसँग १ मत रहेको छ । जिल्लामा कांग्रेसले ३ प्रमुख र ३ उपप्रमुख, माओवादीले २ प्रमुख र ३ उपप्रमुख, एमालेले ३ प्रमुख र ३ उपप्रमुख तथा स्वतन्त्रले १ प्रमुख जितेका छन् । जिल्लाको समन्वय समितिको प्रमुखमा जसपा र उपप्रमुख माओवादीले लिने सहमति दलहरुले यसअघि नै गरिसकेको बताइएको छ ।

९ स्थानीय तह रहेकाे ताप्लेजुङमा कांग्रेसले ४ प्रमुख र २ उपप्रमुख, एमालेले ३ प्रमुख र ३ उपप्रमुख, माओवादीले २ प्रमुख र ३ उपप्रमुख तथा एकीकृत समाजवादीले १ उपप्रमुख जितेको छ । जिल्लामा निर्वाचन अगाडि नै दलहरुले समन्वय समितिको प्रमुख माओवादी र उपप्रमुख एकीकृत समाजवादी हुने सहमति गरिसकेका छन् ।

यसैगरी ६ स्थानीय तह रहेको तेह्रथुममा कांग्रेसले ३ प्रमुख र २ उपप्रमुख, एमालेले ३ प्रमुख र २ उपप्रमुख र माओवादीले २ उपप्रमुख जितेको छ । समन्वय समितिको १२ मतमध्ये एमालेसँग ५ र गठबन्धनसँग ७ मत छ । तेह्रथुममा जिसस गठन गर्दा एकीकृत समाजवादीको प्रमुख र माओवादीको उपप्रमुख रहने दलहरुको सहमति छ ।

यस्तै खोटाङका १० स्थानीय तहमध्ये कांग्रेसले ६ प्रमुख र ४ उपप्रमुख, एमालेले २ प्रमुख र २ उपप्रमुख, माओवादीले २ प्रमुख र २ उपप्रमुख तथा जसपा र एकीकृत समाजवादीले १-१ उपप्रमुख जितेका छन् । यहाँ गठबन्धनकै सहमतिबाट जिसस बन्नेछ ।

उदयपुरका ८ स्थानीय तहमध्ये एक तहको परिणाम आउन बाँकी रहेको भए पनि जिल्लामा गठबन्धनले नै जिसस बनाउने निश्चित भइसकेको छ । ७ स्थानीय तहको परिणाम आउँदा जिल्लामा कांग्रेसले २ प्रमुख र ४ उपप्रमुख, एमालेले १ प्रमुख र २ उपप्रमुख, माओवादीले ३ प्रमुख र एकीकृत समाजवादीले १ प्रमुख जितेका छन् ।

संखुवासभाका १० स्थानीय तहको परिणामअनुसार जिससको लागि २० मतमध्ये गठबन्धनसँग १२ र एमालेसँग ८ मत रहेको छ । जिल्लामा कांग्रेसले ६ प्रमुख र ३ उपप्रमुख, एमालेले ४ प्रमुख र ४ उपप्रमुख, माओवादीले १ उपप्रमुख र एकीकृत समाजवादीले २ उपप्रमुख जितेको छ ।

पाँचथरका ८ स्थानीय तहमध्ये एमालेले १ प्रमुख र २ उपप्रमुख, कांग्रेसले ६ प्रमुख र १ उपप्रमुख, माओवादी केन्द्रले १ प्रमुख र ५ उपप्रमुख जितेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर