केन्द्रीय गठबन्धन भएका १७ सहरको नतिजा-उपमेयरमा एमालेको दुई तिहाइ, मेयरमा एक चौथाइ स्वतन्त्र – Nepal Press

केन्द्रीय गठबन्धन भएका १७ सहरको नतिजा-उपमेयरमा एमालेको दुई तिहाइ, मेयरमा एक चौथाइ स्वतन्त्र

काठमाडौं । सत्ता गठबन्धनले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा केन्द्रबाटै सिट बाँडफाँट गरेर चुनावमा गएको थियो । गठबन्धन अनुसार मत ट्रान्सफर हुँदा यी सबै ठूला नगरमा गठबन्धनका जित निश्चित थियो । तर नतिजा गठबन्धनले सोचेजस्तो आएन ।

देशको राजधानी काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह जित्दा अन्य ५ वटा महानगरको मेयर भने गठबन्धनले नै जितेका छन् । तर उपमेयरमा ठिक उल्टो नतिजा आएको छ ।

६ वटा महानगरपालिकामा एउटा पनि मेयर जित्न नसकेको नेकपा एमालेले एक्लै लडेर गठबन्धनलाई ४ वटा महानगरपालिकाको उपमेयरमा भने पराजित गर्‍यो । एमालेले विराटनगर, ललितपुर, काठमाडौं र पोखराको उपमेयर जित्दा गठबन्धनबाट वीरगन्ज र भरतपुरमा कांग्रेसले उपमेयर जितेको छ ।

महानगरपालिकामध्ये माओवादीले पाएको ललितपुर, नेकपा एसले पाएको काठमाडौं, जनता समाजवादी पार्टीले पाएको विराटनगरमा तीन वटै पार्टीले उपमेयर जित्न सकेनन् । मेयरमा फराकिलो मतान्तरले गठबन्धन जित्दा उपमेयरमा भने अझ फराकिलो मतान्तरले एमालेले जितेको छ ।

शिल्पा कार्की, विराटनगर

विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका नागेश कोइराला करिब १० हजार मतान्तरले एमालेमाथि हाबी हुँदा सोही महानगरको उपमेयरमा भने एमालेकी शिल्पा कार्कीले ११ हजार मतान्तरले गठबन्धनलाई पराजित गरिन् ।

उनीसँग प्रतिस्पर्धा गरेका जसपा अध्यक्ष अमरेन्द्र यादवले १४ हजार २१९ मत ल्याउँदा विजेता एमालेकी शिल्पा कार्कीले २५ हजार ६८० मत प्राप्त गरिन् । यो आफैँमा आश्चर्यजनक नतिजा हो ।

विराटनगर कांग्रेसको गढ हो । विगतमा एक्लै चुनाव लड्दा फराकिलो मतान्तरले जितेको कांग्रेसले यस पटक विराटनगरका वडा जितेको हिसाबले दोस्रो ठूलो दल जसपा, माओवादी केन्द्र र नेकपा एसको समेत समर्थन पाएको थियो । तर नतिजा फरक आयो ।

विद्यार्थी राजनीतिबाट अघि बढेकी युवा उद्यमी शिल्पाको चुनावी जितलाई एमालेले विराटनगरमा आफ्नो प्रभाव विस्तारको अर्थमा लिएको छ । किनकी उपमेयरसहित बहुमत वडाध्यक्ष पनि एमालेले जितेको छ ।

मन्जली शाक्य, ललितपुर

विराटनगर मात्र होइन सत्ता गठबन्धनले केन्द्रीयस्तरबाटै ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको भागबण्डा लगाएको थियो ।

ललितपुर महानगरमा कांग्रेसका चिरिबाबु महर्जन गठबन्धनको सहयोगका करिब दोब्बर मतले मेयरमा निर्वाचित हुँदा उपमेयरमा भने एमालेकी मन्जली शाक्य आस्था १० हजार मतान्तरले विजयी भइन् ।

शाक्य २५ हजार ८४ मतसहित विजयी हुँदा गठबन्धनका माओवादी उम्मेदवार बाबुराजा बज्राचार्य १८ हजार ७५२ मता रोकिए । अघिल्लो पटक मन्जली माओवादीबाट उपमेयर उम्मेदवार तय भए पनि मतदाता नामावलीमा नाम नभेटिएपछि उम्मेदवार बन्न पाएकी थिइनन् ।

पार्टी विभाजनपछि उनी माओवादी छाडेर एमालेतिर लागिन् । उनी ललितपुर महानगर कमिटीको अध्यक्ष पनि हुन् ।

मञ्जु गुरुङ, पोखरा

मेयरमा गठबन्धनका उम्मेदवार धनराज आचार्यसँग एमालेका उम्मेदवार कृष्ण थापा ६ हजार मतले पराजित हुँदा उपमेयरमा भने एमालेकी मञ्जु गुरुङ ४ हजार मतान्तरले कांग्रेसकी कोपिला रानाभाटलाई हराएर दोस्रो पटक उपमेयरको कुर्सीमा पुगिन् ।

गुरुङले ६० हजार ५४६ मत पाउँदा रानाभाट ५६ हजार ६६३ मतमा रोकिइन् । एमाले केन्द्रीय सदस्य समेत रहेकी गुरुङले पार्टीभित्रको अन्तर्घातबाट मेयर पराजित हुँदा एमालेको मत सुरक्षा गर्न सकेका कारण जित सम्भव भएको हो ।

सुनिता डंगोल, काठमाडौं

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको जित निश्चित भइसकेको छ ।

मतगणना नसकिँदै उपमेयरमा एमालेकी सुनिता डंगोल विपक्षी उम्मेदवारभन्दा तीन गुण बढी मतका साथ औपचारिक विजयको पर्खाइमा छन् ।

सुनिता डंगोलले एमालेको पुरै मत पाइन् भने अन्य स्वतन्त्र मत पनि सुरक्षित गर्न सकेका कारण एमालेको इज्जत जोगियो । पूर्व मिस नेवा सुनिताले सुरुमा स्वतन्त्र मेयर उम्मेदवार बन्ने भनेकी थिइन्, पछि उनलाई एमालेले उपमेयरमा अघि सारेको हो । अब काठमाडौंको उपमेयरमा सुनिताले स्थान सुरक्षित गरेकी मात्र छैनन्, महानगरमा एमालेको तर्फबाट उनैले नेतृत्व गर्ने भएकी छन् ।

उपमहानगरमा दुई तिहाइ उपमेयर

महानगरपालिकातर्फ एमालेले मेयरमा जित्न नसके पनि उपमहानगरपालिकामा कांग्रेसको बराबर तीन वटा मेयर जितेको छ । उपमेयरमा भने एमालेले एक्लै दुई तिहाइ जितेको छ ।

इटहरी, जितपुर सिमरा, कलैया, बुटवल, घोराही, धनगढी र तुलसीपुर उपमहानगरपालिकामा एमालेले उपमेयर जितेको छ । तीमध्ये कलैया, तुलसीपुर र घोराहीमा मेयर उपमेयर दुवै पद जितेको हो । जनकपुर र हेटौंमा कांग्रेसले उपमेयर जितेको छ भने धरानमा माओवादी केन्द्रले जितेको छ ।

इटहरी, बुटवल र तुलसीपुरमा उपमेयर पाएको नेकपा एसले कतै पनि जित निकाल्न सकेन । जसपाले नेपालगन्जमा उपमेयर जितेको छ ।

एमालेबाट इटहरीमा संगीता चौधरी, जितपुर सिमरामा भोला अधिकारी, कलैयामा रौशन पर्विन, बुटवलमा सावित्री अर्याल, घोराहीमा हुमा डिसी, तुलसीपुरमा स्यानी चौधरी र धनगढीमा कन्दकला राना थारुले उपमेयर जितेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर