‘मरेका मान्छेले भोट हालेको’ बुढीगंगाका निर्वाचन अधिकृत हटाइए, आयोग अझै अनिर्णीत – Nepal Press

‘मरेका मान्छेले भोट हालेको’ बुढीगंगाका निर्वाचन अधिकृत हटाइए, आयोग अझै अनिर्णीत

काठमाडौं । निर्वाचन आयोगले बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचन अधिकृत हेरफेर गरेको छ ।

नगरपालिकाका विभिन्न ६ वटा मतदान केन्द्रमा मृतकको नाममा समेत मतदान भएको र ९९ दशमलव ५ प्रतिशतसम्म भोट खसेको देखिएपछि पुरानोलाई हटाएर नयाँ अधिकृत तोकिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।

आयोगको लगातार दुई दिन बसेको बैठकले बुढीगंगाका ती मतदान केन्द्रमा पुनः मतदान गर्ने वा गणना गर्ने भन्ने टुंगो लगाउन सकेको छैन ।

आयोगले बुढीगंगा नगरपालिकाका निर्वाचन अधिकृत निरञ्जन स्थापितलाई हटाएर उनको ठाउँमा जिल्ला अदालतका श्रेष्तेदार पुष्पराज पाण्डेलाई खटाएको छ ।

पाण्डेले ती मतदान केन्द्रमा खसेको मतको बारेमा मौखिक प्रतिवेदन दिएपछि आयोग निर्णयमा पुग्ने थपलियाले बताए । उनका अनुसार एउटा मतदान केन्द्रमा १७०९ मतदाता रहेकामा १६९९ मत खसेको छ । कांग्रेस र एमालेले एक अर्कामाथि बुथ कब्जाको आरोप लगाएका छन् ।

आयोगले बुढीगंगाको सन्दर्भमा कानूनी र प्राविधिक कुरा मात्र नहेरेर निर्वाचनको सैद्धान्तिक पक्षबाट निर्णय लिनुपर्ने अवस्था आएको थपलियाले बताए । उनले ९९ प्रतिशतसम्म मत खसेको ठाउँमा मतगणना गरेर भोलिका निर्वाचनमा यस्तै अभ्यासलाई स्थापित गर्न नहुनेमा आफूहरू सचेत रहेको बताए ।

थपलियाले भने–निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई पनि एउटा सबक सिकाउनुपर्छ । यसलाई नजिरका रूपमा स्थापित गर्ने कि नगर्ने भन्ने पनि छ । मरेका मान्छ पुष्पक विमान चढेर आए,भोट हालेर फेरि स्वर्गमै फर्किए भनेर भोलि तपाईँहरूले मिडियामा समाचार लेख्ने ठाउँ पनि दिनु भएन ।

त्यसैले पुनः मतदान वा गणना जे गर्ने हो विवादित सबै मतदान केन्द्रको सन्दर्भमा एउटै निर्णय गर्छौँ ।

कांग्रेसले पुनः मतदानको माग गर्दै आएको छ भने एमालेले गणनाको माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर