एमाले महासचिव पोखरेल भन्छन्- सत्ता गठबन्धनले गलत राजनीतिक संस्कार बसाल्यो – Nepal Press

एमाले महासचिव पोखरेल भन्छन्- सत्ता गठबन्धनले गलत राजनीतिक संस्कार बसाल्यो

रुपन्देही । नेकपा एमालेका महासचिव तथा लुम्बिनीमा प्रमुख प्रतिपक्ष दलका नेता शंकर पोखरेलले सरकारमै सहभागी दलका कार्यकर्ताले स्थानीय तहको निर्वाचनमा अशान्ति मच्चाएको बताएका छन् ।

लुम्बिनी प्रदेश सभाको दसौँ बैठकको दोस्रो बैठकमा विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता तथा निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले सरकारमै रहेका दलले गरेको यस्तो गलत राजनीतिक चरित्रले निर्वाचन पद्धतिमै शंका उत्पन्न गराएको बताएका छन् ।

‘यस्तो अवाञ्छित क्रियाकलापले लोकतान्त्रिक संस्कारलाई संकटमा पार्दछ, यो विधि कसैका लागि हित हुनेछैन’ उनले भने, ‘राज्यविरुद्धका शक्ति विरुद्ध पो एकजुट हुने हो, बलियो राज्यशक्ति निर्माणका लागि पो एकजुट हुने हो यहाँ त सत्तामा जानका लागि गठबन्धन भएको छ, यसले हामीलाई कहाँ पुराउँछ ?’

पोखरेलले स्थानीय तहको निर्वाचनको परिणामलाई जनमतको हिसाबले पार्टीले स्विकार्नुको कुनै विकल्प नभएको तर निर्वाचनका लागि सत्तारुढ दल तथा सरकारबाट भएका गतिविधि लज्जास्पद भएको बताएका थिए ।

‘कतिपय स्थानमा त शान्तिपूर्ण भयो तर कतिपय स्थानमा नागरिकले त्रासमा मत दिनुपर्‍यो, अनाहकमा ज्यान गुमाउनुपर्‍यो, अंगभंग हुनुपर्‍यो, यो सबै सत्तारुढ दलकै कार्यकर्ताबाट भएको छ’, पोखरेलले भने ।

स्थानीय तहको निर्वाचनका लागि एमाले विरुद्ध बनेको गठबन्धनलाई अपवित्र भन्दै एमाले नेता पोखरेलले नीति, विचार र सिद्धान्त नमिल्ने दलहरू एमालेलाई हराउनकै लागि गरेको र सत्ता स्वार्थका लागि मात्रै भएकाले दिगो नहुने बताए ।

पोखरेलले नीति तथा कार्यक्रम र बजेट तयारीको छलफल तथा प्रदेश सभाको समीक्षाकै समय आएकाले सदन सुचारु गर्ने निर्णय गरेको बताए ।

एमालेले उठाएका मागप्रति सत्ता पक्षले कुनै ध्यान नदिएको र गतिरोध खोल्न जिम्मेवार नभएको आरोप लगाउँदै पोखरेलले जनताप्रति उत्तरदायी बनेर प्रदेश र देशमा आएको आर्थिक संकट समाधानका लागि सदन खोलेको बताएका थिए ।

नेता पोखरेलले गठबन्धन सरकारले अघिल्लो सरकारले सदनबाट पास गरेको नीति तथा कार्यक्रम र त्यही आधारमा बनाएको बजेटलाई प्रतिस्थापन गरेर चोर बाटोबाट बजेट ल्याएको आरोप लगाएका थिए ।

‘कुनै विधिबाट ल्याएको नीति तथा कार्यक्रम र बजेट केबल स्वार्थमा भरमा हटाइयो, यसले कसैलाई फाइदा गरेको छैन, अहिले प्रदेशका विकासमा कस्तो प्रभाव परेको छ सबैलाई प्रस्ट हुन्छ, यस्तो गलत राजनीतिक संस्कारले सिंगो व्यवस्थामाथि नै प्रश्न उठाएको छ’, पोखरेलले भने ।

‘सत्ता पक्षले कुनै जिम्मेवारी नै लिन खोजेन, प्रदेशवासीका समस्या झन् थपिए, राजनीतिक संस्कारका कुनै काम भएनन्, तर आर्थिक संकट चुलिँदै गयो यस्तो अवस्थामा हामीले पनि वास्ता नगरी बस्न भएन भन्ने निष्कर्षका साथ सदन सुचारु गरेका हौँ’, पोखरेलले भने ।

आफ्नो दलले कारबाही सिफारिस गरेका दुई सांसदलाई कारबाही नगरी सभामुखले गलत गरेको उल्लेख गर्दै पोखरेलले निष्पक्ष भूमिकाका लागि प्रदेश सभा र सभामुखलाई आग्रह गरेका थिए ।

११ महिनादेखिको अवरोध हट्यो

साउन १ गतेदेखि अवरुद्ध लुम्बिनी प्रदेशसभाको अवरोध हटेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गरेको अवरोध हटाएपछि लामो समयदेखि अवरुद्ध सदनका काम सुचारु भएका छन् ।

साउन २८ गते एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारलाई विस्थापन गर्दै लुम्बिनीमा पाँच दलको सरकार बनेको थियो । त्यो गठबन्धनमा एमालेको चुनाव चिन्हबाट निर्वाचन जितेका सांसद विमला वली र अजय शाहीसमेत सहभागी भएपछि उनीहरूलाई हटाउन माग गर्दै एमालेले सदन बहिस्कार गर्दै आएको थियो ।

मङ्गलवारदेखि संसद्को नियमित प्रक्रिया सुरु भएको प्रमुख प्रतिपक्ष दल एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।

ढकालले बजेट, नीति तथा कार्यक्रमको तयारीलगायतका महत्त्वपूर्ण विषयमा सदनमा छलफल गर्नुपर्ने भएकाले सदनमा सुचारु गरेको बताए ।

प्रदेशसभाको १० औँ अधिवेशनको दोस्रो बैठकमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सञ्चारमाध्यम व्यवस्था गर्न बनेको सदनमा विधेयक पेस गरेका छन् । सदन बुधवार बस्ने गरी स्थगित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर