एमालेको मत सुरक्षित गर्दा पोखराको उपमेयरमा मञ्जु पक्का, कृष्ण थापाले पाएनन् पार्टीकै मत – Nepal Press

एमालेको मत सुरक्षित गर्दा पोखराको उपमेयरमा मञ्जु पक्का, कृष्ण थापाले पाएनन् पार्टीकै मत

पोखरा । गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यको जित पक्का हुँदा उपमेयरमा भने नेकपा एमालेकी मन्जुदेवी गुरुङको जित लगभग निश्चित भएको छ ।

मेयरमा एमालेका उम्मेदवार कृष्ण थापा करिब ५ हजार मतले पछि पर्दा उपमेयरमा एमालेकी उम्मेदवार गुरुङ ४ हजार मतले कांग्रेसकी कोपिला रानाभाटभन्दा अगाडि छन् ।

बाँकी गणनामा पनि मञ्जुकै मत बढी आइरहेकाले पोखराको उपमेयरमा एमालेको जित पक्का भएको हो । मञ्जु दोस्रो पटक पोखराको उपमेयर बन्दै छिन् । अन्यत्र गठबन्धनमा कांग्रेसका उम्मेदवारले जित्दा गठबन्धन दलका उम्मेदवारले उपमेयर हारिरहेका बेला पोखरामा भने उल्टो भएको छ ।

एमाले नेताहरूले पोखरामा एमालेकै नेता कार्यकर्ताले खुलेर विपक्षी उम्मेदवारलाई मेयरमा मत दिएकाले उपमेयरमात्र जित्न सकिएको दाबी गरेका छन् । पोखरामा हालसम्म एमालेका मेयरले ५१ हजार १८५ मत पाउँदा उपमेयरमा भने ५८ हजार ५८२ मत मञ्जुले पाएकी छन् ।

मेयरमा गठबन्धनबाट नेकपा एसका उम्मेदवार धनराज आचार्य ५६ हजार ४७१ मतसहित अग्रता लिँदा उपमेयरमा कांग्रेस उम्मेदवार रानाभाटको ५४ हजार ५४७ मत छ । आचार्यले एमालेको उल्लेख्य मत पाए पनि रानाभाटले गठबन्धनकोमात्र मत पाएकाले पछि परेको नेताहरू बताउँछन् ।

मञ्जुले एमालेको मत सुरक्षित गर्दा कृष्ण थापाले सो मत आफूतिर तान्न नसकेपछि पोखराको मेयरमा एमाले हार्ने निश्चित भएको छ । वडातर्फमा पनि धेरै ठाउँमा वडाध्यक्षबाहेक चार सदस्य एमालेका जित्ने र वडाध्यक्ष भने कांग्रेसले जित्ने अवस्था आउनुमा अन्तर्घात नै प्रमुख कारण रहेका महानगर कमिटीका अध्यक्ष दिलीप न्यौपानेले बताए ।

न्यौपानेले भने– पोखरामा हाम्रो करिब ६० हजार मत हो । उपमेयरले पार्टीको लगभग सबै मत पाउनुभएको छ र जित्ने बेलासम्म ६० हजार कट्छ होला । तर मेयरमा पार्टीको जिम्मेवार कार्यकर्ताले विपक्षलाई मत दिएको देखियो । यो त गम्भीर समीक्षाको विषय बन्छ । पार्टीमा यो खालको अनुशासनहीनताले हामी चिन्तित छौँ ।

प्रत्येक वडाबाट २ देखि ३ सय मत पार्टीभित्रबाटै योजनाबद्ध ढंगले मेयरमा गठबन्धनलाई गएको एमाले नेताहरूको भनाइ छ । यदि मेयरमा खाली राखेको भए पनि एमालेले नै जित्ने थियो भन्ने न्यौपानेको दाबी छ । तर पैसा नै लिएर भोट हालेको अडियोहरु समेत सार्वजनिक भएपछि एमालेमा खैलाबैला छ ।

दीपक पौडेलले पाएको टिकट खोस्न उनको पुरानो सिसिटिभी भिडिओ सार्वजनिक गरिएपछि कृष्ण थापालाई पौडेल पक्षको पनि मत आएन । थापा खगराज अधिकारी निकट भएकाले अर्को पक्षले घोषणा नै गरेर असहयोग अभियान चलाएको थियो । मञ्जु गुरुङलाई मेयर उम्मेदवार बनाइएको भए परिणाम अर्कै आउने एमालेको विश्लेषण छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर