पोखराको १५ औं मेयरमा आचार्यको जित सुनिश्चित – Nepal Press

पोखराको १५ औं मेयरमा आचार्यको जित सुनिश्चित

पोखरा । पोखराको १५ औं मेयरको रुपमा धनराज आचार्य निर्वाचित हुने निश्चित भएको छ । आचार्यले मतान्तर धेरै बनाएर जित सुनिश्चित गरेका हुन् । हालसम्म गणना भएको १ लाख ३८ हजार २ सय ११ मत गन्दा सत्तागठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका आचार्यले ५६ हजार ४ सय ७१ मत पाएका छन् ।

निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण थापाले ५१ हजार ५ सय ८५ मत मात्रै पाए । अझै ५ हजार मत गन्‍न बाँकी छ ।

उपमेयरमा भने एमालेकी मन्जु गुरुङ जित नजिक पुगेकी छिन् । उनले कांग्रेसकी कोपिला रानाभाटलाई ४ हजार ३५ मत अन्तरले पछि पारेकी छिन् । गुरुङले ५८ हजार ५ सय ८२ मत पाउँदा रानाभाटको पोल्टामा ५४ हजार ५ सय ४७ मत परेको छ ।

२०१६ सालमा नगरपञ्चायतको रुपमा गठन भएको पोखरामा यसअघि १४ जना मेयरले काम गरिसकेका छन् । २०१६ देखि २०१८ सम्म पहिलो मेयरका रुपमा शिवबहादुर थापाले काम गरे । २०१९ देखि २०२४ सम्म नगेन्द्रबहादुर रायमाझी, २०२४ देखि २०२८ सम्म अम्बरबहादुर कार्की मेयर बने । २०२८ देखि २०३१ सम्म रुद्रबहादुर कार्की, २०३१ देखि २०३२ सम्म दीलिपकुमार पालिखे र त्यसपछिको ७ महिना रमेशबहादुर भट्टराई मेयर बने ।

२०३२ देखि २०३८ सम्म गणेश शेरचन, २०३८ देखि ०३९ सम्म श्रीप्रसाद गुरुङ, २०३९ देखि ०४१ सम्म उत्तमबहादुर पुन, २०४१ देखि २०४६ सम्म सूर्यबहादुर केसीले मेयरका रुपमा काम गरे । २०४९ पछि भने स्थानीय निकायको रुपमा निर्वाचन भयो । पहिलो मेयरकोरुपमा कांग्रेसका भोला थापा निर्वाचित भए ।

२०५४ मा अहिलेका एमाले उम्मेदवार कृष्ण थापा नै मेयर भएर काम गरिसकेका छन् । त्यसपछि २०६० सालमा हर्कबहादुर गुरुङलाई राजाले मेयरमा नियुक्त गरे । २०६२ सालमा चुनाव भयो, तर तत्कालीन ७ दलले बहिस्कार गरे । भीमसेन थापा राप्रपाबाट मेयर बने ।

नयाँ संविधान जारी भएपनि राज्य पुनः संरचनाबाट २०७४ मा पोखरा महानगरपालिका बन्यो । एमालेका मानबहादुर जिसी १४औँ मेयरका रुपमा निर्वाचित भएका थिए । उनको ५ वर्षे कार्यकाल सकिएपछि अहिले १५ औँ मेयरका रुपमा एमालेबाटै विभाजित भएको एकीकृत समाजवादीका जिल्ला अध्यक्षसमेत रहेका आचार्य पोखराको बागडोरमा पुगेका छन् । पोखराको मेयरमा २३ जनाको प्रतिस्पर्धा थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर