काठमाडौंको उपमेयरमा राप्रपाको २ हजार भोट कसरी भयो गोलमाल ? (भिडिओ) – Nepal Press

काठमाडौंको उपमेयरमा राप्रपाको २ हजार भोट कसरी भयो गोलमाल ? (भिडिओ)

काठमाडौं । काठमाडौंको उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलको जित लगभग सुनिश्चित भइसकेको छ । त्यसैले उपमेयरमा कसले कति भोट ल्याइरहेका छन् भनेर धेरैलाई अब कौतुहल पनि छैन ।

तर, अरुलाई कौतुहल नभए पनि उम्मेदवारलाई त हुन्छ नै । उपमेयरको दौडमा तेस्रो नम्बरमा रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार विनिता मगैया हिजो आफ्नो मतपरिणाम सुनेर एकाएक हौसिइन् । काठमाडौंको मतगणना भट्याउने क्रममा क्रममा ६ गते निर्वाचन आयोगका प्रतिनिधिले राप्रपाले उपमेयरमा ७ हजार ४ सय ५२ भोट ल्याएको बताए ।

त्यसबेला काठमाडौं-३२ को मतगणना चलिरहेको थियो । एकाएक दुई हजारभन्दा बढी भोट बढ्दा मगैया सुखद आश्चर्यमा परिन् । मनमनै काठमाडौं ३२ का मतदातालाई धन्यवाद पनि दिइन् ।

तर, त्यसको भोलिपल्टै उनको खुसी लुटियो । आयोगका प्रतिनिधिले फेरि भट्याए- राप्रपा उपमेयरकी उम्मेदवारको भोट ५ हजार ४ सय ८७ । भोट बढ्नुको साटो एकैचोटि २ हजार घटेपछि राप्रपामा खैलाबैला भयो । पार्टीका महानगर अध्यक्ष केदार धमलासहितका नेताहरू प्रमुख निर्वाचन अधिकृतकहाँ गुनासो लिएर पुगे । प्रमुख निर्वाचन अधिकृत राजु खतिवडाले उनीहरूलाई सम्झाएर पठाए ।

भएको के थियो ?

आयोगका अनुसार ५ गते ३२ नम्बर वडाको २ हजार चानचुन मत गनिएको थियो । त्यसमा राप्रपाले दुई-अढाई सय भोट ल्याएको थियो ।
आयोगले हरेक दिनको मतगणना सकिएपछि मुचुल्का उठाउँछ । यस क्रममा एउटा फारम भर्नुपर्छ, जसमा ‘गनिमत’ भन्ने एउटा कोलम हुन्छ । यो कोलममा कुल गनिएको मत प्रपिष्ट गर्नुपर्छ । तर, भुलवस आयोगका कर्मचारीले कुल गनिएको मतलाई राप्रपाको कोलममा हालिदिएछन् । यसरी राप्रपाको भोट एकैपटक दुई हजार थपिन पुग्यो ।

भोलिपल्ट भोट गणनामा गडबड देखिएपछि फेरि रुजु गरियो । जसमा अघिल्लो दिन गरिएको त्रुटी फेला पर्यो । अनि राप्रपाको थपिएको भोट माइनस गरियो । यसरी राप्रपाको भोट ७४५२ बाट ५ हजार ४८७ मा झरेको हो । पछिल्लोपटक भनिएको संख्या सही भएको आयोगले बताएको छ र राप्रपाले पनि चित्त बुझाएको छ ।

राप्रपाकी उम्मेदवार मगैयाले प्राविधिक त्रुटिका कारण आफूहरूलाई अन्योल भएको प्रतिक्रिया दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर