‘मिस ग्लोबल’को त्यो सक्सेस पार्टी – Nepal Press

‘मिस ग्लोबल’को त्यो सक्सेस पार्टी

काठमाडौं । यौन उत्पीडनमा परेकी एक युवतीको दर्दनाक बयानले यति बेला सामाजिक सञ्जाल र समाजलाई हल्लाइदिएको छ । स्थानीय निर्वाचनलाई नै ओझेलमा पार्ने गरी सडकदेखि सांसदसम्म उनलाई न्यायको माग गर्दै आवाजहरू गुन्जिएका छन् ।

आठ वर्ष अगाडि सन् २०१४ मा आयोजना भएको मिस ग्लोबल इन्टरनेसनल प्रतियोगिताका आयोजक मनोज पाण्डेले आफूमाथि बलात्कार गरेको आरोप युवतीले लगाएकी छन् । ती युवतीको भनाइअनुसार सक्सेस पार्टीको बहानामा बोलाएर एभरेस्ट होटेलको एउटा कोठामा उनीमाथि बलात्कार गरिएको थियो । त्यसपछि आफूसँग शारीरिक सम्बन्धको फोटो\भिडियोहरू रहेको भनेर ब्ल्याकमेलिङ गर्दै पिडकले ६ महिनासम्म निरन्तर यौन शोषण गरेको युवतीको बयान छ ।

उनको कथा यति मात्र छैन । युवतीका अनुसार उनी जो–जो पुरुषसँग नजिक भइन्, उसैबाट यौन शोषणमा परिन् । २०१४ यता ४ जना ब्वाइफ्रेन्ड बनाएको र उनीहरू सबैले आफूसँग शारीरिक सम्बन्ध राखेर ‘एब्यूज’ गरेको उनले बताएकी छन् । निरन्तर यौन शोषणका कारण आफू डिप्रेसनमा परेको र आत्महत्या प्रयाससमेत गरेको उनको भनाइ छ । भिडियोमा निकै ‘एरोगेन्ट’ देखिएकी युवतीले आवेशमा प्रशस्त अमर्यादित शब्दहरू पनि प्रयोग गरेकी छन् ।

अब प्रवेश गरौँ मिस ग्लोबल इन्टरनेसनलमा । यो प्रतियोगिताको पाचौं संस्करण आर्मी अफिसर्स क्लबमा २०१४ को सेप्टेम्बर ३ मा आयोजना भएको थियो । त्यही नै अन्तिम संस्करण बन्यो । आयोजकमाथि नै यौन शोषणको गम्भीर आरोप लागेपछि अर्को वर्षदेखि प्रतियोगिता बन्द भयो ।

पाचौं तथा अन्तिम संस्करणमा निशा पाठक विजेता बनेकी थिइन् भने सुस्मिता रेग्मी फर्स्ट रनरअप र अर्चना पन्थी सेकेन्ड रनरअप भएका थिए । प्रतियोगिताको केही दिनपछि एभरेस्ट होटेलमा सक्सेस पार्टी आयोजना गरिएको थियो । उक्त पार्टीमा पूर्व मिसनेपाल माल्भिका सुब्बा उपस्थित थिइन्, जोमाथि युवतीले आफूलाई सहयोग नगरेको गुनासो पोखेकी छन् । पारस खड्का लगायतका केही क्रिकेटर पनि पार्टीमा थिए ।

हेर्नुहाेस् सक्सेस पार्टीका केही तस्बिरहरू :

सोही पार्टीको दिन आफूमाथि प्रतियोगिता आयोजक पाण्डेले बलात्कार गरेको आरोप पिडित युवतीले लगाएकी छन् । करिब ६ महिनासम्म ब्ल्याकमेलिङ गर्दै आफूमाथि पटक–पटक पाण्डेले बलात्कार गरेको युवतीले बताएकी छन् ।

त्यस रातको घटना युवतीले यसरी बयान गरेकी छन् :

‘विनर भइसकेपछि एक दिन पिडकले मलाई फोन गरेर भन्यो कि तिमी रेडी भएर आऊ, किनकि हामी सक्सेस पार्टी आयोजना गर्न गइरहेका छौँ । म रेडी भएर एभरेस्ट होटेलमा पुगेँ । तर, त्यहाँ कोही पनि देखिनँ । खोइ त सबै जना भन्दा उसले भन्यो– तिमी चाँडै आयौँ, ६–७ बजे पार्टी स्टार्ट हुन्छ । अहिले बस्दै गर ।

धेरै बेरपछि वेटरले आएर मलाई लेमनेड (कागतीको जुस) अफर गर्‍यो । लेमनेड विथ आइस । यो कुनै ड्रिंक पनि थिएन । उसले वेलकम ड्रिंक हो भन्यो र मैले पिएँ । त्यसको १०–१५ मिनेटपछि मलाई अलि झुम्म भयो । ‘मलाई अलिक कस्तो भयो, घर जान चाहन्छु’ भनेँ । तर उसले गाली गर्‍यो । तिमी विनर भएर पार्टीमा नबसेर हुन्छ ? अरूले के भन्छन् ? मिडियाले के भन्छन् ? भनेर प्रेसर गरेपछि मलाई पनि कुरा ठिकै लाग्यो । त्यसपछि उसले भन्यो– पार्टीमा केटीहरूले ड्रिंक गरेर बेहोस हुन सक्छन् भनेर एउटा रुम लिएर राखेको छु, तिमी त्यहीँ गएर रेस्ट गर्दै गर । सबै जना आएपछि उठाउन कसैलाई पठाउँछु भन्यो ।

म त्यो रुममा गएँ । त्यसपछि म सम्झिन्छु, मेरो घरीघरी मात्र होस खुलिरहेको थियो । उ मभित्र छ । मलाई त्यस्तो गरिरहेको छ । घरीघरी मात्रै होसमा आउँथे म । उ त्यस्तो गरिरहेको हुन्थ्यो । एकदमै पिडा भइरहेको थियो बेहोसीमा पनि । बिहान साढे चार–साढे ५ बजेतिर मेरो पूरा होस खुल्यो । त्यो व्यक्ति मेरो छेउमा नांगै सुतिरहेको देखेँ । म पनि नग्न छु । ओछ्यानमा रगत लतपतिएको छ । म चिच्याएँ, कराएँ । त्यो मान्छेले मलाई ब्यागमा २० हजार रुपैयाँ राखिदिएको छु, लैजाऊ भन्यो । म ऐना हेर्दै रोइरहेकी थिएँ । उसले नै ट्याक्सी बोलायो । म लुगा लगाएर ब्याग बोकेर हिँडेँ ।

युवतीको यो दर्दनाक बयानमा एउटा गम्भीर विरोधाभास भने भेटिन्छ । उनले प्रतियोगिताको सक्सेस पार्टीका दिन घटना भएको बताएकी छन् । यद्यपि, एभरेस्ट होटेलमा भएको सक्सेस पार्टीमा उनी सकुशल सहभागी भएकी थिइन् । मिस ग्लोबलले २०१४ को सक्सेस पार्टी भनेर फेसबुकमा राखेका तस्बिरहरू अहिले पनि यथावत् छन्, जसमा उनलाई पनि देख्न सकिन्छ । उनी पार्टीमा सामान्य अवस्था नै प्रस्तुत भएको त्यस बेलाका एक प्रत्यक्षदर्शीले बताए । सक्सेस पार्टी सकिएपछि घटना भएको उनको बयानबाट बुझिँदैन ।

प्रश्न उठ्छ सक्सेस पार्टी त्यस दिन नभएर बलात्कारको घटनाभन्दा अघि वा पछि भएको हो त ? यदि त्यसअघि नै पार्टी भइसकेको थियो भने सक्सेस पार्टी भनेर उनलाई बोलाइने थिएन । पछि भएको थियो भने उनी जाने थिइनन् । साथै, बलात्कारीले दिएको २० हजार रुपैयाँ उनले फिर्ता नगरी किन बोकेर हिँडिन् भन्ने पनि खुलेको छैन । यस्ता अप्रष्टतालाई उनले प्रहरीलाई प्रस्ट्याउलिन् नै ।

अफेयर र शोषणका श्रृंखला

एक महिना चलेको मिस ग्लोबल इन्टरनेसनल प्रतियोगिताका क्रममा युवती आयोजक संस्थाका पाण्डेसँग नजिकिएकी थिइन् । त्यस बेला उनीहरूबिच अफेयरको हल्ला पनि चलेको थियो । युवतीले पाण्डे विवाहित भएको कुरा केही पछि मात्रै थाहा पाएकी थिइन् । तर, युवती आफैँले बताएअनुसार उनी त्यस बेला खड्का थरका युवकसँग औपचारिक रिलेसनसीपमा थिइन् ।

आफूमाथि भएको यौन उत्पीडनबारे प्रेमीलाई बताएपछि उनले साथ दिएको युवतीको भनाइ छ । उनी आफ्नो प्रेमीलाई लिएर पाण्डेको कन्सल्टेन्सीमा पुगेकी थिइन् । त्यहाँ उनका प्रेमीले पाण्डेलाई कुटेका थिए । त्यसपछि पाण्डेले अब आइन्दा यो प्रतियोगिता नै आयोजना नगर्न सहमति जनाएका थिए ।

युवतीका अनुसार उनले सुरुमा कानूनी प्रक्रियामा जाने सोच बनाए पनि खड्का प्रेमीले नजान सल्लाह दिएका थिए । पछि खड्काले नै आफूमाथि शंका गरेपछि प्रेमी बदलेको उनले बताएकी छन् । त्यसपछि बनाएका तीन प्रेमीबाट पनि उनलाई राहत मिलेन । एक प्रेमीले त आफूलाई पब्लिक रेस्टुरेन्टमा नै अप्राकृतिक क्रियाकलाप गर्न लगाउने गरेको पीडा उनले उजागर गरेकी छन् ।

सचेतनाको आवश्यकता

बयानमा तलमाथि हुन सक्ला, तर आफूमाथि भएको यौन शोषण सार्वजनिक गर्ने हिम्मत गर्नु नै ठूलो कुरा हो । यस्तो विषयलाई बाहिर ल्याउनका निम्ति कुनै पनि केटी मान्छेले ठूलो साहस जुटाउनुपर्छ । समाज जति आधुनिक बने पनि एउटी बलात्कृत केटीलाई सम्मानित नजरले हेर्ने चेतनास्तर अझै विकास भइसकेको छैन ।

उमेरगत अपरिपक्वता र लोकलाजका कारण पीडित युवती समयमै कानूनी लडाइँमा जान सकिनन् । अहिले आएर उक्त घटनामाथि मुद्दा चल्ने आधार कमजोर बनेको छ, किनकि नाबालिग बलात्कारको हदम्याद एक वर्ष मात्र हुन्छ । यद्यपि कम्तीमा उनले आफूलाई हलुका बनाइन् र समाजलाई झकझक्याइन् ।

यो भिडियो श्रृंखला हेरिसकेपछि हरेक बाबुआमालाई चिन्तित र व्यग्र बनाउँछ । के बुबाआमाले आफ्ना छोरीहरूलाई एक्लै घरबाट बाहिर पठाउनै नसक्ने अवस्था आइसकेको हो त ? के समाज यति विद्रूप भइसक्यो ? प्रश्नहरू उब्जिन्छन् । एक नाबालिग गायिकामाथि चर्चित सेलिब्रिटीबाट भएको यौन शोषणको घटना सेलाएको छैन । उक्त घटनामा समाज पीडित र पिडकको पक्षमा विभाजित थियो । तर, अहिलेको घटनामा भने पीडित युवतीतिर सबैको सहानुभूति सोहोरिएको छ । बलात्कारको मुद्दामा हदम्याद राख्नु ठिक हो कि होइन भन्ने पनि बहस भइरहेका छन् ।

नेपालको संविधान र कानून महिलाको पक्षमा निकै कठोर छ । यौनजन्य अपराधका घटनाहरूमा कडाभन्दा कडा सजायको व्यवस्थाहरू गरिएका छन् । त्यसका बाबजुद पनि महिला हिंसाका घटनाहरूमा कमी आएको छैन । त्यसैले समस्या कानूनको भन्दा पनि चेतनाको हो । यदि यी पीडितलाई आफूमाथि भएको अपराध विरुद्ध बेलैमा कानूनी उपचारमा जानुपर्छ भन्ने चेतना र ज्ञान भएको भए पक्कै पनि ८ वर्षसम्म पिडा लुकाएर बस्ने थिइनन् । पिडक अहिले जेलमै हुन्थे । यो घटनाले बालिका र किशारीहरुलाई यौन अपराध सम्बन्धी कानूनी शिक्षाको टड्कारो आवश्यकता देखाएको छ । साथै, उमेर नपुगेसम्म सकभर प्रेम नपर्न र परेको खण्डमा पनि शारीरिक सम्बन्धबाट टाढा रहने सचेतना हरेक बाबुआमाले आफ्ना सन्तानलाई दिनु आवश्यक देखिएको छ ।


प्रतिक्रिया

2 thoughts on “‘मिस ग्लोबल’को त्यो सक्सेस पार्टी

  1. Video ramro saga hera sucess party ko din hoina …. Sucess party ko lagi bhanera uslaie eklaie aru kunai din bolako ho… Tespaxi 6 month blackmail gareko… 6 month samma kasailaie nabhaneko hunaley actual sucess party huda pani victim gayeko and normal behave hareko bujinxaa…. Ali ramo journalism garnus

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर