कांग्रेसद्वारा निष्कासित रुम्दालीले कांग्रेसकै समर्थनमा कसरी जिते गाउँपालिका अध्यक्ष ? – Nepal Press

कांग्रेसद्वारा निष्कासित रुम्दालीले कांग्रेसकै समर्थनमा कसरी जिते गाउँपालिका अध्यक्ष ?

काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली अध्यक्ष निर्वाचित भएका छन् । रुम्दालीलाई नेपाली कांग्रेसले साधारण सदस्यबाट समेत निष्काशन गरेको थियो । तर, स्थानीय तह निर्वाचनमा कारबाही गरेकै कांग्रेसको समर्थनमा रुमदाली गाउँपालिका अध्यक्ष निर्वाचित भएका छन् ।

कांग्रेसले गाउँपालिकामा उपाध्यक्षको मात्रै उम्मेदवारी दिएको थियो । जसले गर्दा रुम्दालीको जित सुनिश्चित भएको थियो । कांग्रेस नेता रामहरि खतिवडाको समर्थन पाएका उनले धेरै मतान्तरमा एमालेका रुपलाल तामाङलाई पछि पार्दै अध्यक्षमा विजयी भएका हुन् ।

रुम्दाली किन भए स्वतन्त्र उम्मेदवार ?

जिल्लामा कांग्रेसको संगठनभित्र सफा अभियान सुरु गरेका रुम्दाली तरुण दल ओखलढुंगाका अध्यक्षसमेत थिए । २०७४ भएको स्थानीय तह निर्वाचनमा उम्मेदवारी घोषणा गरेका उनले पार्टीबाट टिकट पाएनन् । त्यसबेला उनलाई प्रदेशसभाको उम्मेदवार बनाउने आश्वासन दिएर कांग्रेसले क्षेत्रीय सभापति मोतीराज राईलाई गाउँपालिका अध्यक्षको टिकट दियो । राई गाउँपालिका अध्यक्ष निर्वाचित पनि भए ।

रुम्दालीलाई कांग्रेस केन्द्रले समेत प्रदेशसभाको टिकट दिने आश्वासन दिएको थियो । तर, प्रदेशसभा निर्वाचनमा पनि टिकटबाट बञ्चित भए ।
आफूले टिकट नपाएपछि प्रदेशसभा निर्वाचनताका रुम्दालीले पार्टी केन्द्रको निर्णयविरुद्ध विद्रोह गरे । उनलाई रामजी बास्तोला, कमल तामाङ, ठाकुर गौतमलगायतका ओखलढुंगे कांग्रेसी नेताहरुले साथ दिए । उनीहरुले कांग्रेसमा सफाइ अभियान सुरु गरे ।

अभियानअन्तर्गत उनीहरुले रुम्दालीलाई प्रदेशसभा (ख) को उम्मेदवार बनाए र प्रचारमा खटिए । निर्वाचनमा ओखलढुंगाका दर्जनौं कांग्रेसी नेताहरु रुम्दालीको प्रचारमा सक्रिय भए । निर्वाचन क्षेत्र १ ‘ख’ मा कांग्रेसले ‘क’ क्षेत्रका नेतालाई टिकट दिएपछि विद्रोह गरेका प्रभावशाली नेताहरु रुम्दालीको प्रचारमा सक्रिय भएर लागे ।

ओखलढुंगाको ‘ख’ क्षेत्रमा दर्जनौं नेता भए पनि क्षेत्र ‘क’ का जिल्ला सभापति प्रदीपकुमार सुनुवारलाई कांग्रेसले ख मा उम्मेदवार बनाएको थियो । उक्त उम्मेदवारीसँगै पार्टी जिम्मेवारीबाट हटेको घोषणा गर्दै नेताहरुले रुम्दालीको प्रचारलाई आक्रामक बनाए । त्यसले जिल्लामा कांग्रेस दोस्रो बन्यो ।

पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध ‘सफाइ अभियान’ भन्दै विद्रोह गरेका रुम्दालीसहितका नेताहरुलाई कांग्रेसले १० वर्षको लागि साधारण सदस्यसमेत नरहने गरी निष्काशन ग¥यो । कांग्रेसले रुम्दाली, उनका प्रस्तावक समर्थकसहित १७ जना नेताहरुलाई कारबाही गरेको थियो । यसबीच अरु नेताहरुको कारबाही फुकुवा भए पनि रुम्दालीलाई क्लिन चिट दिएको छैन । उनीसँगै कारबाही गरिएका कमल तामाङ क्लिन चिट पाएर यसैवर्षको स्थानीय तह निर्वाचनमा जिल्लाको सुनकोसी गाउँपालिकामा उम्मेदवार बनाइएका छन् ।

तरूण दल जिल्ला अध्यक्ष रहेका रुम्दालीले कांग्रेस जिल्ला सभापति प्रदीप सुनुवारविरुद्ध बागी उम्मेदवारी दिएका थिए । रुम्दालीको उम्मेदवारीले सुनुवार जीतबाट बञ्चित भए । यही कारण रुम्दाली हाल कांग्रेसको साधारण सदस्यसमेत छैनन् । यसबीच उनी अन्य राजनीतिक दलमा समेत आवद्ध भएका छैनन् ।

यसबीच गाउँपालिकामा रुम्दालीलाई अध्यक्ष उम्मेदवार नबनाए कांग्रेसले हार्ने स्थिति आएपछि उनलाई समर्थन गर्न कांग्रेस बाध्य भएको ओखलढुंगा कांग्रेसका नेताहरु बताउँछन् । जसको फाइदा उठाउँदै रुम्दाली गाउँपालिका अध्यक्षमा बाजी मारेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर