पेट्रोलियममा कसरी बढ्यो एकैपटक १० रुपैयाँ ! मन्त्री भन्छन, ‘हामीले थेग्न सकेनौं’ – Nepal Press

पेट्रोलियममा कसरी बढ्यो एकैपटक १० रुपैयाँ ! मन्त्री भन्छन, ‘हामीले थेग्न सकेनौं’

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य २ रुपैयाँ बढ्दासमेत विभिन्न विद्यार्थी संगठनले विरोध गरिहाल्छन् । तर, अहिले एकैबाजी १० रुपैयाँ बढ्दा पनि विद्यार्थी संगठनहरु थाहै नपाए जसरी बसिरहेका छन् ।

सरकारले स्थानीय तह निर्वाचनलगत्तै पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि गर्यो । सबैको ध्यान स्थानीय तह निर्वाचनको मत परिणामतिर रहेको बेला सरकारले अस्वाभाविक मूल्यवृद्धि गरेको छ ।

केही नेताहरुले स्थानीय निर्वाचनअघि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरे निर्वाचनमा सत्ता गठबन्धनलाई असर पर्ने भन्दै मूल्य नबढाउन अनुरोध गरेका थिए । सरकारले पनि ती नेताहरुले भने जस्तै निर्वाचन सम्पन्न हुनासाथ पेट्रोल र डिजेलको प्रतिलिटर १० रुपैयाँ मूल्यवृद्धि गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएकाले नेपालमा निरन्तर पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्न बाध्य भएको बताए ।

उनले भने, ‘सरकार अहिले मूल्यवृद्धि नगरी पेट्रोलियम पदार्थ बिक्री गर्न सक्ने अवस्थामा थिएन । त्यसैले एकैपटक १० रुपैयाँ मूल्यवृद्धि गरिएको हो । अब नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै पेट्रोलियम पदार्थको खपत कम गर्ने योजना पनि अघि बढ्ने छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि नगर्ने हो भने हामी पेट्रोलियम पदार्थ किन्नसमेत नसक्ने अवस्थामा थियौं । अब घाटा केही कम भएको छ । विस्तारै घाटा कम गर्नेछौं ।’

स्थानीय निर्वाचन अगाडि मूल्यवृद्धि नगरी निर्वाचन सकिएपछि एकैपटक १० रुपैयाँ मूल्यवृद्धि गर्नु भयो ? अझै एकै पटक घाटा सबै सकिने गरी मूल्यवृद्धि गरेको भए सरकारलाई राम्रो हुन्थ्यो होला नि ? भन्ने नेपालप्रेसको प्रश्नमा मन्त्री बडूले विस्तारै घाटा कम गर्न मूल्यवृद्धि गर्दै जाने बताए । उनले एकै पटक मूल्यवृद्धि हुँदा सर्वसाधारणलाई समस्या पर्ने र विरोध पनि हुने कारणले १० रुपैयाँमात्रै मूल्यवृद्धि गरेको जानकारी दिए ।

मन्त्री बडूका अनुसार अहिले पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ र डिजेलमा ३१ रुपैयाँ घाटा छ । पेट्रोलियम पदार्थमा रहेको घाटा अन्त हुने गरेर मूल्यवृद्धि हुँदै जाने उनले बताए ।

नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक सुरेन्द्र पौडेलले अब नेपाल आयलको स्वायत्तता बाँकी नरहेको बताए । उनले भने, ‘अहिलेसम्म एकैपटक १० रुपैयाँ पेट्रोल र डिजेलको मूल्यवृद्धि भएको थिएन । तर, अहिले एकैपटक १० रुपैयाँ मूल्यवृद्धि भएको छ । यसले नेपालको अर्थतन्त्रमा नै ठूलो असर गर्नेछ । सामान्य मूल्यवृद्धि हुँदा पनि केही असर पर्ने गरेको थियो । तर अहिले एकैपटक १० रुपैयाँ मूल्यवृद्धि भएको छ ।’

अहिले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्यवृद्धि गर्नुपर्ने समय थियो । तर सरकारले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको पौडेलले बताए । खाना पकाउने ग्यासको मूल्यवृद्धि गर्दा विद्युतको प्रयोग वृद्धि भई व्यापार घाटासमेत कम हुने उनले बताए ।

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले यसभन्दा पहिले ६/७ रुपैयाँसम्म मूल्यवृद्धि भएकोसम्म जानकारी भएको बताए । तर १० रुपैयाँ प्रतिलिटर मूल्य वृद्धि भएको जानकारी नभएको उनको भनाइ छ ।

आइतबारदेखि डिजेल र पेट्रोलको मूल्य एकैपटक प्रतिलिटर १० रुपैयाँले बढेको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरात १२ बजेदेखि लागू हुने गरी मूल्यवृद्धि गरेको हो ।

पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत रहेको छ । मूल्यवृद्धि गर्दा पनि ४ अर्ब २५ करोड १५ दिनमा घाटा हुने अनुमान निगमले गरेको छ ।

पेट्रोल र डिजेलको मूल्य १० रुपैयाँ मूल्यवृद्धि गर्दा पनि पेट्रोलमा प्रतिलिटर १४.३६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३१.४४ रुपैयाँ घाटा रहेको निगमले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर